नेपालमा चिनियाँ लगानी बढाउन प्रधानमन्त्रीको चीन भ्रमण फलदायी : अध्यक्ष ढकाल

नेपालमा चिनियाँ लगानी बढाउन प्रधानमन्त्रीको चीन भ्रमण फलदायी : अध्यक्ष ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण आर्थिक दृष्टिले फलदायी भएको बताएका छन्।

चीनको छन्दु सहरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भ्रमणका क्रममा नेपालमा चिनियाँ लगानी बढाउनुका साथै अन्य आर्थिक सम्भावनाको खोजी गरिएको बताए। 

प्रधानमन्त्री दाहालको चिनियाँ भ्रमण दलमा ढकाल निजी क्षेत्रका तर्फबाट सहभागी थिए।

भ्रमणको सुरुमै चीनको राजधानी बेइजिङमा नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा चिनियाँ व्यवसायीहरूको संस्था सिसिपिआइटी सम्मिलित ‘बिजनेस समिट’ सम्पन्न भएको थियो।

जसमा चीनसँग संयुक्त लगानीका लागि केही सम्झौता हुनु अध्यक्ष ढकालले नेपालमा चिनियाँ लगानी भित्र्याउन गरिएको प्रयास रहेको बताए।

‘निकै लामो समयदेखि हामी नेपाल र चीनका उद्योगी व्यवसायीहरू एक ठाउँमा बसेर द्विपक्षीय व्यापार र लगानीका विषयमा कुराकानी गर्न पाएका थिएनौं। यसपटक हामीले दुई देशका उद्योगी व्यवसायी एवं लगानीकर्ताको सम्मेलन नै गरेका छौं। नेपालमा चिनियाँ लगानी भित्र्याउनका लागि पहल गरेका छौं,’ उनले भने।

समिटमा चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसिपिआइटीमा आबद्ध एक सयभन्दा बढी उद्योगी व्यवसायीहरूको सहभागिता थियो।

उनले सम्मेलनमार्फत चिनियाँ व्यवसायीलाई आफुहरूले नेपालमा लगानीका सम्भावना देखाइदिएको र प्रधानमन्त्रीले पनि नेपालमा लगानीका लागि अपिल गरेको उल्लेख गरे।

असोज १३, २०८० शनिबार ०९:३४:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।