नेपालसँगको खेलअघि ऋतुराजले भने, ‘धोनीबाट धेरै कुरा सिके पनि आफ्नै तरिकाले कप्तानी गर्छु’
काठमाडौं : १९औं एसियाली खेलकुदमा भारतीय पुरुष क्रिकेट टिमको कप्तानी सम्हालेका ऋतुराज गायकवाडाले महेन्द्र सिंह धोनीबाट धेरै कुरा सिकेको भए पछि आफ्नै तरिकाले कप्तानी गर्ने बताएका छन्।
नेपालसँगको खेलअघि भएको पत्रकार सम्मेलनमा बोल्दै गायकवाडले धोनीबाट धेरै कुरा सिकेता पनि कप्तानी भने आफ्नै तरिकाले गर्ने बताएका हुन्।
‘मैले उहाँ(धोनी)बाट धेरै कुरा सिक्न पाएको छु, तर हरेक व्यक्तिको शैली फरक हुन्छ। उसको शैली फरक हुन्छ, उसको व्यक्तित्व फरक हुन्छ र मेरो व्यक्तित्व अलि फरक छ,’ उनले भने, ‘म आफ्नो तरिकाले कप्तानी गर्ने प्रयास गर्नेछु।’
भारतीय क्रिकेट टोलीले एसियाली खेलकुदमा आफ्नो पहिलो खेल मंगलबार नेपालसँग खेल्दैछ।
पत्रकार सम्मेलनमा भारतीय प्रशिक्षक भिभिएस लक्ष्मणले चीनमा क्रिकेट खेल्नु टोलीका लागि अनौठो अनुभव हुने बताएका छन्।
उनले भने, ‘यो एकदमै फरक सेटअप हो। हामीले चीनमा आएर क्रिकेट खेल्नेछौँ भन्ने कल्पना पनि गरेका थिएनौँ। यो सम्पूर्ण टोलीका लागि ठूलो अवसर हो। यी सबै खेलाडीहरूका लागि यो ठूलो अवसर र धेरै गर्वको कुरा हो। एसियाली खेलकुदमा भाग लिनको लागि।’
टोलीका सबै खेलाडी महिला टोलीले जस्तै स्वर्ण पदक जित्न आतुर रहेको पनि ऋतुराजले बताए।
‘एसियाली खेलकुदको कुरा गर्दा सबैजना देशका लागि स्वर्ण पदक जितेर पोडियममा उभिन आतुर छन्। हामी सबै हाम्रो महिला टोलीले जस्तै स्वर्ण पदक जित्न चाहन्छौं,’ उनले भने।
असोज १५, २०८० सोमबार १७:०६:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।