प्रतिफल पाइने आशामा ‘आर्थिक मन्दी’ मा पनि लगानी गर्न नडराउनेहरू

प्रतिफल पाइने आशामा ‘आर्थिक मन्दी’ मा पनि लगानी गर्न नडराउनेहरू

बुटवल : ‘आर्थिक मन्दी’ का कारण बजार चलायमान हुन नसकिरहेको बताइरहँदा रुपन्देहीमा भने ठूला लगानीका व्यावसायिक प्रतिष्ठान सञ्चालन हुने क्रम बढेको छ।

रुपन्देहीमा पछिल्लो एक महिना यता अर्बौं रुपैयाँका ठूला व्यावसायीक प्रतिष्ठानहरू सञ्चालनमा आएका छन्। यसले केही मन्द अवस्थामा देखिएको बजारलाई चलायमान गराउने अपेक्षा गरिएको छ।

चाडपर्व समेत नजिकिइरहेका बेला सञ्चालनमा आएका व्यावसायिक प्रतिष्ठानले अझै पनि लगानीको वातावरण तयार रहेको समेत सन्देश दिएका छन्।

घरेलु तथा साना उद्योग कार्यालयमा साना व्यवसाय नवीकरण कम भइरहेको अवस्थामा केही ठूला व्यवसाय सञ्चालनमा आउनुले पनि व्यवसायबाट पलायन हुन खोज्नेहरूका लागि ढाडस दिइरहेको छ।


बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्वल कसजु व्यापारमा आर्थिक मन्दी भए पनि यस्तो अवस्थामा कतिपय व्यवसायले नयाँपन दिएर व्यवसायमा लगानी गरेको बताए। ‘विजनेशमा आइडिया चाहिन्छ। कोही धरासायी हुँदै गर्दा कसैले नयाँपन सहित मौका खोजेको हुन्छ। त्यसैले पनि लगानी भइरहेको छ,’ उनले भने।

कसजुले बजार आर्थिक रुपमा चलायमान हुने आशा गरे पनि भैरहवामा बनेको विमानस्थलबाट पर्यटकलाई नल्याउँदा सम्म यस क्षेत्रले ठूलो आर्थिक फड्को मार्न भने नसक्ने बताए।

‘यहाँ होटल अहिले सुस्त गतिमा छन्। पोखरा, काठमाडौंमा चलायमान छ। हामीले पर्यटकलाई तान्ने योजना नल्याउँदा सम्म अझ गर्व गर्न लायक गरि बजारलाई चलायमान गराउन सकिंदैन,’ कसजुले भने। उनले यो अवस्थामा पनि केही उद्योगी व्यवसायीहरूले लगानी गरेर प्रतिष्ठान सुरु गर्नु सुखद भएको बताए।

रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल आर्थिक मन्दी हुँदा समेत केही ठूला व्यवसाय सञ्चालनमा हुनुले अहिले पनि लगानी गर्ने वातावरण रहेको बुझ्न सकिने बताए।

कोरोनापछि बजारमा आर्थिक मन्दीको असर परेको भन्दै त्यसलाई आत्मसाथ गर्दै बजारको सम्भावना देखेर नयाँ लगानीका व्यवसाय खुल्नु सुखद् रहेको उनको भनाइ छ।

सिमेन्ट उद्योग संकटमा परेपछि मिठाई पसल

अरुण अग्रवाल रुपन्देहीमा रहेको सिद्धार्थ सिमेन्ट उद्योगका सञ्चालक छन्। अहिले सिमेन्ट उद्योग चरम संकटमा छन्। सिमेन्ट उद्योग संकटमा परेपछि हालै मात्र उनले भैरहवामा मिठाई पसल सञ्चालनमा ल्याएका छन्।

आर्थिक मन्दीका कारण उद्योग संकटमा परेपछि भैरहवामा ‘साँवरिया’ मिठाई पसल सञ्चालनमा ल्याएको उनी बताउँछन्। १८ वर्षसम्म सिमेन्ट उद्योगमा रमाएका उनी पछिल्लो समय सिमेन्ट उत्पादन पुरा घाटामा गएपछि नयाँ व्यवसाय स्वरूप मिठाई पसल सञ्चालनमा लागेका हुन्।

५ करोडको लगानीमा सञ्चालनमा आएको एजी फुड प्रोडक्ट्स प्राली अन्तर्गतको साँवरियामा अरुणसँगै कृष्ण प्रसाद शर्मा, आदर्श अग्रवाल, बुटवलका व्यवसायी ज्ञानेन्द्र कार्की र काठमाडौंका गौरव दारुका लगानी रहेको छ।

अर्का सिमेन्ट व्यवसाय श्याम अग्रवालले पनि भैरहवामा ‘दिव्या स्वीट्स’ सञ्चालनमा ल्याएका छन्। सिमेन्टको बजार र माग पनि निकै कटौती भएपछि भैरहवामै २ करोड रूपैयाँ लगानीमा भारतीय पर्यटकलाई लक्षित गरी दिव्या स्वीट्स सञ्चालनमा ल्याएको उनले बताए।

