शेयर बजारमा लगानी गरी कसरी प्रतिफल लिने भनेर धेरैलाई थाहा छैन : अर्थमन्त्री महत
ललितपुर : अर्थमन्त्री डा. प्रकाशशरण महतले पुँजी बजारलाई थप स्वस्थ बनाउन आवश्यक रहेको बताएका छन्।
‘विश्व लगानीकर्ता सप्ताह’ को उद्घाटन गर्दै उनले सोमबार लगानीकर्तालाई पुँजी बजारसम्बन्धी शिक्षा बढाउने र नेपाल राष्ट्र बैंक तथा नेपाल धितोपत्र बोर्डले नियामकीय भूमिका बढाउनुपर्नेमा जोड दिए।
‘अहिले नियामकको केही माइक्रो म्यानेजमेन्टका कारण पनि बजार प्रभावित भएको देखिन्छ। यसबारे चाँडै कुनै निर्णय आउला भन्ने अपेक्षा गरेको छु,’ महतले भने, ‘शेयर बजारलाई स्वस्थ बनाउन जरुरी छ। बेलाबेला भित्री कारोबार (इन्साइडर ट्रेडिङ) का कुरा पनि सुनिने गरेका छन्। यसलाई धितोपत्र बोर्डले निर्णायक हिसाबले नियमनको दायराभित्र ल्याउनुपर्छ।’
शेयर बजारबारे निकै कम व्यक्तिलाई मात्र जानकारी रहेको र यस क्षेत्रमा लगानी गरेर कसरी प्रतिफल लिने भन्नेबारे धेरैलाई जानकारी नभएकाले वित्तीय तथा पुँजी बजारसम्बन्धी साक्षरता बढाउन आवश्यक रहेको महतको भनाइ छ।
उनले शेयर बजारको उतारचढावका बेला निश्चित व्यक्तिले नाफा लिने र सर्वसाधारणले गुमाउने भएकाले पुँजी बजारको कारोबारबारे सर्वसाधारणलाई बढी जानकारी दिनुपर्ने आवश्यकता रहेको बताए।
महतले आम लगानीकर्ताको हित हुनेगरी नियामकीय भूमिका निर्वाह गर्न र पुँजी बजारबारे जानकारी तथा साक्षरता बढाउन पनि नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लगायत निकायलाई निर्देशन दिए।
असोज १५, २०८० सोमबार १३:२५:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।