सुन तस्करी प्रकरणको छानबिन आयोग गठन आजै गर्न नेताहरू सकारात्मक

सुन तस्करी प्रकरणको छानबिन आयोग गठन आजै गर्न नेताहरू सकारात्मक

काठमाडौं : सुन तस्कारी प्रकरणमा छानबिन गर्न आजै उच्चस्तरीय छानबिन आयोग गठन गर्ने संकेत देखिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच यस विषयमा भएको छलफल सकारात्मक भएको बताइएको छ। 

गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट बाहिरिने क्रममा सिनामङ्गलमा करिब ६१ किलो सुन बरामद भएको थियो ।

आज हुने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने र बैठक अगावै आयोगको घोषणा गर्ने सहमतिको तयारी भएको बताइएको छ।  

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सहभागी एमालेका सचेतक महेश बर्तौलाका अनुसार छलफल सकारात्मक भएको र आयोगको कार्यादेशमा नेहाहरू सहमतिको नजिक पुगेका छन्।

सत्तापक्ष र प्रतिपक्षबीच आयोग गठन गर्ने सहमति भए पनि सोको कार्यादेश र कार्यक्षेत्रबाट सहमति जुट्न बाँकी थियो।

आयोग गठन नभए एमालेले आजको प्रतिनिधिसभा बैठक अवरोध गर्ने चेतावनी दिएपछि सरकारले छलफल तीव्र बनाएको हो।

असोज १४, २०८० आइतबार ११:५३:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।