भैरहवा विमानस्थल जग्गा प्रकरण : मालपोत प्रमुखसँग लिखित जवाफ माग, मुआब्जा दिन रोक

भैरहवा विमानस्थल जग्गा प्रकरण : मालपोत प्रमुखसँग लिखित जवाफ माग, मुआब्जा दिन रोक

बुटवल : रुपन्देहीको भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भित्रको जग्गा व्यक्तिको नाममा दर्ता भएको तथ्य बाहिरिएसँगै जग्गा दर्ता गर्ने व्यक्तिले मुआब्जा नपाउने भएका छन्।

भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा विमानस्थलको धावनमार्ग र पर्खाल भित्रको जग्गा सिद्धार्थनगर नगरपालिका–५ का पर्वतराज कान्त मिश्रको नाममा दर्ता भएको तथ्य गत साता मात्र बाहिरिएको थियो।

भारतको गोरखपुरमा बस्दै आएका मिश्रलाई प्रयोग गरेर भूमाफियाहरूले हदबन्दी भन्दै सिद्धार्थनगर–१० स्थित काली मन्दिर भएको जग्गा मिश्रको नाममा दर्ता गराएका थिए। त्यसपछि जिल्ला प्रशासन कार्यालय, विमानस्थलको कार्यालय सबैले यस बारे चासो राखेका थिए।

मिश्रलाई भूमाफियाहरूले प्रयोग गरेर हदबन्दी भन्दै विमानस्थल भित्रको जग्गा व्यक्तिका नाममा दर्ता गराए पनि सोमबार बसेको विमानस्थलको मुआब्जा निर्धारण समितिले मुआब्जा बापतको रकम नदिने निर्णय गरेको छ। 

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवेसहित विभिन्न स्थानमा रहेको ४ बिघा १६ कठा ७ धुर जग्गा व्यक्तिको नाममा दर्ता भए पनि समितिको बैठकले मुआब्जा नदिने निर्णय गरेको बताए।

साथै समितिको बैठकले मालपोत कार्यालयका प्रमुख आचार्यसँग लिखित जवाफ समेत माग गरेको छ। विमानस्थलको जग्गा व्यक्तिको नाममा लालपूर्जा बनाउनुपर्ने १० आधारको लिखित जवाफ माग गरेको उनले बताए।

‘बैठक बसेपछि विमानस्थल आयोजनाको लागि जग्गा प्राप्ति ऐनको दफा १३ बमोजिम गठित समितिको बैठकले तत्काल मुआब्जाको सबै निर्णय रोकेर छानबिन गर्ने निर्णय गरेको छ। छानबिनपछि यसबारे थप प्रमाण र पुष्टि हुँदै जानेछ,’ प्रमुख जिल्ला अधिकारी अर्यालले भने।

त्यस्तै बैठकले विमानस्थलको जग्गा सम्बन्धी सबै निर्णय र प्रक्रियाका फाइलहरू समेत अध्ययन गर्ने निर्णय गरेको छ। बैठकमा मालपोत कार्यालयमा अधिकृत ऋषिराम पौडेल, सिनपाका प्रमुख कार्यकारी अधिकृत नवराज पौडेल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख इन्जिनियर प्रवेश अधिकारी सहभागी थिए।

यसरी बनाइएको थियो व्यक्तिका नाममा जग्गा

पुराना तथ्य र प्रमाणले पनि उक्त जमिन व्यक्तिको भए पनि हदबन्दीका कारण काली मन्दिरलाई दिइएको विभिन्न अभिलेखबाट देखिन्छ। 

सिद्धार्थनगर–१० निवासी निसन्तान सुर्जा मिश्राइनको २०२२ सालमा ३० बिघा १४ कठ्ठा १४ धुर जमिन थियो। २०२१ सालमा भूमिसुधार ऐन लागू भएपछि तत्कालीन समयमा ७ नम्बर फाटवारीमा सुर्जा मिश्राईनले ३० बिघा १४ कठ्ठा १४ धुर जग्गाको फाटवारी भरेको देखिन्छ।

यही फाटवारीको अन्तिम महलमा हदबन्दीभन्दा बढी जग्गा भए राख्ने वा छाड्ने भन्नेमा करिब ४ बिघा जग्गा कालिजी (भगवान) लाई दान गरेको हुँदा छाड्ने उल्लेख छ।

३० बिघामध्ये १३ बिघा १३ कठ्ठा ८ धुर मोहीमा परेको छ। त्यसमध्ये १० बिघा ६ कठ्ठा १९ धुर पर्वतराज कान्त मिश्राको नाममा गएको देखिन्छ। त्यसमध्ये ६ बिघा १ कठ्ठा ६ धुर जग्गा फिल्डबुकमा खाली रहेको छ।

फिल्डबुकमा कसैको पनि नाम उल्लेख नभएको उक्त जग्गामध्ये ४ बिघा १७ कठ्ठा ६ धुर जग्गालाई मालपोत कार्यालयका प्रमुख कुमार आचार्य र नायब सुब्बा अजित साहनीले २०८० वैशाख ८ गते पर्वतराज कान्त मिश्राको नाममा दर्ता गराएका हुन्।

