एनसेलले गर्‍यो वार्षिकोत्सव र विश्व मुटु दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर

एनसेलले गर्‍यो वार्षिकोत्सव र विश्व मुटु दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं : एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सव र विश्व मुटु दिवसको अवसरमा शुक्रबार (असोज १२ गते) काठमाडौंको लैनचौर ग्राउन्डमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ।

यस शिविरमा ४०० भन्दा बढी मानिसहरूले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवाहरूको लाभ लिएका थिए।

नर्भिक अस्पतालसँगका सहकार्यमा आयोजना गरिएको यस शिविरमा मानिसहरूले विषेशज्ञ डाक्टरहरूबाट मुटु रोग, बाल रोग, स्त्री रोग, दन्त रोग र सामान्य स्वास्थ्य जाँच लगायनका परामर्श र ईसीजी र मधुमेह जाँच सेवा पाएका थिए।

स्वास्थ्य शिविरहरूले मानिसहरूमा प्रिभेन्टिभ हेल्थ केयर प्रोत्साहन गर्न मद्दत गर्ने हुनाले स्वास्थ्य शिविरहरू समयमै रोग पहिचानको लागि एकदमै राम्रो माध्यम मानिन्छ।

एनसेलले आफ्नो नयाँ यात्रा सुरु गर्दै गर्दा कम्पनीको ब्रान्ड वाचा ‘आज, भोलि, सधैं सँगै’ अन्तर्गत रही वार्षिकोत्सवको थिम ‘हामी तपाईंकै लागि’ अनुरूप यो स्वास्थ्य शिविरको आयोजना गरेको हो।

एनसेल आफ्नो सिद्धान्तमा केन्द्रित रही नेपाल र नेपालीकै लागि निरन्तर गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ।

यस स्वाथ्य शिविरमा आएका सबैले थप जाँचहरू गर्नु परेमा नर्भिक अस्पतालले २० प्रतिशत छुटको पनि व्यवस्था मिलाइएको छ। स्वास्थ्य शिविरमा बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन भएको थियो र तत्काल औषधि आवश्यक भएकाहरूलाई निःशुल्क औषधि पनि दिईएको थियो।

​​​​​​​

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने “हाम्रा स्थानीय समुदायका मानिसहरूलाई ध्यानमा राख्दै काठमाडौंको मुटुमा यस स्वास्थ्य शिविरको आयोजना गरिएको हो। एनसेल एक जिम्मेवार कपोरेट नागरिक हो र आफ्नो समुदायका मानिसहरूका लागि फाइदा हुने काम गर्न सधैं प्रतिबद्ध छ। काठमाडौंलगायत देशको विभिन्न भागमा यस किसिमको स्वाथ्य शिविर छिटै आयोजना गर्नेछौं। ”

एनसेलले ‘हामी तपाईंकै लागि’ थिमअन्तर्गत १८औं वार्षिकोत्सवको अवसरमा अन्य विभिन्न कार्यक्रमहरूको पनि घोषणा गरिसकेको छ।

त्यस्ता कार्यक्रमहरूमा व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत प्रदेशको समुदाय स्तरमा लागू हुने सामाजिक पहल ‘एटिन फर एटिन’ अर्थात् १८ का लागि १८ कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा प्रतिनिधित्व गर्ने प्यारालम्पिकका राष्ट्रिय खेलाडीहरूलाई सहयोग, बागमती कोरिडोर सडकको दुवैतर्फ वृक्षारोपणलगायतका कार्यक्रमहरू रहेका छन्।

असोज १५, २०८० सोमबार १२:४०:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।