सीता केसीको प्रिय १० सुर : ‘मलाई अमेरिका यहि’ गीत नगाएको भए पलायन भइसकेको हुन्थेँ

सीता केसीको प्रिय १० सुर : ‘मलाई अमेरिका यहि’ गीत नगाएको भए पलायन भइसकेको हुन्थेँ

एक दशकभन्दा लामो समयदेखि नेपाली लोक तथा आधुनिक गीत संगीतमा अनवरत सक्रिय गायिका हुन् सीता केसी। उनले गाएका दर्जनौं गीत स्रोता तथा दर्शकमाझ लोकप्रिय छन्। उनै सीता केसीले आफूलाई आफ्ना प्रिय लाग्ने पाँच र अरुका पाँच गीत छनोट गरेकी छन्।

आफ्ना पाँच
मलाई अमेरिका यहि

यो गीत आउँदा म गीत संगीतमा संघर्ष गरिरहेको थिए। गीत संगीतमा संघर्ष गर्दा केहि नभएपछि विदेशको लागि ट्राइ गरेँ। कोरियन भाषा पनि पढिरहेको समयमा अब अन्तिम गीत निकाल्छु र विदेश लाग्छु भन्ने सोच आयो। यहि सोचेर यो एउटा गीत बनाउन पशुपति शर्मासँग कुरा गरेँ।

दाइ यस्तो खाल्को गीत बनाइदिनु न भनेपछि उहाँले यो गीतको सिर्जना गर्नुभयो। यो गीत रेकर्ड गरेर भिडियोसहित बजारमा आफ्नै लगानीमा ल्याएँ। यो बजारमा आउँदा जताततै चर्चा भयो। यहि गीतले मलाई देशविदेशमा चिनायो। त्यसकारण पनि यो गीत मेरो लागि प्रिय छ।

यदि यो गीत नगाएको भए म पलायन भइसकेको हुन्थेँ होला। मलाई नेपालमा नै बाँधेर राख्न सक्ने गीत भएर पनि यो गीत मेरो लागि एकदमै प्रिय छ। यो गीतमा पशुपति शर्माकै शब्द, संगीत छ भने गायनमा उहाँ र मेरो स्वर छ।

छलछल पानी गाग्रीमा 
यो गीतले पनि दर्शकको मन जितेको गीत हो। रामजी खाँड र मैले गाएको यो गीत दर्शकमाझ उतिकै लोकप्रिय बन्यो। ‘मलाई अमेरिका यहि’पछि सर्वाधिक चलेको गीत हो यो। यहि गीतले मलाई दर्शकमाझ चिनाएको भन्दा फरक पर्दैन।

यस गीतले एउटा प्रेम प्रसंगलाई गीतमार्फत व्यक्त गरेको छ। प्रेममा परेको जोडीमा भेट हुँदा बोल्न लजाउने विषयलाई गीतले समेटेको छ। अर्को कुरा यो गीतको शब्द र लय नै मीठो र सरल छ। गीतको शब्द सिपी मगरको हो भने संगीत रामजी खाँडको छ। यो गीतमा मेरो र रामजीकै स्वर सुन्न सकिन्छ।

पिरतीको डोरी 
फरक फ्यूजनमा बनेको यो गीतमा मेरो आवाज पनि फरक नै सुनिएको छ। यस गीतले प्रेममा डुबेका प्रेमि–प्रेमिकाको कथालाई गीतमा बुनेको हुँदा युवापुस्तामाझ लोकप्रिय बन्यो। मलाई यो गीत सुन्दा अझै बेग्दै आनन्द आउँछ। त्यसकारण पनि यो गीत मेरो लागि प्रिय छ। गीतमा प्रल्हाद सुवेदीको शब्द, बसन्त थापा दाइको लय र स्वर छ।

भाग्यले नि ढाट्यो प्यारा
यस गीतमा हरेक परदेशीको पीडा बोलिएको छ। गरिबीले विदेशमा रहेकाले रगतपसिना गरेर घर परिवारलाई हेर्नुपर्ने बाध्यतालाई गीतका शब्द र भिडियो मार्फत उतारिएको छ। बुढेशकालमा आमाबुबा दमको रोगी हुनु र परदेशमा आफूले कमाएको पैसाले नपुगेको प्रसङ्ग भिडियोमा देखाइएको छ।

यो गीत गाउँदा नै मेरो मनमुटु छुन्छ। स्टेजमा यो गीत गाउँदा खेरि धेरैपटक भक्कानिएको छु। त्यसकारण पनि यो गीत मेरो लागि प्रिय छ। गीतको शब्द भरत रोकाया, संगीत जय देवकोटा तथा स्वर मेरो र जय देवकोटाकै छ।

वारी दरौँ
यो सालैजो गीत हो। यसले हाम्रो गाउँघरमा भएका रितिरिवाज संस्कृतिलाई झल्काएको छ। यो विशेषगरि बाग्लुङ, कास्की आसपासमा गाइने गीत हो। फरक–फरक खाल्का गीतहरू गाउन रुचाउने भएकोले पनि होला, यो गीत खुब मनपर्छ। अझ सालैजो भाकामा गीतहरू गुनगुनाउँदा आफ्नै गाउँतिर छु कि भन्ने लाग्छ। गायनमा राजन कार्कीले साथ दिनुभएको गीतकोख शब्द र लय भने दिनेश गुरुङको हो।

