अन्तिम १० ओभरमा नेपालको १४२ रन, माल्दिभ्सलाई २१३ रनको विशाल लक्ष्य
काठमाडौं : नेपालले चीनमा जारी एसियाली खेलकुदको क्रिकेटमा माल्दिभ्सलाई जितका लागि २१३ रनको विशाल लक्ष्य दिएको छ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१२ रन बनायो।
खेलमा नेपालको सुरुवात भने निकै खराब भयो। कुनैबेला ९.३ ओभरमा मात्र ६७ रन जोड्ने क्रममा नेपालले ४ विकेट गुमाइसकेको थियो।
तर १० ओभरसम्म मात्र ७० रन जोडेको नेपालले यसपछि खेलमा सानदार कमब्याक गर्यो।
नेपालले सातौं ओभरमा ५४ जोड्ने क्रममा दुवै ओपनरलाई गुमाएको थियो। जहाँ ओपनर आसिफ शेख ८ बलमा १ चौकासहित ६ रनमा आउट भएका थिए भने कुशल भुर्तेल १८ बलमा ५ चौका र १ छक्कासहित ३५ रनमा आउट भए।
यसपछि आएका विनोद भण्डारी १४ बलमा १३ रन जोड्दै आउट भए। लगत्तै सन्दीप जोरा पनि ८ रनमा आउट भएपछि नेपालको इनिङ धरापमा पर्यो।
तर यसपछि कप्तान रोहित कुमार पौडेल र गुल्सन झाले आक्रामक पारी खेल्दै नेपालको इनिङलाई उकासे। यी दुईले पाँचौं विकेटका लागि मात्र ५.३ ओभरमा ७० रनको साझेदारी गरे।
२१ बलमा ३७ रन जोड्दै गुलसन आउट हुँदा १५ ओभरमा नेपालको स्कोर १३७ रन थियो।
कप्तान रोहितले अर्धसतकीय इनिङ खेले। उनले मात्र २७ बलमा तीन चौका र तीन छक्काको सहयोगमा ५२ रनको योगदान दिए। यसपछि कुशल मल्लले विष्फोटक ब्याटिङ गर्दै मात्र २० बलमा तीन चौका र तीन छक्कासहित ४७ रन जोडेका थिए।
नेपालले पहिलो खेलमा मंगोलियालाई २ सय ७३ रनको फराकिलो अन्तरले हराएको थियो। जहाँ नेपालले मंगोलियाविरुद्ध ११ विश्व कीर्तिमान बनाएको थियो।
असोज १४, २०८० आइतबार ०८:३२:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।