माल्दिभ्सलाई १३८ रनले हराउँदै नेपाल क्वाटरफाइनलमा, अभिनाशले लिए ६ विकेट

माल्दिभ्सलाई १३८ रनले हराउँदै नेपाल क्वाटरफाइनलमा, अभिनाशले लिए ६ विकेट
फाइल फोटो

काठमाडौं : नेपालले चीनमा जारी एसियाली खेलकुदको क्रिकेटमा लगातार दोस्रो जितसँगै क्वाटरफाइनलमा प्रवेश गरेको छ।

अभिनाश बोहोरा एक्लैले ६ विकेट लिएपछि दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई १३८ रनले हरायो। अभिनाशले एकै खेलमा दुई पटक एकै ओभरमा ३/३ विकेट लिएका थिए।

नेपालले दिएको २१३ रनको विशाल लक्ष्य पच्छ्याएको माल्दिभ्स १९.४ ओभरमा मात्र ७४ रनमा अलआउट भयो।

अभिनाशले छैठौं ओभरको तेस्रो, चौथो र छैठौं बलमा विकेट लिएका थिए। यसपछि अन्तिम ओभरको पहिलो, दोस्रो र चौथो बलमा पनि विकेट झारे।

६ विकेट लिने क्रममा उनले ३.४ ओभरमा मात्र ११ रन खर्चिएका थिए। यसअघि सोमपाल कामीले पहिलो ओभरको चौथो बलमै माल्दिभ्सका ओपनरलाई बोल्ड गरेका थिए।

नेपालको धारिलो बलिङ सामु माल्दिभ्सको ब्याटिङ संकटमा परेको थियो। जहाँ कुशल भुर्तेल, गुल्सन झा र सन्दीप लामिछानेले एक/एक विकेट लिएका थिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१२ रन बनाएको थियो।

खेलमा नेपालको सुरुवात भने निकै खराब भयो। कुनैबेला ९.३ ओभरमा मात्र ६७ रन जोड्ने क्रममा नेपालले ४ विकेट गुमाइसकेको थियो।

तर १० ओभरसम्म मात्र ७० रन जोडेको नेपालले यसपछि खेलमा सानदार कमब्याक गर्यो।

नेपालले सातौं ओभरमा ५४ जोड्ने क्रममा दुवै ओपनरलाई गुमाएको थियो। जहाँ ओपनर आसिफ शेख ८ बलमा १ चौकासहित ६ रनमा आउट भएका थिए भने कुशल भुर्तेल १८ बलमा ५ चौका र १ छक्कासहित ३५ रनमा आउट भए। 

यसपछि आएका विनोद भण्डारी १४ बलमा १३ रन जोड्दै आउट भए। लगत्तै सन्दीप जोरा पनि ८ रनमा आउट भएपछि नेपालको इनिङ धरापमा पर्यो।

तर यसपछि कप्तान रोहित कुमार पौडेल र गुल्सन झाले आक्रामक पारी खेल्दै नेपालको इनिङलाई उकासे। यी दुईले पाँचौं विकेटका लागि मात्र ५.३ ओभरमा ७० रनको साझेदारी गरे।

२१ बलमा ३७ रन जोड्दै गुलसन आउट हुँदा १५ ओभरमा नेपालको स्कोर १३७ रन थियो।

कप्तान रोहितले अर्धसतकीय इनिङ खेले। उनले मात्र २७ बलमा तीन चौका र तीन छक्काको सहयोगमा ५२ रनको योगदान दिए। यसपछि कुशल मल्लले विष्फोटक ब्याटिङ गर्दै मात्र २० बलमा तीन चौका र तीन छक्कासहित ४७ रन जोडेका थिए।

नेपालले समूह एको पहिलो खेलमा मंगोलियालाई २ सय ७३ रनको फराकिलो अन्तरले हराएको थियो। अब नेपालले सेमिफाइनलमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका वा अफगानिस्तान मध्ये एक टिमसँग खेल्नेछ।

असोज १४, २०८० आइतबार १०:१२:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।