कैलाश मानसरोवर यात्रा-८ : कैलाश पर्वतको चुचुरोमा त्यो ‘भर्‍याङ’ चैँ कसले बनायो !

कैलाश मानसरोवर यात्रा-८ : कैलाश पर्वतको चुचुरोमा त्यो ‘भर्‍याङ’ चैँ कसले बनायो !

आहा ! झन् सुन्दर। 

मानसरोवरको किनारबाट समेत सरोवर निकै आकर्षक देखिन्छ नै। त्यसमा लेक नजिकैको धर्मशालाबाट अलि दक्षिणतिर त्यस्तै ४५ मिनेट पैदल करिब दुई सय मिटर अग्लो डाँडामा पुग्दा देखिने दृश्य अर्को अद्भुत लाग्यो। मानसरोवर त भयो नै, दक्षिणतिरको नेपाली सीमाको हिमश्रृंखलासँगै राक्षस तालको आकारप्रकार पनि मज्जाले देखिने।

हल्का उकालो भए पनि चढ्दा सुस्त गति नभए स्याँस्याँ निकै बढ्ने। त्यसैले जति उचाइको पैदल यात्रा भयो त्यति सुस्त हिँड्नुपर्ने। काठमाडौंतिर हो भने बढि लागे १५ मिनेट हो। तर, डाँडाको मध्यभागमा पुग्न नै हामीलाई त्यहाँ ४५ मिनेटजति लाग्यो।

धर्मशाला पछाडिको डाँडा जहाँबाट मानसरोवर र राक्षस तालको सुन्दर दृष्य देखिन्छ।त्यहाँ पुगेर क्यामराको क्लिकको गति बढ्ने नै भयो। रात बिताएको धर्मशाला, धर्मशालाको किनारमा झुम्म भएर पूजा गरिरहेका आफ्नै समूहका सदस्यहरू, मानसरोवर, राक्षस ताल सबै जानेसम्मका एंगलहरूबाट कैद गर्ने प्रयास गरेँ।

म्यानुल मोडसँगै प्रोग्रामिङ अनि अटो तीनै मोडमा तस्बिरहरू खिँचे। गजव देखियो मानसरोवर। चारैतिर फैलिएको। निलो सरोवर। दैविक गुणसहितको।

यसो नजर उतै कैलाश पर्वततिरै पुग्यो। तर अवस्था उही। टुप्पोमा गजधम्म भएर बसिरहेको थियो बादलको टुक्रा। तलको जति भाग उघ्रिएको थियो उतिनै आकर्षक पनि देखियो कैलाश पर्वत।

मानसरोवरबाट कैलाशको जुन भाग देखिएको थियो त्यहाँ ठ्याक्कै भर्याङ आकार पनि देखियो। सबैतिर हिउँले छोप्दा पनि भर्याङ जस्तै आकारको देखिने ठाउँमा भने हिउँ थिएन।

लेन्सहरू टन्नै लगेको थिएँ। तस्बिर खिचेर जुम गरीगरी हेर्दा पनि आकार ठ्याक्कै भर्याङको जस्तै। त्यहाँ पुग्न सक्ने हो भने त ठमठम भर्याङ चढेर चुचुरोमा सहजै पुग्न सकिने जस्तै संरचना।

कैलाश पर्वततिर हेर्दा हामी चढेको पहाड भन्दा केही अग्लो अनि अलि भिन्न खालको डाँडाको संरचना पनि देखियो।

गुम्बा पनि हो कि हो की जस्तो मात्र देखिएको थियो फेदीबाट। वारी डाँडाबाट भने निकै आकर्षक देखियो त्यहाँ। डाँडाको मध्यभागमा गुम्बा मात्रै हैन यसो आकार प्रकार ल्हासाको पोताला दरबारको झल्कै दिने खालको रहेछ।

