सधैं बेवारिसे भक्तपुर सल्लाघारीको १०८ रोपनी जग्गा : लिन सब खोज्ने, उपयोग भने केही भएन

सधैं बेवारिसे भक्तपुर सल्लाघारीको १०८ रोपनी जग्गा : लिन सब खोज्ने, उपयोग भने केही भएन

काठमाडौं : भक्तपुरको सल्लाघारीमा अरनिको राजमार्गसँगै रहेको करिब सय रोपनी बराबरको खाली जग्गा छ। २०४६ सालदेखि उक्त जग्गा खाली नै छ। जसमा विभिन्न निकायले भोगचलन गर्न पाउनुपर्ने दाबी गरिरहन्छन्।

भक्तपुर नगरपालिकाको वडा नं १ मा अवस्थित उक्त जग्गा कानुनी रुपमा भने नेपाल ट्रस्टको नाममा छ। तर, ट्रस्ट स्वयंले पनि उक्त जग्गा आफ्नो स्वामित्वमा आउनुपर्ने माग गरिरहनु परेको छ। 

लामो समयसम्म विवादित बनेको उक्त जग्गामा पछिल्लो समय भने नगरपालिका र ट्रस्ट दुवेले विवाद नभएको दाबि गर्न थालेका छन्। तर भोगचलनको कुरामा भने अझै टुंगो लाग्न सकेको छैन।

यता नगरपालिका पनि २० वर्ष अघिदेखि उक्त जग्गा ख्वप विश्वविद्यालयको लागि भोगचलन गर्न दिन माग गरिरहेको छ।

ट्रस्टले उक्त जग्गा भएको ठाउँमा ठूलो सूचना बोर्ड नै राखेर जग्गा आफ्नो स्वामित्वमा रहेको जनाएको देखिन्छ। तर, नगरपालिकाले भने त्यसमा अहिले सशुल्क पार्किङको व्यवस्था गरेको छ।

महेन्द्रको अधिग्रहण

दरबार हत्याकाण्डपछि तत्कालीन राजपरिवारको नाममा रहेको देशभरका सम्पत्ति सबै ट्रस्टको नाममा जाने ऐन त्यसै अनुरूप यो जग्गा पनि ट्रस्टको नाममा गएको हो।

तर यो जग्गा भने राजपरिवारकै पुर्ख्यौली जग्गा भने होइन। २०२६ सालसम्म यो जग्गामा स्थानीयले खेतिपाती गर्दै आएका थिए। तत्कालीन राजा महेन्द्रले यहाँको जग्गाधनी र मोहीबाट जबर्जस्ती अधिग्रहण गर्दै जग्गा युवराज वीरेन्द्रको नाममा गरिदिएका थिए।

त्यसबेला महेन्द्रले १०८ रोपनी २ आना १ दाम जग्गा प्रति रोपनी दुई हजार (जग्गा धनीलाई १२ सय र मोहीलाई ८ सय) रुपैयाँ दिएर जग्गा अधिग्रहण गरेका थिए। तर, अझै पनि केही स्थानीयले उक्त पैसा नपाएको बताउने गरिन्छ।

यस बारेमा भक्तपुर नगरपालिका वडा नं १ को अध्यक्ष श्याम कृष्ण खत्रीले अहिले उक्त जग्गासँग सम्बन्धित प्रायः स्थानीयहरू मरिसकेको र उनीहरूको सन्तति भने विदेश पलायन भएको उकेरालाई बताए।

आफ्नो नगरमा पार्न स्थानीय निकायको चलखेल

जग्गासँगै सूर्यविनायक नगरपालिकाको सीमा पर्ने भएको कारण धेरैले उक्त जग्गालाई सूर्यविनायक नगरपालिकाको कटुन्जे वडा नं ६ मा पार्न खोजेको पनि वडा अध्यक्ष खत्रीको भनाइ छ। ‘२०२८ सालमा अरनिको राजमार्ग बनेपछि उक्त जग्गाको उत्तरमा भक्तपुर नगरपालिका अनि दक्षिण चैं सूर्यविनायक नगरपालिका पर्न गयो। अनि धेरै पटक उतैको कटुन्जेमा पार्न खोजिरहेको थियो,’ उनले भने।

