४७ वर्षदेखि मासु पसल चलाइरहेका सुखरत्न भन्छन्- ‘खासमा मलाई अहिले मारकाट भनेकै मन पर्दैन’

४७ वर्षदेखि मासु पसल चलाइरहेका सुखरत्न भन्छन्- ‘खासमा मलाई अहिले मारकाट भनेकै मन पर्दैन’

दशैँ नजिकिँदै गर्दा सुखरत्न खड्कीको स्मृतिमा बाको सम्झना आउँछ। ठ्याक्कै साल त उनलाई याद छैन। तर, ०२८ सालअघि नै बाले मासु पसल राखेको सम्झन्छन् उनी। त्यसअघि पनि व्यापारी नै थिए उनका बा। फलफुल बेच्थे, अनि मेला/जात्राको समयमा भने गाउँ–गाउँ डुलेर विभिन्न खेल खेलाउँथे।

एक दिन त्यसरी नै गाउँबाट फर्किंदा भेडा लिएर आएछन्। त्यो भेडा मासु पसलेलाई बेच्न खोज्दा ल्याएको भन्दा कम मूल्य पाउने भएपछि आफैँले बेच्ने निर्णय गरे अनि विष्णुमति पुलमुनि लगेर काटे। काटेको मासु केही बेरमै बेचेर सकियो। हिसाब गर्दा नाफै भयो।

‘त्यसपछि बाले सबै काम छोडेर यहि काम गर्छु भन्यो। अनि त्यहाँ नै सानो टहरा बनाएर मासु बेच्न थाले,’ सुखरत्नले सम्झिए, ‘यसबेला हामी त सानो थियो नि! घरमा परिवार पनि धेरै। आमाले हरेक वर्ष जस्तो भाइबहिनी पायो। हाम्रो नौ जना दिदिबहिनी अनि दुई जना दाजुभाई छ।’

उनी एउटा दिदी र दाइपछि जन्मिएका सन्तान हुन्। उनी जन्मिएपछि घरमा सुख भएको भनेर उनको नाम नै सुखरत्न राखेको रे।

वर्षौंसम्म उनको परिवारले त्यहि टहरामा मासु पसल चलाए। उनीहरूले विशेषगरी खसीको मासु बेच्न थाले। ढक, तराजु सबै त्यहि टहरामै हुन्थ्यो। त्यो बेला बिहान मात्रै मासु बेच्ने गरेको उनी सम्झन्छन्। उनको बाल्यकालदेखि जवानी मासु काटेरै बित्यो। कक्षा चारसम्म पढेका छन् उनले।

‘आमाबाले पनि पढेर के गर्ने केहि भनेन। हामी त झन् बच्चा सबै जना साथीहरू त्यो बेला स्कुल पनि जान्थेन। अनि पढ्न भन्दा हामी त फिल्म पो हेर्न जान्थ्यो। विष्णुमति गयो, नुहायो। त्यत्तिकै बित्यो बाल्यकाल’, फिस्स हाँस्दै उनले सुनाए।

‘हाम्रो बा त एकदम फेमस थ्यो नि!’
खासै मासु पसल नरहेको ठाउँमा उनको बाले पसल खोलेपछि व्यापार एकदम राम्रो भएको रहेछ। तर, जति धेरै व्यापार भए पनि दिउँसो भने पसल बन्दनै हुन्थ्यो रे।

त्यसबेला नै दिनमा दुई/तीनवटा खसीको मासु बिक्री हुने गरेको उनले सुनाए। उनको पसलमा मासु किन्न खानीखोला, नौबिसे, फर्पिङदेखिका आउने गरेको उनलाई सम्झना छ। व्यापार फस्टाएसँगै उनको बाको क्रेज पनि निकै बढ्यो।

‘मेरो बा को नाम राम हो। राम दाइकै मा मासु किन्ने भनेर बिहानै मान्छेहरू आउँथ्यो। बीचमा कुखुराको मासु पनि बेच्न थालेको थ्यो। गाउँतिर कुखुरा लिन जाँदा राम दाइको छोरा आयो भनेर चिन्थे। शनिबारमा त दिनको झन्डै ८/१० वटासम्म खसीको मासु बिक्री हुन्थ्यो,’ उनी भन्दै गए, ‘ए, त्यसबेला त एकदम हारालुछ हुन्थ्यो। चाडबाडमा दुईटा पसल राख्नपर्थ्यो। बाले चैँ हुल भयो भनेर हामीलाई अर्को पसलमा बस्न लागाए पनि सबैले बा भएकै ठाउँमा किन्न खोज्थ्यो। हाम्रो बा त एकदम फेमस थ्यो नि!’

