विश्वकप : पाकिस्तानी टोलीको खेलभन्दा खानाको चर्चा बढी, के-के छ मेन्यूमा?

विश्वकप : पाकिस्तानी टोलीको खेलभन्दा खानाको चर्चा बढी, के-के छ मेन्यूमा?
THINKSTOCK

एजेन्सी : २७ सेप्टेम्बर साँझ पाकिस्तानी क्रिकेट टोली सात वर्षपछि भारत जाँदा भव्य स्वागत भयो।

उसले आफ्नो पहिलो अभ्यास खेल शुक्रबार न्युजिल्यान्डविरुद्ध हैदरावादमा खेल्यो। तर, नतिजा भने सोचअनुरुप आएन।

पाकिस्तानले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ४५ रन बनाएको थियो जसमा रिजवान अहमदको एक शतक र बाबर आजम र साउद शकीलको अर्धशतक बनाए।

न्युजिल्याण्डले यो लक्ष्य ४४ औं ओभरमा सजिलै पुरा गर्यो। न्यूजिल्याण्डका लागि रोचन रविन्द्र, केन विलियम्सन, डेरिल मिचेल र मार्क च्यापम्यानले अर्धशतक बनाए।

न्युजिल्यान्ड र पाकिस्तानबीचको अभ्यास खेललाई लिएर सामाजिक सञ्जालमा टिका–टिप्पणी भइरहेको भए पनि दुई दिनदेखि पाकिस्तानी टोलीको स्वागत र खानालाई लिएर पनि निकै चर्चा चलेको छ।

पाकिस्तानी क्रिकेट टोलीको ट्विटर ह्यान्डलले पनि यसबारे ट्वीट गर्दै पाकिस्तानी टोलीले भारतमा खानाका लागि के पाउँछ भन्ने बताएको छ।

पाकिस्तानी टिमको मेनुमा के छ?
विश्वकपका लागि भारत आउने कुनै पनि टोलीलाई गाईको मासु दिइएको छैन।

समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई)का अनुसार मेनुमा गाईको मासु छैन। तर, सबै टोलीका लागि विभिन्न प्रकारका मेनु तयार गरिएको छ।

पीटीआईले भनेको छ, ‘पाकिस्तान टोलीले कुखुरा, मटन र माछाबाट आफ्नो दैनिक प्रोटिनको आवश्यकता पूरा गर्नेछ र टोलीका लागि यी वस्तुहरूसहित विविध मेनु तयार गरिएको छ।’

यसमा रसदार ग्रिल गरिएको मासु, स्वादयुक्त मटन करी, बटर चिकेन र आवश्यक प्रोटिन प्राप्त गर्न ग्रिल गरिएको माछा समावेश छ।

पाकिस्तानी टोलीको मेनुमा बासमती चामल पनि समावेश गरिएको पीटीआईको रिपोर्टमा उल्लेख छ। यदि खेलाडीहरू हल्का खाना चाहन्छन् भने, स्पेगेटी र तरकारी पुलाव पनि उपलब्ध गराइनेछ।

यस बाहेक हैदरावादको प्रसिद्ध बिरयानी पनि खेलाडीहरूलाई समय समयमा उपलब्ध हुनेछ।

असोज १३, २०८० शनिबार १९:२७:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।