रुपन्देहीमा विद्युत प्राधिकरणको ट्रंक लाइन बक्यौता विवाद पुनः ब्यूँतियो, उद्योगीहरू त्रसित

रुपन्देहीमा विद्युत प्राधिकरणको ट्रंक लाइन बक्यौता विवाद पुनः ब्यूँतियो, उद्योगीहरू त्रसित

बुटवल : बुटवल–भैरहवा औद्योगिक करिडोरका उद्योगीहरूलाई नेपाल विद्युत प्राधिकरणले ट्रंक लाइन बिलिङ बापतको रकम तिर्न ताकेता गरेपछि उद्योगीहरू पुनः त्रसित बनेका छन्। 

विद्युत प्राधिकरणले औद्योगिक करिडोरमा रहेका उद्योगहरूलाई असोज मसान्त भित्रै ट्रंक लाइनको विद्युत बक्यौता रकम तिर्न भन्दै सूचना जारी गरेपछि उद्योगीहरूले त्रसित र निराश बनेको बताएका छन्।

बुटवल भैरहवा औद्योगिक करिडोरमा सञ्चालित २३ उद्योगहरूलाई २०७२ साल देखि २०७६ सम्म ४ वर्षको ट्रंक लाइन विद्युत महसुल बुझाउन नेपाल विद्युत प्राधिकरणले सूचना निकाली ताकेता गरेको छ। उद्योगीहरूले प्राधिकरणको ताकेतालाई एकलौटी, अव्यवहारिक र अन्यायपूर्ण समेत भनेका छन्।

रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले २०७२ देखि २०७६ मंसिरसम्म ट्रंक लाइन खपत गरेको भनी २०७६ फागुनमा आएर सो अवधिको बिल दरमा ६६ प्रतिशत बृद्धि गरी थप महसुल भुक्तानी गर्न ताकेता दिएपछि यस विषयको मुद्दा समेत अहिले विचाराधीन अवस्थामा रहँदा प्राधिकरणले ताकेता गर्दा उद्योगी त्रसित भएको बताए।

‘महसुल भुक्तानी गर्न ताकेता भएपछि यो समस्या समाधान गर्न नेपाल सरकारले विद्युत नियमन आयोगलाई पनि विवाद निवारणका लागि निर्देशन दिएको छ। हालसम्म निर्णय विचाराधीन छ। तर यो अवस्थामा पुनः उद्योगी त्रसित हुने गरी ताकेता गरेपछि उद्योगीको ध्यानाकर्षण भएको हो,’ उनले भने।

२३ उद्योगहरूले विद्युत प्राधिकरणलाई २०७२ देखि २०७६ सालको छुट बिलबापतको भुक्तानी गर्नुपर्ने रकम ४० करोड रुपैयाँ छ।

विद्युत प्राधिकरणको भैरहवा वितरण केन्द्र, नयाँ मिल वितरण केन्द्र र बुटवल केन्द्रले ०८०/०५/१७ मा बक्यौता महसुल बुझाउने विषयमा उद्योगीलाई पत्र जारी गरेको थियो।

सो पत्रमा बक्यौता रकम तथा सो उपरको जरिवाना २०८० भदौ मसान्त भित्र (पछि एक महिना थपी असोज भित्र) नबुझाए नियम अनुसार कारबाही गर्ने बताएपछि उद्योगीहरू आत्तिएका हुन्।

२०७२ भाद्रदेखि २०७६ मंसिरसम्म ट्रंक लाइन खपत गरेको भन्दै रकम बुझाउन पत्राचार गरे पनि उद्योगीहरूले आफूहरूको पूर्वसहमति र जानकारीबिना नै ट्रंक लाइनमा लगिएको भन्दै बक्यौता नतिर्ने बताउँदै आएका छन्।  

आफूहरूले ट्रंक लाइन माग पनि नगरेको र प्रयोग पनि नगरेको अवस्थामा प्राधिकरणले महँगो महसुल असुल्ने नियतले जबर्जस्ती ट्रंक लाइनको बिलिङ गर्नु आफूहरूमाथि अत्याचार भएको अध्यक्ष पौडेलले बताए।

