वीरेन्द्रनगरमा​​​​​​​ होस्टेलमै झुण्डिएको अवस्थामा भेटिए ८ वर्षीय बालक, विद्यालयको स्थिति तनावग्रस्त

वीरेन्द्रनगरमा​​​​​​​ होस्टेलमै झुण्डिएको अवस्थामा भेटिए ८ वर्षीय बालक, विद्यालयको स्थिति तनावग्रस्त

सुर्खेत : वीरेन्द्रनगर-६ स्थित उषा बालबाटिका सेकेण्डरी विद्यालयको होस्टेलमा ८ वर्षीय बालक झुण्डिएको अवस्थामा भेटिएका छन्। 

मृत भेटिएका बालक दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका-१ का हुन्। उनी उषा बालबाटिकामा होस्टेल बसेर कक्षा २ मा अध्ययनरत रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता लक्ष्मणबहादुर शाहीले जानकारी दिए।

घटनाको विषयमा अनुसन्धान गरिने प्रवक्ता शाहीले बताए। उनका अनुसार शुक्रवार साँझ झुण्डिएको अवस्थामा फेला परेका बालकको शव अहिलेसम्म आफन्तले उठाउन दिएका छैनन्। 

आफन्तहरूले घटना शंकास्पद रहेको भन्दै लास उठाउन नदिएर विद्यालयमा आन्दोलन गरेका छन्।

आक्रोशित आफन्तहरूले आन्दोलन गरेपछि उक्त क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ। आक्रोशित भीड घटनाको छानबिन गर्नुपर्ने भन्दै तोडफोडमा नै उत्रिएको छ।

भीडलाई साम्य पार्न प्रहरीले अश्रु ग्याँस समेत प्रहार गरेको छ। प्रहरीले संचालक समितिलाई नियन्त्रणमा लिएको छ भने विद्यालयमा अहिले प्रहरी तैनाथ गरिएको छ।

असोज १३, २०८० शनिबार १३:१२:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।