गोविन्द लिम्बुको छुरा प्रहार गरी हत्या गरेको अभियोगमा १२ जना पक्राउ

गोविन्द लिम्बुको छुरा प्रहार गरी हत्या गरेको अभियोगमा १२ जना पक्राउ

झापा : दमक नगरपालिका–१ कुमाल चोकस्थित रूवेल माछा फ्राई एण्ड रोष्ट हाउसमा ईलाम चुलाचुली गाउँपालिका–३ बस्ने ३८ वर्षीय गोविन्द लिम्बुको छुरा प्रहारबाट हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा उक्त रोष्ट हाउसका सञ्चालक विशाल कुमाल, दमक नगरपालिका–७ सयपत्री टोल बस्ने २२ वर्षीय सनम राई, सोही नगरपालिका–१ नवदुर्गा टोल बस्ने २२ वर्षीय आनन्द भन्ने राज कुमार भुजेल, सोही नगरपालिका–१ पाङमी चोक बस्ने २५ वर्षीय नामुद थेव, सोही नगरपालिका–१ फाल्गुनन्द चोक बस्ने २६ वर्षीय आकाश केरुङ, सोही नगरपालिका–७ पशुहाट टोल बस्ने २३ वर्षीय राहुल श्रेष्ठ, मोरङ कानेपोखरी गाउँपालिका–७ बस्ने २८ वर्षीय सलमान लिम्बु, ईलाम चुलाचुली गाउँपालिका–४ बस्ने ३१ वर्षीय सन्दिप राई, सोही गाउँपालिका–३ बस्ने ३८ वर्षीय सूर्य केरुङ, ३८ वर्षीय उपेन्द्र राई, झापा दमक नगरपालिका–७ राधाकृष्ण टोल बस्ने १८ वर्षीय किशोर र मोरङ बिराटनगर महानगरपालिका–६ अमाननगर बस्ने २९ वर्षीय मफुद मिया रहेका छन्।

प्रहरीका अनुसार उक्त रोष्ट हाउसमा असोज १२ गते बिहान सनम राईसमेत १० जना मादक पदार्थ सेवन गरी विवाद हुँदा सनम राईले लुकाई राखेको छुराले गोविन्दलाई प्रहार गरी हत्या गरी फरार भएका थिए।

घटनामा संलग्न व्यक्तिहरूको खोजी गर्ने क्रममा तत्काल खटिएको प्रहरीले सोही दिन ८ जनालाई, थप अनुसन्धानको क्रममा मोरङ उर्लाबारी नगरपालिका–१ टप्पु टोल उर्लाबारी–मधुमल्ला सडकमा प्र १–०१–०१२ प २९५३ नम्बरको मोटरसाइकल रोकी राखेको अवस्थामा ३ जनालाई र घटनामा प्रयोग भएको छुरा व्यवस्थापन गर्न सहयोग पुर्या१उने मियालाई समेत पक्राउ गरेको हो।

उक्त हतियार सोही महानगरपालिका–९ स्थित रोड शिक्षादिप कलेजको पार्किङ छेउमा रहेको झाडीबाट बरामद भएको छ। यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

असोज १६, २०८० मंगलबार १४:५४:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।