एशियाली खेलकुदमा चीनको अग्रता

एशियाली खेलकुदमा चीनको अग्रता

काठमाडौं : एशियाली खेलकुद प्रतियोगितामा आयोजक राष्ट्र चीनले शुक्रबार पनि अग्रता कायम गरेको छ।

एक सय पाँच स्वर्ण, ६३ रजत र ३२ कास्य पदकसहित आफूलाई पहिलो स्थानमा राख्न चीन सफल भएको छ।

गणतन्त्र कोरियालाई एक तहपछि छाड्दै जापान दोस्रो स्थानमा उक्लन सफल भएको छ।

जापानले २७ स्वर्ण, ३५ रजत र ३७ वटा कास्य पदक जितेको छ भने तेस्रो स्थानमा खुम्चिएको दक्षिण कोरियाले २६ स्वर्ण, २८ रजत र ४८ कास्य गरी एक सय दुई पदक जितेको छ।

बिहीबारको तुलनामा भारतले शुक्रबार केही प्रगति गरेको छ। शुक्रबार चौथो स्थानमा उक्लन सफल भारतीय खेलाडीले देशलाई ०८ स्वर्ण, १२ रजत र १३ वटा कास्य पदक दिलाएर एशियाडमा राष्ट्रको गरिमा बढाएका छन्।

एशियाडको पछिल्लो पदक तालिकाअनुसार पाँचौं स्थानमा रहेको थाइल्याण्डले  ८ स्वर्ण, ३ रजत र ९ कास्य जितेको छ भने ७ स्वर्ण, १० रजत र १५ कास्य जितेर बिहीबार चौथो स्थानमा रहेको उज्वेकिस्तान शुक्रबार छैटौं स्थानमा झरेको छ।

पाँच स्वर्ण, १३ रजत र १८ वटा कास्य पदक हासिल गरेर हङकङ सातौं स्थानमा छ भने ५ स्वर्ण, ६ रजत र ९ कास्यमा कब्जा जमाएर चाइनिज ताइपेइ आठौं स्थानमा समेटिएको छ।

त्यसैगरी तीन स्वर्ण, १० रजत र त्यति नै कास्य जितेर इरान नवौं र ३ स्वर्ण, ६ रजत र ४ कास्य पदक प्राप्त गरी प्रजातान्त्रिक जनगणतन्त्र कोरिया दशौं स्थानमा रहेको छ।

असोज १२, २०८० शुक्रबार २१:५५:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।