रोकिएन सुन तस्करी, ब्रेकशुपछि अब सुनको पाउडर

रोकिएन सुन तस्करी, ब्रेकशुपछि अब सुनको पाउडर

काठमाडौँ : सुन तस्करीमा सक्रिय चिनिया र नेपाली समूह नै पक्राउ परेपछि सङ्गठित सुन तस्करीका घटना रोकिएको थियो। तर शुक्रवार एक फलिपिनो नागरिक सुन सहित समातिइन्।

दुई किलो ७ सय २० ग्राम सुनसहित अनालङ अरोन्स समातिएकी हुन्। उनी फ्लाई दुबईको उडान नम्बर एफजेड ५७५ बाट शुक्रवार राति काठमाडौँ आएकी थिइन्।
फिलिपिन्सकी अन्दाजी ३१ वर्षीया अनालङले आफ्नो भित्री वस्त्रमा पाँच पोका प्लास्टिकमा सुनको पाउडर लुकाएर ल्याएकी थिइन्।

सुरक्षा जाँचमा शङ्का लागेपछि अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्डको टोलीले जाँच गर्दा पाउडर फेला पर्यो। परीक्षणमा सो सुन भएको देखियो।

यस अगाडि चिनिया समूहले डिजिटल घडी, ब्रेकशु लगायतको आवरणमा सुन तस्करी गरेका थिए। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानमा सो समूहले साढे तीन सय किलो सुन तस्करी गरेको खुलाएको थियो।

सो समूहका सदस्यबारे जिल्ला अदालत काठमाडौँमा थुनछेक बहस चलिरहेको छ।यो बिचमा केरुङ नाकामा एक किलो सुन सहित एक महिला पक्राउ परेकी थिइन्।

दोलखामा तस्करीको चार किलो सुनसहित तीन जना समातिएका थिए। उनीहरूबाट थप तीन किलो सुन फेला परेको थियो।

असोज १३, २०८० शनिबार २३:१८:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।