रुपन्देही उद्योग संघका निवर्तमान अध्यक्ष बाबुराम बोहोराले डेडिकेटेड र ट्रंक लाइन जडानसम्बन्धी प्राधिकरणले बनाएको विनियमावली मापदण्डभन्दा बाहिर गएर प्राधिकरणले महसुल निर्धारण गरेको बताए।

निवेदन दिएर ट्रंक लाइन जडान गरेमा ६ घण्टाभन्दा बढी लोडसेडिङ भएको अवस्थामा दैनिक २० घण्टाभन्दा बढी विद्युत उपभोग गरे मात्रै उक्त महसुल तिर्नुपर्ने विनियमावलीमा उल्लेख भए पनि प्राधिकरण आफैंले जबर्जस्ती ट्रंक लाइन घोषणा गरेर बक्यौता तिराउन खोजेको बोहोराले उल्लेख गरे।

‘बजारमा आर्थिक मन्दी छ। यो अवस्थामा जसोतसो उद्योग चलाएका उद्योगीहरू अहिले पुनः प्राधिकरणले महसुल भुक्तानीका लागि ताकेता गरेपछि त्रसित भएका छन्। यसले औद्योगिक विकास र आर्थिक उन्नतीमा अवरोध खडा हुने देखिन्छ,’ उनले भने। 

बोहोराले ट्रंक लाइन जडान गरिएको भनिएको अवधिमा पनि विद्युत प्राधिकरणले पटक-पटक प्रकाशित गरेको औद्योगिक ग्राहक लोडसेडिङ तालिका अनुरूप नै उद्योगीहरूले चरम लोडसेडिङ खेप्दै आएको बताए।

यो विवाद उच्च अदालत बुटवलमा समेत दर्ता भइ हाल अदालतमा विचाराधीन अवस्थामा हुँदा बक्यौता रकम असुल उपर गर्न दवाव सिर्जना हुनुले आफूहरूको मुद्दा प्रभावित पार्न खोजिएको उनले बताए।

२०७४ साल चैतमा नेपाल विद्युत प्राधिकरणले आन्तरिक लोड व्यवस्थापन गर्न भन्दै रुपन्देहीका भरौलिया सब-स्टेसनलाई अमवा सब-स्टेसनमा जडान गर्ने क्रममा २३ वटा उद्योगलाई ट्रंक लाइनमा जोडेको थियो। ट्रंक लाइन महसुल सामान्य महसुलभन्दा ६७ प्रतिशत महंगो हुन्छ। 

केही दिनको लागि ट्रंक लाइन जडान भएको जानकारी गराए पनि प्राधिकरणले १९ महिनासम्म पुरानै दर रेटमा बिल पठाएको थियो। 

२०७६ साल मंसिरमा ट्रंक लाइनको बिल आएको थियो। तर उद्योगीले ६७ प्रतिशत घटाएर पुरानै दर रेटमा बिल भुक्तानी गरेका थिए।

बुटवल भैरहवा औद्योगिक करिडोरमा गोयन्का फुड्स, घराना फुड्स, श्याम प्लाष्टिक उद्योग, भलवारी स्वचालीत चामल कारखाना, एस.आर. फुड्स, सिद्धार्थ पेट प्लाष्ट इण्डष्ट्रिज, पञ्चकन्या प्लास्टिक इण्डष्ट्रिज, पञ्चकन्या स्टिल, सोना प्याकेजिङ, एसआर स्टिल, नवनेपाल प्लास्टिक इण्डष्ट्रिज, शुभलक्ष्मी पोलिमर्स, नेसनल रबर इण्डष्ट्रिज, जयदुर्गा प्लास्टिक, सोना पोलिमर्स इण्डष्ट्रिज, यशोदा फुड प्रालि, प्रिया प्याकेजिङ, एजी हेल्थ उद्योग, एभरेस्ट रोलिङ, लुम्बिनी फ्लोर मिल, फेरो स्टिल प्रालि, लुम्बिनी पिएससी इण्डष्ट्रिज र जीबी टेक्सटाइल रहेका छन्।  

नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रले भने दुई सब–स्टेशनको बीचमा पर्ने उद्योगलाई ट्रंक लाइनमा बिलिङ गर्ने व्यवस्था अनुसार नै बिलिङ भएको बताएको छ। 

असोज १५, २०८० सोमबार ०८:१२:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।