नेपाललाई भारतको २०३ रनको लक्ष्य, अन्तिम ओभरको २५ रनले दबाब

नेपाललाई भारतको २०३ रनको लक्ष्य, अन्तिम ओभरको २५ रनले दबाब

काठमाडौं : चीनमा जारी एसियाली खेलकुदको क्रिकेटको क्वाटरफाइनल खेलमा भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०२ रन बनायो। जसका लागि ओपनर यशस्वी जैसवालले शतक प्रहार गरे। 

उनले ४८ बलमा ८ चौका र ७ छक्काको सहयोगमा १०० रन पुरा गरेका हुन्। तर शतक लगत्तै जैसवाललाई दीपेन्द्रले कप्तान रोहितमार्फत क्याच आउट गराए।

दीपेन्द्रले नै नेपाललाई पहिलो सफलता दिलाएका थिए। भारतका कप्तान ऋतुराज गाइक्वाडलाई २५ रनमा कप्तान रोहितमार्फत क्याच आउट गराएका थिए। दीपेन्द्रले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए।

त्यसैगरी सोमपाल कामीले तिलक बर्मालाई मात्र २ रनमा पेभोलिएनको बाटो देखाउँदा सन्दीप लामिछानेले जितेश बर्मालाई ५ रनमा आउट गरेका थिए।

१८ ओभरसम्म १६३ रन रहेको भारतले अन्तिम दुई ओभरमा ३९ रन जोड्यो। जसमा अन्तिम ओभरको २५ रनले स्कोर २०० रन कट्यो। जसका लागि रिन्कु सिंहले मात्र १५ बलमा २ चौका र ४ छक्काको सहयोगमा ३७ रन जोडे।

नेपालले भारतसँग टी-२० आई खेल खेल्न लागेको यो पहिलो पटक हो। गत महिना मात्र एसिया कपमा नेपालले भारतसँग पहिलो पटक एकदिवसीय खेल खेलेको थियो।

नेपालले समूह चरणमा मंगोलियालाई २ सय ७३ र माल्दिभ्सलाई १ सय ३८ रनले हराउँदै क्वाटरफाइनलमा स्थान पकका गरेको थियो।

टेस्ट टिम भएकाले भारतले भने जारी प्रतियोगितामा सिधैं क्वाटरफाइनलमा ठाउँ पाएको हो।

असोज १६, २०८० मंगलबार ०८:२९:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।