‘पछि हाम्रै नगरपालिकाको हो भनेर स्पष्ट भएपछि त्यो बेलाको तत्कालीन गृहमन्त्री ईश्वर पोख्रेलले हाम्रो नगरपालिकालाई नै जानकारी नगराइकन हेर्न आउनुभएछ। त्यो थाहा पाउने बित्तिकै हामी सबै जनप्रतिनिधि स्वागत गर्न गयौं। अनि विवाद हुन नदिन मिटिङ पनि बस्यौं। त्यसपछि भने त्यस्तो गतिविधि भएको छैन,’ खत्रीले थपे।

पर्खालसँगै ट्रस्टले आफ्नो स्वामित्वमा भएको सूचना बोर्डमा पनि स्थान कटुन्जे नै राखिएको थियो। तर, नगरपालिकाले भने त्यो बोर्डलाई बारम्बार त्यहाँबाट हटाएपछि अहिले भने बोर्ड पनि संसोधन गरेर राखेको देख्न सकिन्छ।

‘त्यो बेलाको तत्कालीन कटुन्जे गाविस भनेको छ। त्यो त होइन नि। भक्तपुर नगरपालिका सल्लाघारी वडा नं १ हुनुपर्ने। सरकारी बोर्डमै झुटो विवरण राखेर बोर्ड नराख्नु भनेर संसोधन भएपछि मात्र राख्न दिएको हो,’ नगरपालिकाका सूचना अधिकारी तथा प्रशासकीय प्रमुख दामोदर सुवालले बताए। 

ट्रस्ट र नगरपालिकाको मनमुटाव

अहिले सो जग्गामा नगरपालिकाले नै संरक्षण गर्ने भनेर एक करोड दश लाख खर्च गरेर पर्खाल पनि लगाएको छ। त्यो पर्खाल बनाउँदा पनि ट्रस्ट र नगरपालिकाको धेरै नै विवाद भएको थियो।

२०७५ सालमा नगरपालिकाले अनुमति नलिई पर्खाल लगाएको आरोप ट्रस्टले लगाएको थियो। तर, नगरपालिकासँग भएको कागजातमा भने ट्रस्टका तत्कालीन सचिव गजेन्द्र सिंह ठाकुर र सहसचिव राजेश्वर ज्ञवालीको हस्ताक्षर सहितको पत्र देखिएको छ। 

महेन्द्रले अधिग्रहण गरेको जग्गा ट्रस्टमा जानुभन्दा अगाडि र गइसकेपछि पनि बेवारिसे अवस्थामै भएको कारण जग्गाको संरक्षण गर्नुपर्ने कर्तव्य नगरपालिकाको भएको प्रशासकीय प्रमुख सुवालको भनाइ छ।

‘त्यो जग्गा त्यत्तिकै रहँदा त्यहाँ धेरै मानिसहरूले सवारी साधन सिक्ने, फोहोर फाल्ने र कहीं काम नलाग्ने कुराहरू भण्डार गर्ने गिट्टी बालुवा राख्ने गरेर दुरुपयोग भइरहेको थियो। त्यस बेला धेरै स्थानीय जनताहरूले गुनासो पनि गरेको हो,’ सुवाल भन्छन्, ‘अनि सार्वजनिक र सरकारी जग्गा संरक्षणको जिम्मेवारी स्थानीय सरकारको पनि हुन्छ भनेर स्थानीय सरकार ऐनमै छ।’

‘नगरपालिकाले अतिक्रमण गर्यो भनेर आरोप लाग्ने गर्छ। त्यहाँ अहिले हामीले सशुल्क पार्किङ संचालन गरेका छौं। नजिकैको यातायात कार्यालयबाट त्यो मोडमा सवारी साधन व्यवस्थित गरिदिनु पर्यो भनेर पटक पटक निवेदन आएपछि हामीले कर्मचारी खटाएर पार्किङ व्यवस्थापन गर्ने कोसिस गर्दैछौं। हामीले अतिक्रमण गरेका हैनौं। नगरभित्रको सम्पदाको संरक्षण गरेका हौं,’ उनले भने। 

जग्गा घटेको घट्यै! 