अरुका पाँच गीत 
पोहोर साल खुसी फाट्यो  

मलाई अरुणा लामाका हरेक गीतहरू मन पर्छन्। यसमा पनि अलि विशेष ‘पोहोर साल खुशी फाट्यो’ लाग्छ। किनभने यो गीतका शब्दहरूले जीवनको भोगाइलाई व्यक्त गरेको छ। यो गीतले भोगेका घटनाहरूलाई एउटा सानो मनले सम्हालेको हुन्छ। जब त्यही मन दुख्दा आँखाबाट आँसु झर्छ, मन खुशी हुँदा ओठमा मुस्कान हुन्छ।

गीतका भावहरू पनि एकदमै मनछुने भएकोले बेला–बेला गुनगुनाइरहन्छु। धेरै पटक सुनेर पनि होला यो गीत मनपर्छ। गीतको शब्द र संगीतमा पनि उतिकै मिठास छ। गीतलाई राजेन्द्र थापाले लेख्नुभएको हो भने संगीत अम्बर गुरुङको छ।

उदास मेरो जीवन कथा कसैलाई भनिन
गीत गाउन सिक्दाको समयमा मैले यो गीत खुब गाएको थिएँ। अहिले पनि कहिलेकाहिँ गुनगुनाइरहन्छु। मैले जीवनमा भोगेका उतारचढावहरूमा समेत यो गीतले मेल खाएका छन्। हजारौँ ठक्कर खाँदै जिउने क्रममा कति कुराहरू लुकाएर जिउनुपर्छ भने कति देखाएर।

मेरो आँखाको आँसुले बाहिरी दुनियाँलाई त केही फरक नपर्ला तर बुवाआमालाई भने अवश्य फरक पर्छ। त्यस कारणले धेरै आँशु लुकाएर हाँसेको छु। यस्ता पलहरू हजारौं छन्। कहिलेकाहिँ त यो गीत मैरै लागि बनेको जस्तो पनि लाग्छ। यो गीतलाई अरुणा लामाले नै गाउनुभएको हो भने शब्द भैरवनाथ रिमाल र संगीत नारायण गोपालको छ।

कहाँ हो कहाँ जीवनको किनारा 
यो गीतले हरेक मान्छेको मनमस्तिस्कलाई छुन्छ जस्तो लाग्छ मलाई। यो गीत गहिरिएर सुन्यो भने कता–कता हराएको झैँ लाग्छ। हरेक इच्छा आकांक्षाहरू मर्दै गएपछि मनले एउटा जिउने आधार खोज्न थाल्छ। जीवनका हरेक अमूल्य कुरा गुमाएको बेलामा एउटा प्रेमको ठूलो भूमिका निभाउँछ भन्ने भाव पोखिएको छ गीतमा। यो गीतले मेरो जीवनलाई नै व्याख्या गरेको होकी भन्ने लाग्छ। त्यसकारण पनि यो गीत मलाई प्रिय लाग्छ। गीतलाई सिन्धु मल्लले गाउनुभएको छ।

सोचे जस्तो हुन्न जीवन
यो गीतलाई तारादेवीले गाउनुभएको हो। गीतको शब्द संगीत एकदमै राम्रो लाग्छ। मलाई यस्तै–यस्तै गीतका शब्दहरूले छुन्छ। जहाँ यथार्थ जिन्दगीको भोगाइ उतारचढाव गीतमा समेटिएको हुन्छ। किनभने मानिसको जीवनमा कहिले रुनुपर्छ, कहिले हास्नुपर्छ। एउटा सोच्यो अर्को हुन जान्छ।

जिन्दगीको भागदौडमा पाइला–पाइला दुखाइ हुन्छ। एकपल हाँसोको लागि हजारौं पल रुनुपर्छ यहाँ। यहि भाव बोकेको यो गीतले एउटा मान्छेको पूरा जिन्दगी झल्काएको छ। किनभने मान्छेको सोचे जस्तो जीवन हुँदै हुँदैन। यर्थाथपरक गीत भएकाले पनि मलाई यो गीत धेरै मनपर्छ । गीतमा दिनेश अधिकारीको शब्द र नातिकाजीको संगीत छ।

फर्क मुग्लानी 
यो गीतलाई लोक गायिका शर्मिला गुरुङ दिदीले गाउनुभएको छ। उहाँका हरेक गीतहरू राम्रा छन्। त्यसमध्ये पनि मलाई यो गीत मनपर्छ। यो गीत सुन्दा देशको बिग्रँदो अवस्थाको झल्को पाउँछु। गीतले नेपालको पछिल्लो अवस्थालाई जस्ताको त्यस्तै बोलेको छ। विमानस्थलमा परदेश जानेको लर्को देख्दा यहि गीत झल्झली सम्झन्छु। त्यसकारण पनि यो गीत मनपर्छ। गीतको शब्द संकलन राजकुमार बगरको छ।

असोज १३, २०८० शनिबार १८:२८:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।