प्रधानमन्त्रीको चीन भ्रमण आर्थिक एवं कूटनीतिक हिसाबले पूर्ण सफल : परराष्ट्रमन्त्री साउद

प्रधानमन्त्रीको चीन भ्रमण आर्थिक एवं कूटनीतिक हिसाबले पूर्ण सफल : परराष्ट्रमन्त्री साउद

काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण आर्थिक एवं कूटनीतिक दृष्टिकोणले पूर्ण रूपमा सफल भएको बताएका छन्।

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा सँगै रहेका साउदले छन्दु शहरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै चीनका राष्ट्रपति सि चिनफिङ र प्रधानमन्त्री लि छ्याङसँग भएका द्विपक्षीय भेटवार्ता महत्त्वपूर्ण भएको बताए।

उनले दुई देशका बीच भएका समझदारी एवं सम्झौताहरू पनि नेपालको हित एवं आर्थिक विकासका पक्षमा रहेको उल्लेख गरे।

‘आगामी दिनमा चीनले नेपाललाई उपलब्ध गराउने अनुदान कार्यक्रमलाई प्रभावकारी ढङ्गबाट अघि बढाउने सहमति भएको छ,’ उनले भने, ‘दुई देशका बीच भएका विभिन्न १३ वटा सम्झौता र समझदारी तथा दुई देशबीचका परम्परागत सबै नाका खोल्ने सहमतिको परिणाम आगामी दिनमा नेपालको हितमा आउनेमा विश्वास छ।’ 

भ्रमणका क्रममा चीनले लामो समयदेखि नेपाललाई उपलब्ध गराउँदै आएका अनुदान परियोजनालाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउने विषयमा कुराकानी भएको र नाका खोल्ने विषयमा चीन सरकार पूर्ण रूपमा सहमत भएको पनि उनले बताए। 

२०७२ को भूकम्प र कोरोना महामारीका कारण बन्द भएका नाकाहरू पुनः सञ्चालन गर्ने र केही नाकाको स्तर वृद्धिसमेत गर्ने सहमतिले सीमा क्षेत्रका नागरिकका लागि पनि यो खुसीको विषय भएको उनको भनाइ छ।

असोज १३, २०८० शनिबार ०९:१६:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।