जनकपुर आर्थिक केन्द्रका रूपमा पुनर्उदय हुँदैछ : अर्थमन्त्री डा. महत
जनकपुर : अर्थमन्त्री डा. प्रकाशशरण महतले मधेश प्रदेशको राजधानी जनकपुर आर्थिक रूपले पुर्नउदय हुँदै गएको बताएका छन्।
शनिबार जनकपुरधाम उद्योग वाणिज्य संघको ५६ औं वार्षिक साधारण सभामालाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने, ‘धार्मिक र सांस्कृतिक केन्द्रको रुपमा परिचित जनकपुर अब आर्थिक केन्द्रको रुपमा विकसित हुँदै गएको आधार देखिन थालेको छ।’
जनकपुरमा धार्मिक पर्यटनको प्रशस्त सम्भावना रहेको औंल्याउँदै उनले केन्द्र, प्रदेश र स्थानीय सरकार मिलेर यसलाई अघि बढाउनुपर्ने बताए।
मधेशमा भौतिक पुर्वाधारमा सरकारले ठूलो लगानी गरेको भन्दै उनले यसले आर्थिक गतिविधिलाई मद्दत पुर्याएको बताए।
जनकपुरधाम उद्योग वाणिज्य संघको नेतृत्व युवा शक्तिले नेतृत्व लिएकोमा मन्त्री डा. महतले खुशी व्यक्त गरे।
‘अहिलेको नेतृत्व केही गरौं भन्ने भावनाले ओतप्रोत हुनुहुन्छ। साथीहरूले थोरै सहज अवस्था भयो भने यहाँ उद्योग व्यवसाय फस्टाउँछ भन्नुभयो, यसले मलाई उत्साहित बनाएको छ।’
अर्थतन्त्रमा समस्या भए पनि विस्तारै न्यून हुने बाटोमा रहेको भन्दै उनले परिणाम आउन केही समय लाग्ने बताए। त्यसका लागि सकरात्मक बहस र आत्मविश्वास बढाउनुपर्नेमा उनले जोड दिए।
अब यहाँ केही हुँदैन, व्यवसाय गर्न सकिँदैन भन्ने भाष्यलाई सामाजिक सञ्जाल र विभिन्न व्यक्तिमार्फत् समाजमा फालिएको मन्त्री डा. महतले बताए।
उनले भने, ‘सरकारले खर्च अनुशासनमा ल्याएको छ, समयमा खर्च गर्ने बाटोमा हामी अगाडि बढिरहेका छौँ। अब देश सकरात्मक बाटोतिर जान्छ। यो भाष्यलाई चिर्नुपर्छ।’
असोज १३, २०८० शनिबार १८:५४:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।