धादिङमा बाख्राले बाली खाएपछि खुर्पाले हानेर बाख्राधनीको हत्या!

धादिङमा बाख्राले बाली खाएपछि खुर्पाले हानेर बाख्राधनीको हत्या!

धादिङ : जिल्लाको नेत्रावती गाउँपालिका–४ हल्दारे बस्ने ७२ वर्षीया सुकमाया गुरूङको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३६ वर्षीय मंगल गुरूङलाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको हो।

सुकमाया आफ्नै घरनजिक सडकमा मृत अवस्थामा फेला परेकी थिइन्। जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी टोड्केबाट खटिएको प्रहरीले घटनाको अनुसन्धानको क्रममा मंगलको संलग्नता रहेको खुल्न खाएको प्रहरीले जनाएको छ।

थप सोधपुछको क्रममा पुरानो रिसइवी तथा बाख्राले बाली खाएको विषयलाई लिएर खुर्पा प्रहार गरी हत्या गरेको मंगलले स्वीकार गरेको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

असोज १३, २०८० शनिबार १७:२९:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।