सबिन र प्रियंकाको ‘बालापन’ हेरे मन्त्री किराँतीले

सबिन र प्रियंकाको ‘बालापन’ हेरे मन्त्री किराँतीले

काठमाडौं : सामाजिक कथावस्तुमा आधारित चलचित्र ‘बालापन’को काठमाडौंमा भव्य प्रिमियर गरिएको छ। 

शिव आरजीको निर्देशनमा तयार भएको  उक्त फिल्मको चाबहिलस्थित चलचित्र विकास बोर्डको सभा हलमा संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँती प्रमुख अतिथ्यतामा प्रिमियर गरिएको हो। 

फिल्म हेरेपछि मन्त्री किराँतीले नेपाली समाजको वास्तविक कथावस्तु समेटिएको भन्दै फिल्मको खुलेर प्रसंशा गरे।

उनले मुलुकको आर्थिक विकासका लागि चलचित्र क्षेत्र मेरुदण्ड रहेको समेत उल्लेख गरे चलचित्र क्षेत्र उकास्नका लागि सरकारले काम गरिरहेको उनको भनाई थियो। 

समारोहमा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले फिल्ममा जस्तोसुकै विषय उठान गरे पनि अहिलेको अवस्थामा व्यावसायिक सफलताको खाँचो रहेको बताए। 

त्यसका लागि सबै पक्ष एकजुट हुनुपर्ने उनको जोड थियो। उनले रिलिज भएका फिल्मलाई शुभकामना दिनुभन्दा पनि फिल्म भित्र चाहिने हरेक कुरा हुनुपर्ने बताए। 

उनले भने, ‘फिल्म क्षेत्रमा नयाँ मान्छे आएनन् भने फिल्म क्षेत्र चलायमान हुँदैन।’ फिल्मका बारेमा बोल्दै निर्माता मिलन राईले यो फिल्म विशुद्ध समाजसेवा, दिनदुखी, असहाय, अनाथ बालबालिकाको सहयोगार्थ निर्माण गरिएको बताए। 

उनका अनुसार यो फिल्मलाई नेपालका विभिन्न जिल्लासँगै अमेरिका, क्यानडा, अष्ट्रेलिया, यूके, हङकङ, युएईलगायतका देशहरुमा समेत प्रिमियर गर्ने तयारी रहेका उल्लेख गरे।

फिल्ममा सबिन श्रेष्ठ, प्रियंका कार्की, धिरेन शाक्य, सोनी बिसी, सुनील थापा, राजेन्द्रकुमार थापा, रेस फिरिरि, प्रभुराम कार्की, तिलबहादुर कार्की, हट मिलन राई र बाल कलाकारद्वय रितेश दुवाडी तथा आरोही कार्की लगायतका कलाकारको अभिनय देख्न सकिन्छ।

एन्जिलेना फिल्मस् प्रोडक्सन प्रालिको प्रस्तुतिमा निर्माण भएको फिल्ममा प्रभुराम कार्की र हट मिलन राई निर्माता तथा इन्दिरा थापा र कला राई सह–निर्माता छन्। फिल्ममा रामकृष्ण खरेलको छायांकन छ।

असोज १४, २०८० आइतबार १५:३८:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।