मलद्वारभित्र फ्रिजिङ गरी ल्याएको लागुऔषधसहित पाँचजना पक्राउ

मलद्वारभित्र फ्रिजिङ गरी ल्याएको लागुऔषधसहित पाँचजना पक्राउ
सांकेतिक तस्बिर ।

काठमाडौं : उदयपुरमा मलद्वारमा लु्काएर ल्याएको लागुऔषधसहित प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ। 

लागुऔषध जिल्ला भित्र्याउने क्रममा चौदण्डीगढी नगरपालिका-६ बेल्टार बजारमा शरीरमा फ्रिजिङ गरी लागुऔषध भित्र्याउँदै गर्दा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले चेकिङ गर्नेक्रममा चौदण्डीगढी नगरपालिका -६ का ३० वर्षीय बिनोद राईको साथबाट फेनारगन ५ एम्पुल, लेबल नभएको ५ एम्पुल बरामद भएको हो।

त्यस्तै सोही ठाउँका ३२ वर्षीय बिदुर राईको साथबाट फेनारागन १ एम्पुल, ३० वर्षीय विशाल राईको साथबाट लुपिजेसिक १ एम्पुल, डाईजोपाम ५ एम्पुल, फेनारागन ६ एम्पुल बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले बताए।

प्रहरीले सोही ठाउँका ३२ वर्षीय मनोज राईको साथबाट फेनारागन २ एम्पुल, लुपिजेसिक ३ एम्पुल, लेबल नभएको ४ एम्पुल बरामद गरेको छ । ३२ वर्षीय प्रवेश चौहानको साथबाट लुपिजेसिक २ एम्पुल, फेनारागन १ एम्पुल, डाईजोपाम १ एम्पुल गरी जम्मा फेनारागन १४ एम्पुल, लुपिजेसिक ६ एम्पुल, डाईजेपाम ६, लेबल नभएको ९ एम्पुल बरामद भएको उनले बताए। 

प्रहरीका अनुसार नियमित चेकजाँचको क्रममा ति युवाहरुको गतिविधि शंकास्पद देखिएपछि नियन्त्रणमा लिई स्थानीय बेल्टारस्थित चौदण्डीगढी हस्पिटल प्रालीमा भीडीयो एक्सरे गरिएको थियो। भीडीयो एक्सरेमा मलद्वारभित्र फ्रिजिङ गरी राखिएको लागुऔषध देखिएपछि डाक्टरकै सहयोगमा बाहिर निकालिएको प्रहरी प्रमुख एसपी रमेश थापाले बताए। 

संलग्न सबैलाई कानुनी कारवाहीका लागि प्रक्रिया अगाडि बढाउन उदयपुर जिल्ला अदालतबाट १० दिनको म्याद थप गरिएको एसपी थापाले जानकारी दिए। 

असोज १६, २०८० मंगलबार १२:१५:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।