बेनीको शिवशिखर सहकारीले बचतकर्ताको ४ करोड ६१ लाख फिर्ता नगरेको खुलासा

बेनीको शिवशिखर सहकारीले बचतकर्ताको ४ करोड ६१ लाख फिर्ता नगरेको खुलासा

म्याग्दी : बेनीमा रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले करिब तीन सय सेयर सदस्यले बचत गरेको रु चार करोड ६१ लाख रकम फिर्ता नगरेको पाइएको छ। 

ती सेयर सदस्यले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा आफूले बचत गरेको रकम पाउनका लागि उजुरी दिएपछि सो खुलासा भएको हो। बेनी नगरपालिका–८ न्यूरोडमा स्थापना भएको सो सहकारी सात महिनादेखि बन्द छ।

सहकारी ऐनसम्बन्धी कसुरमा पीडितहरूबाट उजुरी सङ्कलन गरेर अनुसन्धान गरी सरकारी वकिल कार्यालयमार्फत शिवशिखर सहकारीविरुद्ध जिल्ला अदालत म्याग्दीमा मुद्दा दर्ता भइसकेको छ।

भक्तपुरको मध्यपुुरथिमि नगरपालिका–३ कौशलटारमा केन्द्रीय कार्यालय रहेको शिवशिखर सहकारीले बेनीका बचतकर्ताले बचत गरेको साँवा र ब्याज फिर्ता नगरेको गुनासो गरेका छन्।

सुरुआतमा बचतकर्तालाई आकर्षक ब्याजदरको लोभमा करोडौं बचत सङ्कलन गरेको सहकारीले ६ महिनाअघि आर्थिक सङ्कटमा रहेको सूचना प्रकाशित गरेर कारोबार बन्द गरेको थियो।

सो सहकारीको बेनी शाखामा एक हजार चार सय ८४ जनाको रु ६ करोड १० लाख बचत रहेकामा दुई सय ८२ जनाले मात्र उजुरी गरेका हुन्।

असोज १६, २०८० मंगलबार १३:३३:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।