अनमोल विरुद्ध अदालतबाट पक्राउ पुर्जी, तीन दिन अगाडि जाहेरी

अनमोल विरुद्ध अदालतबाट पक्राउ पुर्जी, तीन दिन अगाडि जाहेरी

काठमाडौँ : फिल्म रावायणको तर्फबाट अभिनेता अनमोल केसीविरुद्ध तीन दिन अगाडि नै जाहेरी परेको खुलेको छ। सुदर्शन थापाले उनीविरुद्ध काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएका थिए।

केसीविरुद्ध जाहेरी आएपछि प्रहरीले उनलाई छलफलका लागि पटक पटक बोलाएको थियो। तर प्रहरीको आग्रहलाई उनले बेवास्ता गरिरहे। दुवै पक्षलाई छलफलमा राख्ने प्रयास असफल भएपछि कार्यालयले परेको जाहेरी र प्रमाणको आधारमा काठमाडौँ जिल्ला अदालतमा पक्राउ आदेशको अनुमति मागेको थियो।

शुक्रवार अदालतबाट पक्राउ अनुमति जारी भएपछि प्रहरीले अनमोल खोजेको थियो। उनी भक्तपुरको साँगामा रहेको खुलेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर कार्यालयमा ल्याएको थियो। अनमोल अहिले मिनभवनमा रहेको उपत्यका प्रहरी कार्यालयमा छन्।

फिल्म रावायण खेल्न राजी हुँदै उनले निर्माण पक्षसँग १० लाख रकम लिइसकेका थिए। पछि उनले फिल्ममा अभिनय नगर्ने बताए। तर अनमोलको नाममा एक करोड १५ लाख बढी रकम लगानी भएको भन्दै थापाले अनमोलका बाबु तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीमार्फत दबाब बढाए।

तर अनमोलले दबाबमा छड्के-२ मा अभिनय गर्दा नतिजा गलत आएको भन्दै बाबुको कुरा समेत अस्वीकार गरेपछि अनमोललाई जसरी पनि फिल्ममा अभिनय गराउने वा फिल्मको तयारीमा खर्च भएको रकम उठाउने रणनीति अनुसार निर्देशक थापा प्रहरीकोमा गएका थिए।

प्रारम्भमा छलफलबाटै समस्या सुल्झाउने प्रयास भएको थियो। तर अनमोल प्रहरी कार्यालयमा छलफल गर्न नगएपछि शुक्रवार पक्राउ नै परे।

अहिले उनको बुबा भुवन नेपालमा छैनन्। उनी प्रेमिका जियासँग विदेश सयरमा छन्।

असोज १२, २०८० शुक्रबार १८:४२:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।