पानामाको भयानक जंगल हुँदै अमेरिका जाने आप्रवासीको संख्या यो वर्ष ४ लाख नाघ्यो

पानामाको भयानक जंगल हुँदै अमेरिका जाने आप्रवासीको संख्या यो वर्ष ४ लाख नाघ्यो

एजेन्सी : पानामा र कोलोम्बिया बीचको भयानक जङ्गल खण्ड पार गरेर ड्यारियन ग्यापको बाटो हुँदै अमेरिका जाने आप्रवासीको सङ्ख्या यो वर्ष चार लाख नाघेको छ। 

पानामाको गृह मन्त्रालयले बुधबारसम्म चार लाख दुई हजार ३० जना ड्यारियन ग्यापतर्फ गएका बताएको छ। गत वर्षको तुलनामा यो सङ्ख्या ६२ प्रतिशतले बढी भएको पानामा सरकारले जनाएको हो।

कयौं नेपाली पनि अमेरिका पुग्न यसै बाटो रोज्ने गरेका छन्।

ड्यारियन ग्याप भएर अमेरिका जानु ज्यादै जोखिमपूर्ण मानिन्छ। यो बाटोमा घना जङ्गल छ। जङ्गली जनावरको डर उत्तिकै छ भने विभिन्न किसिमका खोलानाला पार गर्नुपर्छ।

जोखिम यतिमा समाप्त हुँदैन। आप्रवासीलाई लुट्न आपराधिक गिरोहहरू जङ्गलमा नै बसिरहेका हुन्छन्। 

आप्रवासीहरूका लागि दुई सय ६५ किलोमिटर लामो जोखिमपूर्ण ड्यारियन ग्यापको बाटो दक्षिण अमेरिकाबाट मध्य अमेरिका र मेक्सिको हुँदै संयुक्त राज्य अमेरिका पुग्ने प्रमुख ‘कोरिडोर’बनेको छ।

पानामाका अधिकारीहरूलाई घना जङ्गल क्षेत्र ड्यारियन ग्यापमा मर्ने आप्रवासीहरूको वास्तविक सङ्ख्याबारे भने जानकारी छैन।

असोज १२, २०८० शुक्रबार १२:३१:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।