नेपाल र चीनबीचका सबै नाका वैधानिक ढङ्गले खोल्ने सहमति भएको छ : प्रचण्ड

नेपाल र चीनबीचका सबै नाका वैधानिक ढङ्गले खोल्ने सहमति भएको छ : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना महामारी सुरु हुनुभन्दा अगाडि सञ्चालनमा रहेका नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको बताएका छन्।

चीनको औपचारिक भ्रमण पूरा गरी शनिबार स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै परम्परागत ढङ्गले उत्तरी सीमा क्षेत्रमा स्थानीय रुपमा प्रयोग गरेका नाका प्राविधिक र आवश्यक तयारी पूरा गरेर सञ्चालनमा ल्याउन दुई देशबीच सहमति भएको बताए।

केही नाकालाई व्यवस्थित गर्नेबारेमा चीन सरकारले अनुदान उपलब्ध गराउने वचन दिएको पनि उनले जानकारी दिए। ‘वैधानिक ढङ्गले सबै नाका खोल्ने सहमति भएको छ। केही नाका अनुदानमा बनाइदिन्छौं भन्ने सहमति पनि भएको छ,’ उनले भने।

यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन बारेमा पनि महत्वपूर्ण छलफल भएको प्रचण्डले जानकारी दिए।

आन्तरिक रुपमा पनि केही तयारी गर्नुपर्ने देखिएको उल्लेख गर्दै उनले चीनको छन्दुबाट सहजै द्विपक्षीय उडान हुने बताए। चीनका अन्य सहरबाट पनि आवश्यक प्रक्रिया पूरा गरेर हवाई उडानलाई नियमित गर्ने बारेमा छलफल भएको प्रधानमन्त्री दाहालको भनाइ छ।

असोज १३, २०८० शनिबार १३:०१:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।