पशुपतिको सुनको जलहरीमा एक किलो सुन हिनामिना भएको अख्तियारको दाबी, सदस्य सचिवसहित तीन जनाविरुद्ध मुद्दा दर्ता

पशुपतिको सुनको जलहरीमा एक किलो सुन हिनामिना भएको अख्तियारको दाबी, सदस्य सचिवसहित तीन जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौँ : पशुपति मन्दिरको शिवलिंगमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले आइतबार दायर गरेको अभियोग पत्रमा कोषका तत्कालीन सदस्य सचिव  डा प्रदीप ढकाल, तत्कालीन कोषाध्यक्ष तथा वर्तमान सदस्य सचिव डा मिलन कुमार थापा र विसेट नाइके अरुणकुमार श्रेष्ठलाई प्रतिवादी बनाइएको छ।

सुनको जलहरी निर्माण गरेर जडान गर्दा एक किलो चार सय एकान्नब्बे ग्राम सुन हिनामिना गरेको दाबी गर्दै अभियोग पत्रमा एक करोड १७ लाख बिगो कायम गरिएको छ।

सार्वजनिक पदको जिम्मेवारीमा रहेका थापालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजायको मागदावी समेत लिइएको छ। दुवै थापामाथि नेपाल राष्ट्र बैङ्कबाट किनेको सुन भन्दा कम परिणामको जलहरी बनाएर जडान गरेको अभियोग लगाइएको छ।

डा प्रदीप थापाको हकमा मुचुल्कामा ९६ किलो ८२२ ग्राम भएको सुनको जलहरीलाई श्री पशुपतिनाथको मन्दिरमा अपर्ण गरियो भनी मुचुल्का टुग्याईसकिएको अवस्थामा रिङसमेत जलहरीमा नलगाइएको अवस्थामा सोही मुचुल्कामा साथै बाँकी रहेको सुनको टुक्राहरू रिँग बनाई जलहरीमा लगाइयो भनी वाक्यांश थप गर्न डा ढकालले लगाएको भनी कोषका सह सहायक वासुदेव रिमालले खुलाएको उल्लेख छ।

तत्कालीन कोषाध्यक्ष थापामाथि अख्तियारले सम्बन्धित आधिकारिक ज्ञान भएको विज्ञ व्यक्तिसँग मात्र जलहरी निर्माणको कार्य अगाडि बढाउनुपर्नेमा सो नगरी सुन सम्बन्धी काम गर्न सक्ने सम्बन्धित निकायबाट इजाजत नलिइएको अनधिकृत व्यक्तिमार्फत कालिगडको रूपमा काममा लगाई सुनको जलहरी निर्माण गरेको, आरोप छ।

अभियोग पत्रमा मुचुल्का नगरी अनधिकृत रूपमा रुद्रगाडेश्वरस्थित सेफबाट सुन बाहिर निकाली प्रयोगमा ल्याएको, सुनको हिनामिना गर्ने नियतका साथ मिश्रणमा सुनको मात्रा घटाई चाँदी र तामाको मात्रा बढाएको, सुनको जलहरी निर्माणका कार्य टोली सदस्यहरूलाई जानकारी नै नदिई कोषका तत्कालीन कोषाध्यक्ष डा मिलन कुमार थापा, बिशेट नाइके अरुण कुमार श्रेष्ठसमेत भई रिँग बनाउन भनी मुचुल्कासमेत नगरी अनधिकृत रूपमा रुद्रगाडेश्वर ज्यासलमा सेफभित्र रहेको सुन बाहिर निकाली सिल्भर रोलिङ्ग सर्भिसमा लगी रिँग र पेच किला बनाएको उल्लेख छ।

कार्यटोलीका अन्य सदस्यहरूलाई सूचना तथा जानकारी समेत नदिई बिना मुचुल्का रिँग तौलसमेत नगरी जलहरीमा राखेको अख्तियारको दाबी छ। 

विशेट नाइके श्रेष्ठको हकमा कोषको सम्पत्ति संरक्षण गर्ने जिम्मेवार व्यक्ति रहेको र पशुपतिनाथ मन्दिरभित्र सुनको जलहरी निर्माणका क्रममा नेपाल राष्ट्र बैङ्कबाट खरिद गरिएको सुन लगायत सोही कार्यमा अन्य दाताहरूबाट प्राप्त सुन, चाँदी, तामासमेतको अभिलेख गरी पार्दशीरुपमा दुरुस्त राख्ने पर्नेमा नराखेको अख्तियारको दाबी छ।

सुनको जलहरी निर्माणका क्रममा रुद्रगाडेश्वरमा बाँकी रहेको सुनसमेत २०७७ फागुन २० गते डा मिलन कुमार थापाको मिलेमतो योजनामा रिँग बनाउने भनेर कोषको आधिकारिक निर्णय तथा मुचुल्का बेगर के कति परिमाणको सुन रिँग बनाउन लगिएको र कति परिमाणको सुनको रिँग बनाइयो, के कति परिमाणको सुन बाँकी रह्यो भन्ने नखुलाई गैर जिम्मेवारी तवरले कार्य गरेको अख्तियारको दाबी छ।

श्रेष्ठ कोषले जिम्मा दिएको सम्पत्ति सुरक्षित साथ राख्ने र कोषलाई आवश्यक परेको अवस्थामा दाखिला गराउने गरी जिम्मा लिई कार्यरत रहेको र सुनको जलहरी निर्माणका क्रममा निर्माण स्थलको बिहान तथा दिउँसोको दुवै सिफ्टको कार्य टोलीमा खटिइएको जिम्मेवार व्यक्ति भएको भन्दै उनलाई प्रतिवादी बनाइएको हो।

उनीमाथि कोषका जिम्मेवार सदस्य तथा कार्य टोलीका सदस्यहरूलाई समेत तत्कालै जानकारी नदिई बिना नापतौल तथा मुचुल्का गैर जिम्मेवारी तवरले आफ्नो जिम्मामा रुद्रगाडेश्वर ज्यासलस्थित सेफमा बाँकी रहेको सुन रिँग बनाउने भनी कोषका तत्कालीन कोषाध्यक्ष डा मिलन कुमार थापाले निर्देशन दिँदा कुनै प्रतिवाद नगरी सुन उपलब्ध गराएको एवं सुनको जलहरी निर्माणमा प्रयोग भएको सुन, निर्माणका क्रममा बाँकी रहेको सुनसमेत के कति थियो भन्ने विषयमा तत्काल तौल तथा मुचुल्कासमेत पारदर्शी रूपमा व्यवस्थित नगरी बदनियत, लापरबाही तरिकाले आफूलाई दिएको जिम्मेवारीलाई बेवास्ता गरेको आरोप लगाएको छ।

असोज १४, २०८० आइतबार १६:३८:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।