मानसरोवर ताल नजिकै रहेको च्यु शु गुम्बा। यहाँबाट विहान कैलाश पर्वतको सुन्दर दृष्य देखिन्छ।यसको नाम थियो च्यु शु गुम्बा। आठौँ शताब्दीमा गुरु रिम्पोचे पद्म सम्भवसँग जोडिएको रहेछ त्यो गुम्बा। आठौँ शताब्दीमा गुरू रिम्पोचेले त्यो डाँडामा रहेको गुफामा सात दिन तपस्या गरेका रहेछन्। अहिले गुम्बाको बीचमा पनि त्यो गुफा अनि रिम्पोचेको खुट्टाको छापसमेत रहेछ। गुफामा उनको प्रतिमा राखिएको थियो।

मानसरोवरको किनारामा बस्नेहरू विहानै उठेर त्यही डाँडामा गएर उदाउँदै गरेको सूर्यसँगै देखिने गोल्डेन कैलाशको आकर्षक तस्बिर खिच्ने रहेछन्। मानसरोवरमा आइपुग्दा हल्का अध्यारो भइसकेकाले त्यो डाँडाबारे कसैले केही भनेनन्, विहान उठ्ने कुरै भएन।

त्यसमा पनि टोलीसँग रहेका तिब्बतियन गाइडहरूले स्थानीहरूसँग हेलमेल हुने, बस्ती नजिक जाने अनि उनीहरूले भनेको भन्दा अन्य स्थानमा गएको मन नपराउने। अब त्यहाँ जान पाइने हो कि हैन भन्ने पनि थाहा भएन। यतै काठमाडौं फर्किएर खोजखाज गर्दा मात्र त्यो डाँडाको गुम्बा के रहेछ भन्ने थाहा भयो। ठाउँमा पुगेर पनि एक महत्वपूर्ण स्थानमा जान चुकियो। चुकचुक लाग्यो।

मानसरोवर किनारको डाँडा चढ्नुको उदेश्य मानसरोवरको टप भ्युसँगै कैलाश पर्वतको जानेसम्मको सिप प्रयोग गरेर आकर्षक तस्बिर खिच्ने पनि थियो। सरोवरको त खिचियो टन्नै। तर अझै कैलाशको चुचुरो खुलेन।

यसो धर्मशालातिर हेरेको झुरूप्प बसेको समूह तितरवितर हुन थालेछन्। पूजा सकिए जस्तो लाग्यो। भाइले ‘दाइ जाऊँ’ भन्न थाले। कतै चुचुरो खुलि पो हाल्छ कि भनेर ‘पख त कस्तो दामी देखिएको छ’ भन्दै १५ मिनेटजति अलमल गरेँ। तर काम लागेन। उघ्रिएन चुचुरो।

लौ अब झरौँ।

२७ वर्षका ती भाइ मेडिकल व्यवसायी रहेछन्। आफ्नै कम्पनीबाट उनी आईसीयूमा रहेका विरामीका लागि चाहिने औषधिहरूको आपूर्ति गर्ने रहेछन्। कलिलै उमेरमा राम्रैसँग जमेका रहेछन् भाइ।

गफ गर्दै-गर्दै धर्मशालामा आइपुगेर यसो कैलाश पर्वततिर हेरेको चुचुरो खुलेछ।

हैट! कतिखेर हामी डाँडाबाट तल झर्छौँ अनि खुल्छु भनेर बसेजस्तै भयो। हिजोदेखिको इच्छा पूरा भयो। कहिँ कतै नछोपिइ कैलाश पर्वतको दर्शन भयो। कोही धुप बालेर आराधना गर्नतिर लागे, कोही तस्बिर खिच्न।

बढो सुन्दर, तस्बिरमा देखिएको भन्दा पनि सुन्दर संरचना। कतिखेर खुल्ने अनि कतिखेर छोपिने भन्ने पत्तो नहुने भएकाले भ्याएसम्मका तस्बिरहरू खचाखच खिच्न थालेँ।