१०८ रोपनी जग्गा भने पनि अरनिको राजमार्ग नबनेसम्म भने सो जग्गा करिब १२०/२५ रोपनीभन्दा बढी भएको स्थानीयहरूको भनाइ छ। तर, अहिले भने १०८ रोपनीबाट पनि घटेर १०१ रोपनी १ आना ० दाम ३ पैसा भएको देखिन्छ।

यसको दक्षिणमा अरनिको राजमार्ग, पश्चिम र उत्तरमा स्थानीय बाटो, अनि पूर्व र थोरै उत्तरमा खोलाको भागले छोएको छ।

‘खोलाले बाटो फेरिदिंदा बाटो कम भयो। अनि चारैतिर बाटो बन्दा बाटोको भागमा पनि जग्गा परेको हुनाले अस्ति मात्र नापी अधिकृत, मालपोत अधिकृत र भक्तपुर नगरपालिका समेतले नापजाँच गर्दा यसको क्षेत्र १०१ रोपनी चानचुन देखिन आएको हो,’ सुवालले बताए।

उनका अनुसार यो नापी २०७९ असारमा लिइएको हो। यदि यो जग्गा पालिकाले संरक्षण नगरेको भए १०१ बाट पनि घटेर ललिता निवासको जस्तै हालत हुन सक्ने यहाँको स्थानीय जनप्रतिनिधिहरूले बताए। जग्गा नापीमा कम देखिए पनि पुर्जा र आधिकारिक कानुनी हिसाबमा भने अझै पनि १०८ रोपनी नै भनिंदै आएको छ। 

पर्खिरहेको ख्वप विश्वविद्यालय, वीरेन्द्र र ज्ञानेन्द्रको आफ्नै रहर

२०४६ सालको जनआन्दोलन पछि नै उक्त जग्गा जनताले नै उपयोग गर्न पाउनुपर्ने आवाज उठिरहेको छ। तर, नगरपालिकाले भने ख्वप उच्च मावि संचालन पश्चात् सम्बन्धित निकायसँग जग्गा प्राप्ति बारे कुराकानी गरेको देखियो।

२०५५ सालमा नेमकिपाका तत्कालीन पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले ‘एक घर एक स्नातक भन्ने’ अवधारणा सहित भक्तपुरमा भेला गरे। अनि २०५६ सालमा विश्वविद्यालयको योजना बन्यो। 

त्यसबेला नारायण मान बिजुक्छे स्वयंले वीरेन्द्रसँग पटक पटक कुरा गर्दा नजिकै वीरेन्द्र सैनिक स्कुल रहेको र दीपेन्द्र प्रहरी स्कुल पनि रहेको हुँदा यो विश्वविद्यालय पनि आफ्नै नाममा हुन पर्ने इच्छा व्यक्त गरेको स्रोतले बतायो।

स्रोतका अनुसार दरबार हत्याकाण्डपछि यस विषयमा ज्ञानेन्द्रसँग पनि कुरा भएको थियो। अनि ज्ञानेन्द्रले पनि फेरि आफ्नै नाममा विश्वविद्यालय हुन पर्ने आशय व्यक्त गरेपछि त्यो नराख्ने निर्णय भयो। तर, ख्वप विश्वविद्यालयको विधेयकको टुंगो नलागे जस्तै जग्गा पनि भोग चलन गर्ने भन्ने टुंगो लाग्न सकेको छैन। 

२०६२ साल असार २१ गते उक्त जग्गा वीरेन्द्रको नामबाट नारायणहिटी राजदरबारको नाममा गयो। त्यसैबेला ज्ञानेन्द्रसँग नगरपालिकाले कुरा अगाडि बढाएको थियो। तर, प्रतिगमन विरोधी आन्दोलन चलेपछि त्यो कुराको टुंगो लागेन।

