एमाले प्रदेश अधिवेशन : गण्डकी अधिवेशन आजदेखि, कोशी र कर्णालीमा मतगणना शुरु हुँदै

एमाले प्रदेश अधिवेशन : गण्डकी अधिवेशन आजदेखि, कोशी र कर्णालीमा मतगणना शुरु हुँदै

काठमाडौं : एमालेको गण्डकी प्रदेश अधिवेशन आजदेखि शुरु हुँदैछ। अधिवेशनकाे पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्दैछन्।

कास्कीको पोखरास्थित अमरसिंह चोकमा हुने अधिवेशन शुरु हुनुभन्दा अगाडि र्याली  निकाल्ने तयारी छ। 

गण्डकी प्रदेश अधिवेशनमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षबीच प्रतिस्पर्धा हुने देखिएको छ। अधिवेशनका लागि नौ सय सात जना प्रतिनिधि छनोट भएका छन्। 

यस्तै, एमाले कोशी प्रदेशको अधिवेशनमा मतगणना सोमबार दिउँसोदेखि शुरु गर्ने तयारी छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार नौ सय ९७ प्रतिनिधिमध्ये नौ सय ७७ जनाले मतदान गरेका छन्। अधिवेशनले २१५ सदस्यीय कमिटी चयन गर्नेछ।

प्रदेश अध्यक्षका लागि विनोद ढकाल र घनश्याम खतिवडाबीच प्रतिस्पर्धा छ। सचिवमा शैलेश लामा र राजकुमार भण्डारी तथा उपसचिवमा खेम नेपाली, देवान राई र जलवर्षा राजवंशीले उम्मेदवारी दिएका छन्। उपाध्यक्षमा टीकाराम चेम्जोङसहित ४९ सदस्य भने निर्विरोध भएका छन्। 

यसैगरि, कर्णाली प्रदेश अधिवेशन अन्तर्गत हिजो भएको मतदानको मतगणना पनि आज हुँदैछ। नयाँ नेतृत्वका लागि भएको मतदानमा ६ सय ९ मत खसेको छ। 

६ सय १६ प्रतिनिधिमध्ये ६ सय ९ जना मतदानमा सहभागी भएका हुन्। अध्यक्षमा कालीकोटका मीनबहादुर शाही, सल्यानका गुलावजंग शाह र कालीकोटका प्रकाश रोकायाबीच प्रतिस्पर्धा छ।

असोज १५, २०८० सोमबार ११:०९:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।