तिब्बतको दार्चेनबाट देखिएको कैलाश पर्वत।

खिचेका तस्बिर हेर्दा मनमा प्रश्न पनि उब्जिए। कैलाश पर्वतको चुचुरो जाने त्यो भर्याङ चै कसले बनायो! त्यो मानव निर्मित थिएन। प्राकृतिक थियो। त्यति ठाउँमा मात्र हिउँले नछोपिनु चैँ गजव।

कैलाश पर्वतको सबैभन्दा आकर्षक दृश्य देखिने स्थान देरापुर हो भन्दै थिए। आजको बास मानसरोवरबाट दार्चेनमा हुने तालिका थियो। दार्चेनबाट यमद्वारसम्मको सात किलो मिटर बसयात्रा अनित्यहाँबाट पैदल ६ किलोमिटर पैदल देरापुक पुगिने।

देरापुक कैलाशको आँगन। कैलाश गजब देखिने पक्का हो मौसमले साथ दिए। तर मौसमको के भर! उता खिचौँला भनेर बस्यो भने अहिले देखिएको दृश्य पनि गुमाउने जोखिम मात्र। मौसमको भरै नहुने।

प्राय तस्बिरमा मानसरोवर अनि कैलाश पर्वत एकै फ्रेममा देखेको थिएँ। धर्मशालाको पारि गएर खिच्दा त्यस्तो फ्रेम सम्भव हुनसक्ला। तर विचमा डाँडा त देखिन्छ नै। ठ्याक्कै कैलाश पर्वतको तल निलो अनि सुन्दर मानसरोवर एकै फ्रेममा राख्न त दुबै फ्रेमका फोटो मिसमास गरे मात्र हो।

तै यसो सरोवर छेउँबाट दुबै धार्मिकस्थल एकै फ्रेममा अटिहाल्छ कि भनेर खोज्दै जाँदा केही पर जल निकाल्न ढुंगाहरु राखेर सरोवरमा जान मिल्ने बनाएका रहेछन्। त्यता जाँदा जुत्ता भिजिहाल्यो। त्यति गतिलो त आएन। तर सरोवरको एक भाग अनि कैलाश पर्वत एकै फ्रेममा अटायो हैँ।

 

हवन सकिएसँगै तिलक संकलन गर्नेक्रम शुरू भयो। होम गर्दा डढेको तील चामलसँगै नरिवलको गट्टा खोज्न प्रतिष्पर्धा नै चल्यो केहीबेर। श्रीमतीले ‘होममा चढाएको सिक्का पाए लिनु है, गुडलक लाग्छ’ भनेकाले त्यो खोज्नतिर लागियो। एउटा सिक्का भेटियो। त्यो आगोमा हालेको सिक्का हो भन्ने बिर्सिएछु। अर्कोले टिप्ला भनेर हतारमा टिपिहालेँ। 

आत्था! लौ गुड लक लाग्यो औँलामा।

खाना तयार भइसकेको रहेछ। खान खान जाउँ अब ढिला भइसक्यो भन्दै आए गाइडहरू। खानापछिको यात्रा दार्चेन। त्यति लामो थिएन यात्रा। ४० किलोमिटर अनि समय ४० मिनेट। उचाई मानसरोवरकै जत्ति ४ हजार पाँच सय मिटर।

खाना खाएपछि श्रीमतीले अलि तिलक पुग्दैन कि भनेपछि हवन गरेतिरै आएँ। हवन भएको ठाउँ त सफाचट भइसकेछ। सरोवर किनार मात्रै हैन मानसरोवर जाने यात्रामा जहाँ ओर्लिएर केही फोहोर गरेलगत्तै टिमले नै सफा गर्नुपर्ने रहेछ।