उनीहरूले दशैँको समयमा त्यसबेला एक सय चानचुन खसी, बोका बिक्री गर्थे। करिब एक महिना अगाडि नै स्टक राख्थे। अनि उनको दाइ र उनी भने पालै–पालो खसी चराउन अहिलेको छाउनी म्युजियम र महेन्द्र क्याम्पसको चौरमा लग्थे। अहिले भने दशैँमा सातवटा खसी ल्याउने गरेका रहेछन् उनले।

‘त्यतिबेला फेरि मासु पनि काटेर टुक्रा–टुक्रा दिने चलन थिएन। काटेर भाग लगाएर बेच्थ्यौं। अनि कागजमा हालेर, झोला ग्राहकले नै ल्याउथ्यो। त्यसमा हालेर दिन्थ्यौं’, उनी भन्छन्।

चाडबाडको समयमा बिहान तीन बजेदेखि दिउँसो तीन बजे सम्मै सुखरत्न व्यस्त हुन्छन्। नवमीको दिनमा त झन् बलि दिएर ल्याएको बोका÷खसी खुइलाउने काम पनि उनले पाउँछन्। खुइलाए बापत अहिले त दुई हजारसम्म उनले पाउने गर्छन्। पहिला त दुई सय पचासमा खुइल्याएका थिए रे। मासु किन्दा ग्राहकले यहि लान्छ भनेर अनुमान चैँ उनी गर्दैनन् । कोहिले ह्याकुला, कोहिले फिला खोज्न आउछन् रे।

आजकल भने आन्द्राभुडी, सँगै टाउको र खुट्टा पनि खोज्न आउने गरेको उनले अनुभव गरेका छन्।

‘पहिला त खुट्टा कसैले पनि लादेन थ्यो। बिक्नु त परको कुरा। कसैलाई त्यसै लग भन्दा पनि हेपेर दियो भन्थे। अहिले त सुप खान पर्यो भन्दै खुट्टा मात्र खोज्न पनि आउँछन्’, बोल्दै-बोल्दै हाँसे उनी।

च्याङ्ग्राको मासु खान हुँदैन भन्थे
खसी किन्नको लागि भने उनीहरू टुँडिखेल नै पुग्न पर्थ्यो। धेरैजसो इन्डियाबाट आउने गरेको र नेपालबाट भने बनेपा, पनौती, त्रिशुली, धादिङबाट आउँथ्यो रे। उनका अनुसार त्यसबेला एउटा जिउँदो खसीको ११/१२ सय पर्थ्यो।

अनि सबैभन्दा सस्तो चै च्याङ्ग्राको पर्थ्यो। अहिले असनमा पाँच सयको दुइटा भनेर व्यापारीले भट्याएको जस्तै गरि त्यसबेला च्याङ्ग्राको मूल्य तोकिएको थियो रे। तर, पनि कसैले किन्दैनथ्यो।

‘अहिले जिउँदो खसीको मासु किलोको ६, ७ सय पर्छ। तर, च्यांग्राको त दुई हजारसम्म पर्छ नि! त्यो बेलामा बार(बोसो) धेरै हुन्छ भनेर भेडा च्याङ्ग्राको मासु खानहुँदैन भन्थ्यो। अहिले त जडिबुटी खायो रे भनेर खसीको भन्दा महँगो छ,’ उनले भने।

व्यापार फस्टाउदै गएपछि १४/१५ वर्षको उमेरमा उनले पनि खुकुरी समाए। आफ्नो माइला बाले मार हान्न सिकाएको उनी सम्झन्छन्।

