अमेरिका र चीनको भ्रमण सकेर स्वदेश फर्किए प्रचण्ड

अमेरिका र चीनको भ्रमण सकेर स्वदेश फर्किए प्रचण्ड

काठमाडौं : अमेरिकामा भएको संयुक्त राष्ट्र सङ्घको महासभा र चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री दाहाललाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतले स्वागत गरे।

प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाले विमानस्थलमा स्वागत सलामी अर्पण गरेको थियो। प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधित्व मण्डल आज (शनिबार) चीनको छन्दुबाट नेपाल फर्किएको हो। 

नेपाली टोलीलाई छेन्दुमा सिचुवान प्रान्तका उपगभर्नर याङ चिनफिङ, नेपालका लागि चिनियाँ राजदूत छन् सोङ, बेइजिङ र सिचुवानका विदेश मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूले छेन्दु विमानस्थलमा विदाइ गरेका थिए।

न्युयोर्कमा सम्पन्न संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका गएका प्रचण्ड उताबाट सिधै प्रतिनिधिमण्डल सहित चीनको औपचारिक भ्रमणमा गएका थिए।

असोज १३, २०८० शनिबार १२:२७:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।