सरोवरमा लाखबत्ती बाल्ने अनि हवन गर्ने तयारी गर्दा नै प्रदुषण बढ्छ भनेर स्थानीय सुरक्षाकर्मीले अवरोध गरेका थिए। तर टोलीका सदस्यहरूले पहिला जस्तो थियो, त्यस्तै हुनेगरी सफा गर्ने भनेपछि अनुमति आएको थियो। त्यसपछि खाल्डो नखनी हवन र पूजा भएको थियो भने पूजापछि पहिला जस्तो थियो त्यस्तै बनाइसकेका थिए गाइडले।

अब पालो दार्चेन जाने। दार्चेन त्यति टाढा हैन। मानसरोवरबाट ४० किलोमिटर मात्र रहेछ। यता ४० किलोमिटरको यात्रा भनेको एक घण्टा। श्राद्ध अनि पूजा लगायतका धार्मिक कार्यक्रम त्यही दुई घण्टामा सक्काउने योजना भए पनि ठ्याक्कै दोहोरो समय लाग्यो। अलिअलि अध्यारो हुन थालिसकेकाले धर्मशाला छाडेर दार्चेनको यात्रा शुरू भयो।

विस्तारै उकालो लाग्यो बस। अनि घुम्ती हुँदै ओरालो। कैलाश पर्वत झन नजिक। तर, यसपटक बसको सिट गलत छानियो। कैलाश पर्वत देब्रेतिरबाट राम्रो देखिने रैछ, म परेँ दाहिनेतिरको सिटमा। अब त्यति राम्रो दृश्य देखिने ठाउँ कसले छाड्छ र! तै पनि केही स्न्यापहरू खिच्ने प्रयास गरेँ।

आधा घण्टाको बस यात्रापछि फ्युल स्टेशन आयो। सबैलाई ओराले। कैलाश पर्वतको गज्जबको दृश्य देखिने ठाउँ रहेछ। तर, त्यहाँ ओर्लिँदा बादलले शिखर ढाकिसकेको थियो।

‘भोलि देरापुकमा खिचौँला’ भनेर बस चढियो।

आधा घण्टाको बस यात्रापछि सुन्दर शहर आइपुग्यो। दार्चेन। पहाडको फेदमा बसेको सानो तर अति व्यवस्थित शहर। योजनावद्ध रूपमा शहरको निर्माण गरिएको। सडक किनारमा फूल अनि साना बिरुवाहरू रोपेर हरियाली बढाउने प्रयास गरिएको थियो।

दार्चेन शहर।पर्यटकिय शहर भए पनि यहाँ केरुङको जस्तो खुल्लापन भने देखिएन। अधिकांश चिनियाँ नागरिकहरूकै पसल देखियो। स्थानीय तिब्बतीहरू कमै देखिए पसलहरूमा।

बजार चहारेर होटल फर्कँदा टन्नै जर्मनहरू फेला परे। उनीहरू देरापुक जान हामीभन्दा पहिल्यै होटलमा आएर बसिसकेका थिए। त्यस्तै १२ जना जति थिए जर्मन नागरिकहरू। सद्गुरुका चेलाहरू भने अर्कै होटलमा गएछन्। भेट भएन उनीहरूसँग।

ठिकै भो। नत्र अर्को के नौटंकी देख्नुपर्थ्यो।

नियमित लसुन अनि प्याज पनि नमिसाएको सादा खाना अनि सुप खाएपछि टोलीका एक गाइड अक्सिमिटर लिएर आएर टोलीका सबैको अक्सिजनको मात्रा नापे। ८४ निस्कियो मेरो। श्रीमतीको ८२। दुवैको स्वास्थ्य अवस्था सामान्य नै भएकाले देरापुक हुँदै कैलाश पर्वत परिक्रमा गर्न सकिन्छ है भन्ने आत्मबल बढिरहेको थियो।

दार्चेन भने जागै थियो।

कैलाश-मानसरोवर यात्रा

१२ असोज, २०८०, १९:३१:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।