आन्दोलनमा सहभागी हुन काठमाडौं हिंडेका शिक्षक चढेको गाडी सिन्धुलीमा पल्टियो, ११ जना घाइते

आन्दोलनमा सहभागी हुन काठमाडौं हिंडेका शिक्षक चढेको गाडी सिन्धुलीमा पल्टियो, ११ जना घाइते

काठमाडौं : सदनमा दर्ता गरिएको बिद्यालय शिक्षा विधेयकको विरोधमा जारी आन्दोलनमा सहभागी हुन काठमाडौं आउँदै गरेका शिक्षक सवार गाडी सिन्धुलीको सुनकोसीमा दुर्घटना भएको छ। दुर्घटनामा ११ जना शिक्षक घाइते भएका छन्। 

बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका ३ बोहोरेटार नजिक गाडी पल्टिदा ११ जना शिक्षक घाइते भएका सिन्धुली प्रहरीले जानकारी दिएको छ। 

सिन्धुलीबाट काठमाडौँतर्फ आइरहेको मधेस प्रदेश ०४-००१ ज ००६२ नम्बरको इलेक्ट्रिक गाडी शुक्बार बिहान करिब ८ बजेको समयमा दुर्घटना हुँदा काठमाडौँ आइरहेका राहत शिक्षकहरू घाइते भएका प्रहरीले जनाएको छ।

घाइते हुनेमा सिन्धुलीको कमलामाई नगरपालिका-६ का ४६ वर्षीय निरकुमार चालिसे, कमलामाई नगरपालिका-५ का ४६ वर्षीया कमला घिमिरे, कमलामाई नगरपालिका -१ का ३४ वर्षीय मुकुन्द थापा, सोही स्थानका ४१ वर्षीय भुवन थापा घाइते भएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए।

यस्तै, सिन्धुलीकै कमलामाई नगरपालिका-४ का ४० वर्षीया बबिता देवकोटा, वडा नं ६ बस्ने ४६ वर्षीय विष्णु ढकाल र उनका ११ वर्षीय छोरा निश्चल तथा कमलामाई नगरपालिका-६ का ४० वर्षीय सरोज थापा पनि घाइते भएका छन्।
 
यसैगरि, सिन्धुलीको तिनपाटन गाउँपालिका-१० का ४० वर्षीय राजन कार्की र काभ्रेको बनेपा नगरपालिका-१० का ४० वर्षीया गार्की बस्नेत पनि सोही दुर्घटनामा घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई धुलिखेल अस्पताल लगिएको र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

असोज १२, २०८० शुक्रबार ११:५८:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।