काठमाडौं महानगरलाई अदालतले भन्यो : जडिबुटीमा अरनिको यातायातले बनाएको बसपार्क भत्काउने कार्य नगर्नु
काठमाडौं : उच्च अदालत पाटनले पूर्वअरनिको यातायातले काठमाडौंको जडिबुटीमा सञ्चालन गरेको बसपार्क नभत्काउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको छ।
उच्च अदालतका न्यायाधीश गोकर्ण डाँगीको एकल इजलासले उक्त बस पार्क नभत्काउन काठमाडौं महानगरपालिकाका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो।
अदालतबाट सो मुद्दाको अन्तिम किनारा नलागेसम्म बसपार्क भत्काउने कार्य नगर्न/नगराउन महानगरलाई भनेको हो।
काठमाडौं महानगरपालिकाले काठमाडौंबाट छुट्ने सबै सार्वजनिक सवारी नयाँ बसपार्कबाट चल्नुपर्ने व्यवस्था गरेको थियो।
तर,पूर्वअरनिको यातायात प्रालीले महानगरको सो निर्णय नमान्ने भन्दै नयाँ बसपार्कबाट बस सञ्चालन गर्न तयार भएको थिएन। पूर्वअरनिको यातायातले जडिबुटीमा १४ रोपनी जग्गा लिएर बसपार्क चलाइरहेको छ।
यसलाई नै महानगरपालिकाले बसपार्कको मान्यता दिनुपर्ने माग गर्दै उसले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो।
उच्चले छलफलका लागि दुवै पक्षलाई असोज २१ गतेका लागि बोलाएको छ।
असोज १२, २०८० शुक्रबार १७:०६:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।