ट्रस्ट ऐन २०६४ प्रमाणीकरण भएकै दिन पुष २२ गते तत्कालीन गृहमन्त्री एवं ट्रस्टका अध्यक्ष कृष्णप्रसाद सिटौलालाई पनि ख्वप विश्वविद्यालय स्थापनाको लागि जग्गा उपलब्ध गराउन निवेदन दर्ता भएको थियो। त्यसबेलादेखि अहिलेसम्म नगरपालिकाले पटक-पटक ट्रस्ट समक्ष जग्गा लिजमा दिन निवेदन दिइरहेको देखिन्छ। 

गत साउन ११ गते मात्र पनि नगरपालिकाले सोही माग राखेर लिजमा दिनको लागि ट्रस्टलाई निवेदन दिएको भए पनि यसपटक पनि कुनै जवाफ नआएको नगर प्रमुख सुनील प्रजापतिले जानकारी दिए।

‘हाम्रो नगर भित्र भएको र हामीले पहिलादेखि नै माग गरिआएको हुनाले हामीले नै उक्त जग्गा पाउनुपर्छ जस्तो लाग्छ। नत्र यसबीचमा त्यो जग्गा भोगचलनको लागि अन्य धेरै ठाउँबाट निवेदन आएको हामीले थाहा पाएका छौं,’ प्रजापति भन्छन्, ‘त्यो अरूलाई नभएर हामीलाई नै दिनुपर्ने हो। त्यसमाथि ट्रस्टको सम्पत्ति शिक्षा र स्वास्थ्यमा लगाउने भनेर त कानुनमै छ।’

निर्णायक भूमिकामा ट्रस्ट, तर कार्यविधि नै छैन 

२०६६ सालमा भने ट्रस्टले सबै निकायलाई परिपत्र गर्ने भन्दै असोज १९ मा ख्वप इञ्जिनियरिङ कलेजलाई जानकारी पत्र भने पठाएको देखिन्छ। तर, त्यस पत्रमा कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्था समिति र कृषि उत्पादन तथा एकीकृत बजार व्यवस्था परियोजनाले पनि जग्गा माग गरेको देखिएको थियो।

त्यस्तै अहिले भने अंग प्रत्यारोपण समितिले पनि उक्त जग्गा लिजमा मागेको ट्रस्टका सचिव सराजु कुमार वैद्यले बताए। 

‘त्यस जग्गा धेरैले लिजमा मागेको छ। तर, कसरी दिने, कसलाई दिने भनेर टुंगो लाग्न सकेको छैन। त्यसको लागि पहिला त कार्यविधि नै बनाउन आवश्यक छ,’ वैद्य भन्छन्, ‘व्यावसायिक रुपमा कसरी दिने भन्ने हाम्रो कार्यविधि छ। तर, त्यो जग्गा सरकारी कार्यालयहरूले नै माग गरेको हुँदा त्यसको लागि पहिला हामी आफैं बोर्डको निर्णय पर्खेर बस्न पर्ने अवस्था छ। त्यो निर्णय आएपछि अध्ययन गरेर के कसरी गर्न सकिन्छ भनेर हामी हेर्नेछौं।’

उनका अनुसार यसका लागि भक्तपुर नगरपालिका, अंग प्रत्यारोपण र ट्रस्ट आफैंसहित त्रिपक्षीय वार्ता गरेर अगाडि बढ्न सकिने छ।

‘दिने चैं लिजमै दिने हो। अब कसलाई दिने, कसरी दिने भनेर कुरा हुन बाँकी छ। नगरपालिकाको सवालमा पनि हामी सकारात्मक नै छौं। यस्तो अवस्थामा दुवै निकायलाई दिन पनि सक्छौं। नत्र दुई मध्ये एक त टुंगो लाग्ला कि,’ उनले भने। 

असोज १५, २०८० सोमबार १२:४३:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।