पश्चिम नेपालमा भूकम्प : भौतिक संरचनामा क्षति, जयपृथ्वी राजमार्ग अवरुद्द, एक जना घाइते

पश्चिम नेपालमा भूकम्प : भौतिक संरचनामा  क्षति, जयपृथ्वी राजमार्ग अवरुद्द, एक जना घाइते

बझाङ : सुदूरपश्चिममा आज (मंगलबार) दिउँसो दुई पटक आएको भूकम्पले बझाङमा पुराना भौतिक संरचनामा व्यापक क्षति पुर्याएकाे छ। 

जिल्लाको तलकोट र चैनपुर आसपास क्षेत्र केन्द्रबिन्दु आधा घण्टाको अन्तरमा गएका दुई ठुला कम्पनले पुराना स्कुल, घर, वडा कार्यालय लगायतका कार्यालयमा क्षति पुर्याएकाे हो। 

अहिलेसम्म भूकम्पबाट दुर्गाथली गाउँपालिका, तल्कोट गाउँपालिका, जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाउँपालिकाका विभिन्न पुराना सरकारी कार्यालय, विद्यालयहरु र घरहरु भत्किएको स्थानियले बताएका छन्। 

यस्तै, जयपृथ्वी राजमार्गको विभिन्न ठाउँमा पहिरो गएर बाटोसमेत अवरुद्द भएको बताइएको छ।  अहिलेसम्म आंशिक क्षति भएपनि मानवीय क्षतिको विवरण नआएको प्रहरीले जनाएको छ। 

उता अछाममा भूकम्प आउँदा भवनबाट हामफालेर एक विद्यार्थी घाइते भएका छन्।  बान्नीगडी जयगढ गाउँपालिका–६ दर्नामा बिन्देवासिनी माध्यमिक विद्यालयको भवनबाट हाम फाल्दा विद्यार्थी सन्तोष साउँद घाइते भएका अछाम प्रहरीले जनाएको छ। 

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ रेक्टरको भूकम्प बझाङको चैनपुर आसपास केन्द्रविन्दु बनाएर गएको हो।

त्यसको केही बेरअघि दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तल्कोट केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्लामा महसुस गरिएको छ। 

भूकम्पले गरेको क्षतिबारे जानकारी लिने काम भइरहेको प्रहरीले जनाएको छ। 

१६ असोज, २०८०, १६:२८:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।