अभिनेता अनमोल केसी उपत्यका अपराधको हिरासतमा, आपराधिक विश्वासघातको आरोप

अभिनेता अनमोल केसी उपत्यका अपराधको हिरासतमा, आपराधिक विश्वासघातको आरोप

काठमाडौँ : आपराधिक विश्वासघात गरेको आरोपमा अभिनेता अनमोल केसी पक्राउ परेका छन्। उपत्यका प्रहरी अपराध महाशाखाले उनलाई भक्तपुरबाट पक्राउ गरेर हिरासतमा राखेको छ।

उनीमाथि एक करोड १५ लाखको आर्थिक विश्वास घात गरेको आरोप रहेको र अदालतबाट अनुमति लिएर पक्राउ गरिएको कार्यालयका एसपी रवीन्द्र रेग्मीले उकेरालाई बताए।

उनले फिल्म ‘रावायण’मा अभिनय गर्न सहमत हुँदै १० लाख रकम लिएको र उनी सहमत भएपछि अन्य कलाकारहरूसहित गरेर निर्माण प्रक्रियामा एक करोड १५ लाख खर्च भइसकेपछि फिल्म खेल्न अस्वीकार गरेको भन्दै उनीविरुद्ध उपत्यका प्रहरी कार्यालयमा उजुरी परेको थियो।

निर्देशक सुदर्शन थापाको ब्यानर सुदर्शन फिल्मस्ले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा केसीविरुद्ध उजुरी दिएका थिए। उजुरीकर्ताले अनमोलसँग फिल्ममा अभिनय गर्ने सम्झौता पत्र भने बुझाएका छैनन्।

तर, अनमोलले फिल्म निर्माण टिमसम्म १० लाख लिएको प्रमाण भने पेश गरेका छन्। सो रकम उनले फिल्म खेल्न राजी भएर पेश्की स्वरूप लिएको निर्माण पक्षको दाबी छ।

एसपी रेग्मीका अनुसार अनमोललाई छलफलका लागि पटक-पटक सम्पर्क गरेर बोलाउँदा पनि उनी नआएपछि उजुरी र उजुरीसँग संलग्न प्रमाणको आधारमा अदालतबाट पक्राउ अनुमति मागेको र अदालतबाट पक्राउ अनुमति आएपछि शुक्रबार भक्तपुरको साँगामा फेला परेपछि पक्राउ गरेको बताए।

अनमोलले केही दिनअघि फेसबुकमा लेख्दै फिल्म चयन गर्दा ध्यान दिने र आफूले अभिनय गर्ने फिल्मबारे आफ्नै सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने लेखेका थिए। फिल्म ‘रावायण’मा अभिनय गर्न अनमोल राजी थिएनन्।

उनका बाबु भुवन केसीको जोडबलमा उनी फिल्ममा अभिनय गर्न तत्काल राजी भए पनि ‘छड्के-२’ सुपरफ्लप भएपछि भने निर्माण टिम चित्त नबुझेको भन्दै अभिनय गर्न अस्वीकार गरेका थिए।

असोज १२, २०८० शुक्रबार १७:५२:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।