महिला हवल्दारलाई ‘गुड फ्राइडे मनाऔं’ भन्ने एसएसपी पालले कारबाही सिफारिस पछि बल्ल दिए राजीनामा

महिला हवल्दारलाई ‘गुड फ्राइडे मनाऔं’ भन्ने एसएसपी पालले कारबाही सिफारिस पछि बल्ल दिए राजीनामा

काठमाडौं  : सहकर्मी महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा निलम्बनमा परेका नेपाल प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले राजीनामा दिएका छन्। 

नेपाल प्रहरी सुदूरपश्चिम प्रदेश कार्यालय, कञ्चनपुरको प्रमुखका रूपमा कार्यरत रहँदा गत १९ जेठमा पालले बिदामा जान लागेकी महिला हवल्दारलाई आफ्नै क्वाटरमा बोलाएर ‘तिमी मलाई मन पर्यो, आज गुड फ्राइडे मनाउनुपर्छ’ भन्दै आफूसँगै बस्न प्रस्ताव गरेका थिए। 

महिला प्रहरीले सुदूरपश्चिम प्रदेश कार्यालयमा उजुरी दिएपछि घटनाको अनुसन्धान सुरु गरिएको थियो।

सोही दिन उनलाई जिम्मेवारीबाट हटाइएकोमा प्रारम्भिक छानबिनपछि उनलाई गृह मन्त्रालयले निलम्बन गरेको थियो।

पछि प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुरेन्द्र मैनालीनेतृत्वको छानबिन समितिले थप अनुसन्धान गरेको थियो।

समितिले उनलाई दोषी ठहर गर्दै बर्खास्त गर्न सिफारिस गरेलगत्तै पालले राजीनामा दिएका हुन्।

बिदामा जान लागेकी महिला कर्मचारीलाई दुर्व्यवहार गरिएको प्रकरणमा प्रहरी प्रधान कार्यालयको आन्तरिक छानबिन समितिले दोषी ठहर गरेपनि फौजदारी कसूरमा भने पालविरुद्ध अनुसन्धान भएको छैन।

छानबिनका क्रममा उनले अरु महिला अधिकारीलाई समेत दुर्व्यवहार गर्ने गरेको भटिएको अनुसनधान समितिका अधिकृतहरु बताउँछन्।

असोज १५, २०८० सोमबार ११:३४:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।