उनी भन्छन्, ‘हतियार देखेर डर त लाग्थ्यो। तर, सधैँ बाले चलाएको देख्दा त्यति धेरै डर पनि लागेको होइन। बा र माइला बाले मार हानेको देख्दा आफूलाई पनि त्यो बेला त रहर लाग्थ्यो। पहिलोपटक मार हान्दा चुकेको पनि थिएँ।’

त्यो बेलामा मासु पाउको पाँच सुका थियो रे अनि किलोको चैँ छ रुपैयाँ २५ पैसा। तर, त्यति किन्न पनि नसक्ने धेरै मानिसहरू भएको उनलाई याद छ।

‘मासु खान दशैँ आउनपर्ने समय थ्यो त्यो। हुने मान्छेले त्यो बेला पनि दिनका दिन खान्थ्यो। गरिब भनेको त्यो बेला धेरै थ्यो। अहिले को गरिब, को धनी भन्ने नै छुट्याउनै सकिँदैन।’

०५३ सालमा उनको बा बिते। त्यसपछि दाजुभाई मिलेर पसल सम्हाले। करिब १६ वर्षअघि भने बाटो बिस्तार गर्ने भन्दै उनीहरूको पसल रहेको टहरा पनि भत्काइयो। त्यसपछि व्यापारमा केहि कमी आउन थाल्यो। उनीहरूले पनि आठ महिना जति पसल बन्दै गरे।

‘धेरैलाई त हामीले फेरि पसल राखेको भन्ने पनि थाहा भएन। त्यो बेला अलि कम व्यापार हुन्थ्यो। तर, पछि चिनेको मान्छे आउन थाले। अनि अहिले त यतै नजिकैको धेरै आउँछ। अहिले त जसले जहाँबाट पनि किन्नसक्ने अवस्था छ नि त!’ उनले भने।

फ्रीजको चलन आएपछि दिउँसो र राति पनि उनले मासु बेच्ने मेसो पाए।

‘पहिला त मासु बाँकी बस्ने भन्ने नै हुँदैनथ्यो। त्यै भएर फ्रीजको आवश्यकनै परेन नि! अहिले पो आजको मासु भोलि पनि बेच्ने चलन आयो त!’

‘छोराले पनि यहि गर्नुपर्छ भन्ने छैन’
उमेरले ६२ पुगिसके सुखरत्न। जीवनभर नै मासु बेचेका उनलाई अचेल भने काटमार मनपर्दैन रे।

‘बा ले गरेको देख्दा रहर लाग्यो। बालाई सघाउनपर्छ भन्ने पनि भयो। अहिले त खासमा मलाई मारकाट भनेकै मन पर्दैन। धेरैपटक छोड्छु भनेको पनि हो। तर, परिवारले अब के काम गर्ने त भन्यो,’ उनी भन्छन्, ‘अरुमा लगानी चाहियो। चल्न पनि पर्यो। यो भनेको जानेको काम भन्ने कुरा आएपछि बाध्य गरिराख्या छु।’

उनलाई यसबाहेक अरु पनि केही व्यवसाय गरौँ भन्ने लागेको रहेछ। चट्टै छाड्न भने नसकेका। तर, छोराले मासु नकाटोस् भन्ने उनी चाहन्छन्। यद्यपि छोराले सहयोग गर्न थालिसकेको उनी बताउँछन्।

‘उ फुटबलको लाइनमा पनि छ । मेरो बाले पनि गर्यो, मैले पनि गरेँ। यसको मतलब यो होइन कि उसले पनि गर्नुपर्छ। उसले चैँ नगरोस भनेको तर, अहिलेसम्म हेर्दा त गर्ला पो जस्तो छ,’ मधुरो आवाजमा उनले भने, ‘चाडबाडको समयमा सबै जना मामाघर जाने, घुम्न जाने गर्छन्। तर, हामी त झन् त्यो समयमा बढी काम गर्नुपर्छ। फेरि लुगा पनि रगत नै रगतले लत्पतिएको हुन्छ। रमाइलो गर्नै पाउँदैन।

असोज १५, २०८० सोमबार १९:४७:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।