वायुसेवा निगम सुधार्ने प्रतिवेदनको सुझाव : सोल्टीको चार अर्बको सेयर बेचेर नयाँ जहाज किन्ने , कार्यकारी प्रमुख खुल्ला प्रतिष्पर्धाबाट छान्ने

वायुसेवा निगम सुधार्ने प्रतिवेदनको सुझाव : सोल्टीको चार अर्बको सेयर बेचेर नयाँ जहाज किन्ने , कार्यकारी प्रमुख खुल्ला प्रतिष्पर्धाबाट छान्ने

काठमाडौँ : पर्यटन, नागरिक उड्डयन तथा संस्कृति मन्त्रालयले गठन गरेको ‘नेपाल वायुसेवा निगम संरचनागत एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समिति’ ले जहाज थप्न सुझाव दिएको छ।

आइतबार बुझाएको अध्ययन  प्रतिवेदनमा निगमलाई फाइदामा लैजान  नयाँ जहाज थपेर व्यावसायिक ढङ्गले अघि बढ्नु पर्ने सुझाव दिइएको समितिका एक सदस्य  टिकाराम राईले जानकारी दिए।

‘सरकारले निगम चलाउने नै भएपछि रकम थपिदिएर जहाज किन्दा हुन्छ,’उनले भने, ‘निगम नाफामा जान पनि यो आवश्यक देखिन्छ। त्यस्तै हामीले कसरी निगमलाई संरचनागत रूपमा सुधार गर्न सकिन्छ भनेर सुझाव दिएका छौँ।’  

निगमको ऋण भार र पुँजी अभावमा थला पर्ने अवस्थामा पुगेको भन्दै वर्तमान स्थितिलाई सुधार गर्न  मन्त्रीस्तरीय निर्णयबाट पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री संयोजक भएको पाँच सदस्यीय समिति गठन भएको थियो।  

समितिलाई आठ वटा क्षेत्रमा अध्ययन गरेर प्रतिवेदन पेस गर्न भनिएको थियो जसमा व्यवस्थापन र संरचनागत सुधार प्रमुख थियो। 

समितिले व्यवस्थापन सुधार अन्तर्गत मुख्यरुपमा पुँजी, ऋण अनुपात अवस्था, सञ्चालनमा रहेका विमान, भूमिस्थ सेवा, ऋण उठाउने, बजार व्यवस्थापन, मानव संसाधन आदिबारे अध्ययन गरेको थियो भने  संरचनागत सुधारमा मुख्य रूपमा निगमको विभाजन, कार्यकारी प्रमुखको नियुक्ति, थप विभाग, नियामक निकायसँगको सम्बन्ध र ऐनमा संशोधन आदिको अध्ययन गरी प्रतिवेदन बुझाएको छ । 

सरकारको स्वामित्व भएका वाणिज्य बैङ्कहरू नेपाल सरकारले थप पुँजी लगानी गरेपछि ती बैङ्कहरूको स्थितिमा सुधार भएको भन्दै पुजी बढाउन सिफारिस गरिएको छ।

'२०१५ सालमा निगमको स्थापना ३८ लाख लगानीबाट भएको थियो। आर्थिक वर्ष २०७८/०७९ सम्म आइपुग्दा निगमको ऋणात्मक पुँजी  ४ अर्ब ९० करोड छ' प्रतिवेदनमा भनिएको छ'  नेपाल सरकारको पूर्ण स्वामित्व भएको निगममा थप पुँजी लगानी गरी निगमलाई प्रतिस्पर्धीहरुबीच प्रतिस्पर्धी लाभ अवस्थामा पुर्याउनु पर्ने देखिन्छ।'

प्रतिवेदनमा निगमको सञ्चित कुल ऋण ४८ अर्ब ३ करोड रहेको र निगमले कुल ऋणको करिब १० प्रतिशत भन्दा बढीको दरले ब्याज खेपिरहेको छ।यो ऋणभारलाई घटाउन निगमले व्यापार वृद्धि गरी ऋणभार घटाउने र सहुलियत ब्याजदरको ऋण प्राप्त गर्ने उपायको खोजी गर्नुपर्ने सुझाव उल्लेख छ।

प्रतिवेदनमा निगमको सोल्टी होटेल लिमिटेडमा रहेको १ करोड ३ लाख ३३ हजार ६ सय ९९  कित्ता सेयर रहेको र सो विक्री गरेर भए पनि पुँजी बढाउन सुझाव दिएको छ । २०८० भदौ १९ को बजार मूल्य अनुसार उक्त शेयर प्रति कित्ता ४४३ भएको  र कूल बजार मूल्य ४ अर्ब ५७ करोड ७८ लाख पुगेको भन्दै प्रतिवेदनमा सोल्टी होटेल लिमिटेडको  शेयर बिक्री गरेर प्राप्त हुने रकम नयाँ जहाज खरिद गर्न उपयोग गर्न सकिने सुझाव दिएको छ।

निगमको लेखा प्रणाली यर्थाथ ढङ्गले नराख्दा ११ करोड २० लाखको खर्च अमान्य भएको र ढिला शुल्क बापत  एक करोड ५५ लाख कर थप हुन गएको  उल्लेख गर्दै प्रतिवेदनमा करको थप भार निगमलाई पर्न नदिन कर फर्छ्यौट जस्ता महत्त्वपूर्ण कार्यहरू समयमै गर्न र यथार्थपरक ढङ्गले लेखा प्रणाली राख्न सुझाव समेत दिएको छ।

निगमले आर्थिक वर्ष २०७८/०७९ मा २ अर्ब १९ करोड रकम उठाउनुपर्ने देखिएको र यसको प्रत्यक्ष प्रतिकूल असर निगमको नगद प्रवाहमा परिरहेको भन्दै उठाउनुपर्ने रकम उठेमा नयाँ विमान खरिदमा सहयोग पुग्ने भन्दै बाँकी रकम उठाउन समेत सुझाव दिएको छ।

प्रतिवेदनमा मानव संसाधन क्षेत्रमा जनशक्ति टिकाउ, विशेषज्ञ जनशक्ति भित्राउन र दीर्घकालीन दायित्व घटाउन आउट सोर्सिङ्गमा जनशक्ति उपयोग गर्ने रणनीति बनाउन भनिएको छ।

नेपाल वायुसेवा निगम ऐन अनुसार निगमको अध्यक्ष नेपाल सरकार (मन्त्रीपरिषद्) बाट नियुक्त हुने प्रावधान हटाएर मन्त्रालयका सचिवलाई पदेन अध्यक्ष बनाउनुपर्ने र प्रमुख कार्यकारी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष संयोजक भएको समितिले निर्धारित गरेको छनौट विधि अनुसार खुला प्रतिस्पर्धाबाट गर्न सुझाव दिएको छ।

प्रतिवेदनमा निगमलाई कम्पनीको मोडलमा लगेर रणनीतिक साझेदार सहित कम्पनी सञ्चालन गर्ने तथा कम्पनीलाई होल्डिङ अन्तर्गत (क) अन्तर्राष्ट्रिय सेवा प्रदान गर्ने सहायक कम्पनी (ख) आन्तरिक हवाई उडान सेवा गर्ने सहायक कम्पनी र मूल कम्पनीले भूमिस्थ सेवा, उड्डयन सम्बन्धी तालिम, क्याटरिङ, विमान लगायत उपकरण मर्मत सम्भार आदि काम गर्ने र सहायक कम्पनीहरूलाई आवश्यक प्राविधिक काममा सघाउने  विकल्पबारे समेत सुझाव दिएको छ।

असोज १४, २०८० आइतबार १९:५०:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।