आफ्नै श्रीमान् निर्माता भएको फिल्ममा पनि सुपुष्पाले गीतमा नाच्ने मौका मात्र पाइन् , स्वस्तिमालाई लिड रोल दिए निर्देशक निश्चलले

आफ्नै श्रीमान् निर्माता भएको फिल्ममा पनि सुपुष्पाले गीतमा नाच्ने मौका मात्र पाइन् , स्वस्तिमालाई लिड रोल दिए निर्देशक निश्चलले
तस्बिर : सुरेन्द्र थापा

काठमाडौँ :  निर्माता रौनक विक्रम कँडेल  श्रीमान् अनि अभिनेत्री सुपुष्पा भट्ट श्रीमती। उता निर्देशक निश्चल बस्नेत श्रीमान् अभिनेत्री स्वस्तिमा खड्का श्रीमती।

यही जोडीले मिलेर फिल्म बनाए। फिल्मको टिम हेर्दा नाम 'मेरो श्रीमान्-मेरी श्रीमती' राख्दा सुहाउने भए पनि राखियो 'दिमाग खराब।'

सुपुष्पाले रौनकसँग विवाह गर्नु अगाडि ‘रणवीर’,‘चपली हाइट ३’ र ‘छ माया छपक्कै’मा अभिनय गरेकी थिइन्। उनले थुप्रै म्युजिक भिडियोमा पनि काम गरिन्। अभिनयमा जम्दै थिइन् फिल्म निर्माता रौनक विक्रम कँडेलसँग विवाह गरिन् दुई वर्ष अघि।

विवाहपछि उनी केही म्युजिक भिडियो त देखिइन् तर फिल्ममा देखिइनन्।  फिल्म 'दिमाग खराब' बाट अभिनयमा उनको कमब्याक हुनसक्थ्यो। 

सोमबार ‘दिमाग खराब’ को प्रमोसनका लागि आयोजित कार्यक्रममा सहभागी  सुपुष्पाले २ वर्षपछि यो फिल्मको ‘झम्के माया झम’मा नाचेर कमब्याक गरेको बताइन्। उनले भनिन्,‘२ वर्षको ग्यापपछि यो गीतमार्फत कमब्याक भएको छु। यसलाई मैले एकदमै ठुलो अवसरका रूपमा लिएको छु।’

यो फिल्ममा गीतमा मात्रै हो भन्ने पत्रकारको प्रश्न उनले मलिनो स्वरमा भनिन्,‘उम, म गीतमा मात्रै छु।’

यो कसरी अभिनयमा कमब्याक भयो त! म्युजिक भिडियोमा पो कमब्याक भएको रहेछ उनको।

अर्की अभिनेत्री स्वस्तिमाको अभिनयको करिअर अहिले बलियो छ। विभिन्न चरित्रमा अभिनय गरेर भर्सटायल अभिनेत्रीको छवि बनाएकी उनका लागि आफ्नै श्रीमान् निर्देशक भएको फिल्म कुरिरहनुपर्ने अवस्था छैन। तर उनी नै छानिइन् फिल्म 'दिमाग खराब'मा

उनले श्रीमान् तथा निर्देशक निश्चल बस्नेतसँग थुप्रै म्युजिक भिडियोमा सँगै नाचिसकेकी छिन्। ‘नाच फिरिरि’,चट्ट रुमाल’,‘माया बिरानी’लगायत दर्जनौँ गीतमा अभिनय गरिसकेका उनीहरू म्युजिक भिडियोमा रुचाइएकै जोडी हुन्।

निश्चलले केही फिल्ममा अभिनय पनि गरिसकेका छन्। तर स्वस्तिमा र निश्चलको अभिनय रहेको पहिलो फिल्म भने'दिमाग खराब' नै बनेको छ।

प्राय निश्चललाई आफूले बनाएको फिल्ममा स्वस्तिमालाई किन अभिनय नगराएको भन्ने प्रश्न आइरहन्थ्यो। अब यो प्रश्नको अन्त्य भयो यही फिल्मबाट।

‘सँगै किन फिल्म नखेलेको भनेर यहाँहरूबाट जहिल्यै  प्रश्न आइरहन्थ्यो। हामीले बिहे गरेको पनि ७,८ वर्ष भइसक्यो,’उनले सोमबार कार्यक्रममा भनिन्,‘निश्चलको फिल्म कहिले गर्ने,निश्चलले लिँदैन कि तिमीले नगर्ने हो भनेर प्रश्न गर्नुहुन्थ्यो।अब चाहिँ त्यो प्रश्नको उत्तर दिनुपर्दैन होला।’

उनले कार्यक्रममा पत्रकारले मात्र नभई श्रीमानले पनि 'तँ मेरो फिल्म नगर्ने हो ' भनेर सोधिरहने गरेको भन्दै त्यसका लागि 'दिमागu खराब’ फिल्म एकदम स्पेसल रहेको बताइन्।

कार्यक्रममा स्वस्तिमाले निश्चलको निर्देशकिय पाटोबारे केही थाहा नभएझैँ गरिन्। अरू निर्देशक भन्दा निश्चल काम गराउन निकै सिपालु रहेको भन्दै प्रशंसा गरिन्।

‘श्रीमानको अण्डरमा काम गर्न पाउँदा बेग्लै अनुभव भयो।  श्रीमानसँग काम गर्दा फरक अनुभव हुँदो रहेछ। हामीले सानोतिनो म्युजिक भिडियोहरूमा काम गरिरहेका थियौँ। तर फिल्ममा काम गर्दा श्रीमानको अण्डरमा छु म भने जस्तो फिल भएको थियो।'

यतिमा मात्र श्रीमानको प्रशंसा सकिएन स्वस्तिमाको। जसले निश्चलसँग काम गर्छन् उनीहरूले धन्यवाद भन्ने दाबी गरिन्।

‘ निर्देशक निश्चल बस्नेतसँग मेरो फस्ट प्रोजेक्ट हो। निर्देशक निश्चल भनेको कस्तो हो यो फिल्ममा काम गरेपछि थाहा पाएँ। सुटिङ सकिएपछि जसले पनि एक पटक धन्यवाद भन्छ होला के निश्चललाई ,’उनले खुसी हुँदै भनिन्,‘यति सजिलो निर्देशक,यति चिल्ड,यति कुल निर्देशक मैले अहिलेसम्म कमै पाए होला।’

अब बोल्ने पालो आयो फिल्म निर्माताको। उनले श्रीमतीले आफ्नो लगानी भएको फिल्ममा अभिनय गरेकोबारे प्रस्टीकरण दिइहाले।

‘यो कास्टिङको जिम्मा  निर्देशकलाई नै छोड्दै आएको छु। हस्तक्षेप गर्दै यही हुनुपर्छ नत्र हुँदैन भन्ने गरेको छैन' उनले भने' मैले मन हुँदाहुँदै पनि दाइलाई नै सोधेँ। कास्टिङमा जे ठिक लाग्छ त्यही गर्नु भने। मैले उनलाई(सुपुष्पा) राख्नुपर्छ भन्नेमा जोड गरिन।’

कात्तिक २४ मा रिलिजको तयारी भएको फिल्ममा अर्पण थापा,खगेन्द्र लामिछाने, दयाहाङ राई, विजय बराल लगायतका नाटकबाट अभिनयमा आएका कलाकारहरूको भिड छ।

असोज १५, २०८० सोमबार १९:४२:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।