चितवनका समर्पण इन्डियाज् बेस्ट डान्सको विजेता, तर कार्यक्रमभर भनियो महाराष्ट्रका

चितवनका समर्पण इन्डियाज् बेस्ट डान्सको विजेता, तर कार्यक्रमभर भनियो महाराष्ट्रका

काठमाडौँ : चितवन टाँडीका समर्पण लामा भारतको चर्चित डान्स रियालिटी शो इन्डियाज् बेस्ट डान्सरको विजेता बनेका छन्। शनिवारको फाइनलमा उनले सो प्रतियोगिता जितेसँगै १५ लाख भारतीय रुपैयाँ पुरस्कार पाए।

प्रतियोगितामा छानिएपछि उनी चितवनबाट काठमाडौंहुँदै भारत गएका थिए तर प्रतियोगिताको अवधिभर उनलाई भारत पुणेको रूपमा परिचय दिएकाले कतै उनी नेपाली भाषी भारतीय हुन् कि भन्ने देखिएको थियो।

उनी चितवन टाँडिका हुन्। उनको भाइ र आमा यतै छन्। उनको बुबा वैदेशिक रोजगारीकोक्रममा खाडी मुलुकमा छन्।

उनले चितवनस्थित अन्नपूर्ण स्कुलबाट एसइईमा ए प्लस  ल्याएर उत्तीर्ण भएका थिए। जनजागृति कलेजबाट कक्षा १२ विज्ञान विषय उत्तीर्ण गरेका उनी नृत्यमा बढी नै मिहिनेत गर्थे।

त्यही मिहिनेतले उनलाई भारतको चर्चित रियालिटी शोमा पुर्यायो र विजेता पनि बनायो।

नृत्य कौशलमा अब्बल रहेका उनको नृत्य क्षमताबाट भारतीय चर्चित कोरियोग्राफर टेरेन्स र गीता समेत प्रभावित भए। कार्यक्रममा आउने अधिकांश अतिथिहरूको उनी प्रिय बने। कार्यक्रमबाटै भारतमा उनको राम्रो फ्यान फलोइङ बनिसकेको थियो। जसको साथले उनी फाइनलसम्म पुगेनन् मात्र विजेता नै भए।

फाइनलमा उनको परिवारका सदस्यसँगै १८ वर्षदेखि खाडीमा काम गरिरहेका बुबा धिरेन लामा पनि सहभागी थिए।

असोज १४, २०८० आइतबार ०४:००:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।