२०२५ माघ १८ गते मिश्राइनको मृत्यु भयो। त्यसपछि जग्गा कसले अपुताली खाने भनि विवाद भयो। २०६४ सालमा उच्च अदालतले नजिकका नाता पर्ने रमाकान्त मिश्रको नाममा जमिन दर्ता गर्ने निर्णय गर्यो।

तर, त्यसबेला साविक भुजौली नक्सा सिट नम्बर ९ (ख) का कित्ता नम्बर ७, २९, ३२, ६७, ६८, ९२, ९४ को जमिन काली मन्दिरलाई छाड्ने निर्णय गरेको देखिन्छ। मालपोतले निर्णय गरे पनि जमिन नाममा नजाँदै रमाकान्तको २०६४ मंसिर २२ मा मृत्यु भयो। 

उनको मृत्युपछि नजिकको हक खाने नाति पर्वतराज कान्त मिश्रको नाममा भुजौली ९ (क) र (ख) का गरी २४ वटा कित्ताका हदबन्दीभित्र पर्ने १० बिघा ६ कठ्ठा १९ धुर जमिन नाममा दर्ता भयो। मिश्राइनका ३० बिघा १४ कठ्ठा १४ धुर जमिन मध्ये १३ बिघा १३ कठ्ठा ८ धुर जमिनमा मोही कायम भएको र काली मन्दिरलाई ६ बिघा जमिन दिएपछि बाँकी रहेको जमिन मिश्रको नाममा दर्ता गरिएको थियो।

आफ्नो नाममा आएको जमिन मिश्रले विभिन्न मितिमा बिक्री गर्दै गएको देखिन्छ। बिक्री गरेर बाँकी रहेको १ बिघा १ कठ्ठा जमिन पनि विमानस्थल बन्दा अधिग्रहणमा परेपछि उनले मुआब्जा लिएका थिए। 

अचम्म के छ भने हदबन्दी भन्दै तत्कालीन समयमा जग्गा धनीले नै मन्दिरलाई दिएको जमिन अहिले व्यक्तिको नाममा गराउँदा साटफेर गरेर दर्ता गरिएको छ।

भुजौली नक्सा सिट ९ (ख) को २९ नम्बर कित्ताको जमिन मिश्रको नाममा गराउँदा मालपोतले भुजौली नक्सा सिट ९(क) भनेर दर्ता गरिदिएको छ। यसले पनि मिलोमतोको पुष्टि गर्ने दावी आयोजनाको छ। जबकी नक्सा सिट ९(क) को जमिन २०७५ सालमै अधिग्रहणपछि नेपाल नागरिक उड्डयन प्राधिकरणको नाममा दर्ता भइसकेको छ। 

भूमाफिया र मालपोत कर्मचारीको मिलेमतोमा मिश्रको नाममा दर्ता गरिएको जमिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग र पर्खालभित्र पर्छ। अहिले पनि जीर्ण अवस्थामा विमानस्थल भित्र काली मन्दिरको संरचना छ। त्यो जग्गा नभत्काइ यत्तिकै छाडिएको छ।

अहिले आएर हदबन्दी भनेर मन्दिरलाई छाडेको जमिन मिलोमतोमा मिश्रको नाममा गरेर मुआब्जा बापतको करोडौं रुपैयाँ हत्याउन भूमाफियाले मिश्रलाई प्रयोग गरेका हुन्।

यदि दावी गरिएको जग्गाबाट मिश्रले मुआब्जा पाए करिब ९ करोड रुपैयाँ पाउँछन्। यही ९ करोड हत्याउन मालपोतदेखि भूमाफियासम्म सक्रिए भएको देखिन्छ।

हदबन्दीमा परेको यो जग्गा फिल्डबुकमा भए पनि कसैको नाममा दर्ता थिएन। तर भूमाफियाको योजनामा मिश्र परिवार अदालतमा गएपछि उच्च अदालतको आदेशमा मालपोत कार्यालयले मिश्रका नाममा जग्गा दर्ता गरिदिएको हो।

त्यसपछि मिश्र परिवार मुआब्जाको दावी गर्दै विमानस्थल आयोजनाको कार्यालयमा पुगेका थिए। उनीहरूले मुआब्जाको निवेदन दिएसँगै यो घटना बाहिर आएको हो। 

फिल्डबुकमा कसैको नाममा दर्ता नभएको र ५८ वर्षअघि हदबन्दीमा परेको जग्गामा अहिले व्यक्तिको नाममा दर्ता भएको हो।

रुपन्देहीका मालपोत अधिकृत कुमार आचार्यले जिल्ला अदालतले २०७८ मै मिलापत्र गरेर जग्गा दर्ता गर्न भने पनि आफूहरूले नगरेको र पछि उच्च निर्णय कार्यान्वयन गर्न भनी फैसला गरेपछि आफूहरूले दर्ता गरिदिएको बताए।

असोज १६, २०८० मंगलबार ०७:३०:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।