उकेरा टप फाइभ : सल्लाघारीको बेवारिसे जग्गाको अवस्थादेखि पाँच दशकदेखि मासु काटिरहेका सुखरत्नको कहानीसम्म

उकेरा टप फाइभ : सल्लाघारीको बेवारिसे जग्गाको अवस्थादेखि पाँच दशकदेखि मासु काटिरहेका सुखरत्नको कहानीसम्म

काठमाडौं : सोमबार एमालेको गण्डकी प्रदेश अधिवेशन उद्घाटन भयो। यद्यपि उद्घाटनमा ओली भने सहभागी भएनन्। कर्णाली प्रदेश अधिवेशनको मतपरिणाम आएको छैन भने उता कोशीको अवस्था पनि उस्तै छ। अध्यक्ष केपी शर्माको सहमतिको अडानका कारण प्रदेशमा निर्वाचन पनि समयमा हुन पाएको छैन। यद्यपि 

सोमबार नै राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा उद्योग मन्त्रालयका सचिव मधु कुमार मरासिनीसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भयो। अस्वाभाविक लागत तयार गरी स्वीकृत गराएर २५ करोड रुपैयाँमा खरिद गरी सरकारी रकमको दुरुपयोग गरेको पुष्टि भएपछि सोमबार विशेष अदालतमा मुद्दा दायर गरियो।

सोमबार नै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको टोली राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न राष्ट्रपति निवास शिलत निवास पुगे। उनीहरूले संविधान दिवसका अवसरमा खुँडा हानेर मान्छे मार्नेलाई बाँकी कैद मिनाहा गरिएको विषयको ध्यानाकर्षण गराए। जवाफमा राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्बाट पास गरी ल्याएको विषयलाई राष्ट्रपतिले इन्कार गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको स्मरण गराए।

अब लागौं उकेरा टप फाइभतर्फः
उकेराले सोमबार बिहान बुटवल–भैरहवा औद्योगिक करिडोरका उद्योगीहरूलाई नेपाल विद्युत प्राधिकरणले ट्रंक लाइन बिलिङ बापतको रकम तिर्न ताकेता गरेपछि उद्योगीहरू पुनः त्रसित बनेको समाचार लेख्यो। विद्युत प्राधिकरणले औद्योगिक करिडोरमा रहेका उद्योगहरूलाई असोज मसान्त भित्रै ट्रंक लाइनको विद्युत बक्यौता रकम तिर्न भन्दै सूचना जारी गरेपछि उद्योगीहरूले त्रसित र निराश बनेको बताएका छन्।
पूरा समाचारः रुपन्देहीमा विद्युत प्राधिकरणको ट्रंक लाइन बक्यौता विवाद पुनः ब्यूँतियो, उद्योगीहरू त्रसित

बिहान उकेराले भक्तपुरको सल्लाघारीमा अरनिको राजमार्गसँगै २०४६ सालदेखि खाली रहेको करिब सय रोपनी जग्गाको विषयमा समाचार लेख्यो। नेपाल ट्रस्टको नाममा भएको जग्गा ट्रस्ट स्वयंले पनि उक्त जग्गा आफ्नो स्वामित्वमा आउनुपर्ने माग गरिरहेको छ।
पूरा समाचारः सधैँ बेवारिसे भक्तपुर सल्लाघारीको १०८ रोपनी जग्गाः लिन सब खोज्ने, उपयोग भने केही भएन

दिउँसो उकेराले फिल्ममा अभिनय गर्ने विवादमा अभिनेता अनमोल केसी पक्राउ परेपछि दार्जिलिङमा बस्दै आएकी उनकी आमा सुस्मिता बमजन नेपाल आएको समाचार छाप्यो। भुवन केसीसँग डिभोर्स भएपछि आमासँग भारतको दार्जिलिङमा बस्दै आएकी उनी अनमोल पक्राउ परेकै दिन शुक्रबारै नेपाल आएकी हुन्।
पूरा समाचारः अनमोल भेट्न आमा सुस्मिता भारतबाट नेपाल आइन्, बाबु प्रेमिकासँग युरोपमै

साँझपख उकेराले नियमित स्तम्भ भुइँमान्छेमा काठमाडौंका एक मासु पसले सुखरत्न खड्गीको बारेमा लेख्यो। जसमा उनले आफ्नो व्यावसायिक र व्यक्तिगत जीवनको बारेमा खुलेर बताएका छन्।
पूरा समाचारः ४७ वर्षदेखि मासु पसल चलाइरहेका सुखरत्न भन्छन्- ‘खासमा मलाई अहिले मारकाट भनेकै मन पर्दैन’

यस्तै उकेराले चीनमा जारी एसियाली खेलकुदको क्रिकेटमा नेपालले क्वाटरफाइनलमा भारतसँग भिडन्त गर्ने समाचार लेख्यो। सोमबार भएको क्वाटरफाइनलको ड्रमा नेपालको प्रतिद्वन्द्वीको रुपमा भारत परेको हो।
पूरा समाचारः एसियाड क्रिकेटः क्वाटरफाइनलमा नेपालको भिडन्त भारतसँग, खेल भोलि

असोज १५, २०८० सोमबार २१:३९:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।