सम्भावना देखेरै लगानी

आर्थिक मन्दीमा लगानी गर्ने उनी मात्र एक होइनन्। बुटवलकी मोनिका क्षेत्रीले पनि डेढ करोडको लगानीमा छाला र कपाल उपचार क्लिनिक गत सातादेखि मात्र सञ्चालनमा ल्याएकी छन्।

१० वर्षदेखि ब्युटिपार्लर व्यवसाय गरिरहेकी क्षेत्रीले विशिष्टिकृत सेवा दिने उद्देश्यले बुटवल बीपी चोकमा छाला र कपाल उपचार क्लिनिक सञ्चालनमा ल्याएकी हुन। १२ जनाले त्यहाँ रोजगारी पाएका छन्।

उता व्यवसायी मेघराज पन्थले बुटवलको प्रतिष्ठित गणपति मिष्ठान्नको छैठौं फ्रेन्चाइज बुटवलको देवीनगरमा गत हप्तादेखि सञ्चालन गरेका छन्। यहाँ उनले ११ जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिएका छन्। 

डेढ करोडको लगानी गरेर मिष्ठान्न सुरु गरेका पन्थ विगत लामो समयदेखि सैनामैना नगरपालिका वडा नम्बर १ मा पशुपालन फार्म सञ्चालन गर्दै आएका छन्। 

‘लगानीको प्रतिफल दिने देखेरै यो बेलामा लगानी गरेको हो। आर्थिक मन्दी बजारमा देखिएको छ। तर पनि आफ्नो उत्पादनबाट ग्राहकलाई मन जिताउँदै लगानी डुब्न दिन्न भन्ने विश्वास छ,’ उनले भने।

शुक्रबार मात्र रोहिणी गाउँपालिका वडा नम्बर ४ छिपागढमा केडिया अर्गनाइजेशन अन्तर्गत रहेको वृज सेफ्टी ग्लास उद्योगले उत्पादनमा वृद्धि गर्ने गरि थप लगानी भित्र्याएको छ।  

४० करोडको लगानीमा उद्योग स्थापना भएको र यसमा २ सय बढीले रोजगारी पाएका छन्। अर्गनाइजेसनका प्रबन्ध निर्देशक उत्सव केडीयाले कम्पनीले आवासीय, व्यावसायिक, संस्थागत तथा औद्योगिक परियोजनाहरूको संरचनागत तथा सजावटका आवश्यकताहरू पूर्ति गर्दै आइरहेको बताए।

‘आफ्ना उत्पादनमार्फत सुन्दर र व्यवहारिक समाधान प्रदान गर्ने अटल प्रतिबद्धता लिएको वृज सेफ्टी ग्लास उद्योग नवप्रवर्तन र गुणस्तरको अग्रपङ्क्तिमा उभिएको छ,’ केडियाले भने ‘वृज सेफ्टी ग्लास उद्योगको सफलताको केन्द्रमा भने यसको अत्याधुनिक प्रशोधन प्लान्ट नै रहेको छ।’

कारखानामा नेपालमै सबैभन्दा ठूलो दैनिक १२ हजार वर्ग फीट सिसा उत्पादन गर्ने क्षमता रहेको उनले बताए।

यसै साता रुपन्देहीको तिलोत्तमा नगरमा सिद्धार्थ भूमी ग्रुप संचालनमा आएको छ। राम प्रसाद घिमिरेसँगै व्यवसायीहरू रितेश सिलवाल र नारायण केसीले संयुक्त ६० करोड लगानीमा घर निर्माणमा आवश्यक पर्ने नेपालकै ठूलो निर्माण र इन्टेरियर सामानको थोक बिक्री केन्द्रको यो शोरुम संचालनमा ल्याएका हुन्।

विगत २५ वर्षदेखि फर्निचर, प्लाईउडको क्षेत्रमा अनुभवी रहेका तीन जनाले सञ्चालनमा ल्याएको यस शोरुम एक बिघा क्षेत्रफलमध्ये १४ हजार स्क्वायर फुटमा तयार गरिएको अहिलेसम्मकै ठूलो भएको ग्रुपका निर्देशक रितेश सिलवालले दाबी गरे।

त्यस्तै बुटवलमा नेपाली लुगा घर सञ्चालनमा आएको छ। बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा साढे २ करोडको लगानीमा प्रकाश भुसालले नेपाली लुगा घर सञ्चालनमा ल्याएका हुन्।

नेपालमै उत्पादित अन्तर्राष्ट्रिय गुणस्तरका पहिरन सुपथ मूल्यमा ग्राहकसम्म सिधा पुराउने उद्देश्यले नेपाली लुगा घर सञ्चालन गरिएको नेपाली लुगा घरका सञ्चालक प्रकाश भुसालले बताएका छन्।

असोज १३, २०८० शनिबार १२:०९:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।