आफ्नै फिल्म स्क्रिनमा हेर्दा एकदम लाज लाग्छ : वर्षा शिवाकोटी

आफ्नै फिल्म स्क्रिनमा हेर्दा एकदम लाज लाग्छ : वर्षा शिवाकोटी

काठमाडौं : नायिका वर्षा शिवाकोटीले आफैंलाई आफ्नो फिल्म स्क्रिनमा हेर्न लाज लाग्ने गरेको बताएकी छन्।

आफू अभिनीत फिल्म ‘परदेशी २’ को प्रदर्शनको सँघारमा एक युटुयूब च्यानललाई दिएको अन्तर्वार्तामा उनले यो खुलासा गरेकी हुन्।

‘अस्ति कोर टिम नै बसेर हलमा फिल्म हेरेका थियौं। फिल्म हेर्दा खेरि आफूले आफैंलाई हेर्दा, धेरै जसो आफ्नो फिल्महरू, कामहरू स्क्रिनमा हेर्नलाई एकदम लाज लाग्छ के,’ उनले लजालु पारामा भनिन्, ‘घरमा पनि कति जना गेष्टहरू आइरहनुहुन्छ नि, उहाँहरूले वर्षा यो गीत लगाएर नाचुँम भन्नुहुन्छ नि, त्यति बेला भाग्छु के जहिले नि।’

वर्षाले आफू भएको ठाउँमा आफूले नाचेको गीत साथीहरूले बजाइदिंदा ‘कहाँ जानु कहाँ भाग्नु’ जस्तो हुने गरेको पनि सुनाइन्।

उनी आफ्ना पछिल्ला फिल्महरूको प्रमोसनमा खुलेर हिंडेकी थिइनन्। वर्षालाई निर्माण टिमले नै फिल्ममा लिएर नहिंडेको आरोप लाग्दै आएको थियो। 

उनी अभिनीत फिल्म ‘परदेशी २’ अहिले प्रदर्शनको सँघारमा रहेको छ। आगामी कात्तिक ४ गतेदेखि नेपालभर प्रदर्शनको तयारीमा रहेको यो फिल्ममा उनको मुख्य भूमिका रहेको छ।

केही दिन अघिसम्म पनि वर्षा परदेशी २ को प्रमोसनमा निस्किएकी थिइनन्। धेरैले वर्षा र निर्माण टिमबीच मनमुटाव चलेको आरोप पनि लगाएका थिए। तर फिल्मको सेन्सर पास गर्न भने उनी आफैं चलचित्र विकास बोर्ड पुगेकी थिइन्। 

फिल्मको प्रमोसनमा निर्माण टिमका निर्देशक नारायण रायमाझी, केकी अधिकारी र प्रकाश सपुत हिंडिरहँदा वर्षाको सहभागिता देखिएको थिएन। एक्कासि बोर्डमा फिल्म सेन्सरका लागि भने उनी गएकी थिइन्। 

वर्षाले आफू केकी र प्रकाशको टिममा नदेखिनुको बारेमा खुलेर अन्तर्वार्ता दिन थालेकी छन्। एक अन्तर्वार्ताका क्रममा आफ्नो टिमसँगको सल्लाह अनुसार नै चुपचाप बसेको र आफूलाई प्रमोसनको जिम्मा पूर्वतर्फ दिएको बताइन्। 

‘यो टिमको प्लानिङ नै त्यसरी भएको हो। पश्चिमको पार्टहरू चाहिं केकी जीले कभर गर्ने, पूर्वको पार्ट मैले कभर गर्ने भनेर कुरा भएको थियो। उहाँहरू उता हुँदा मैले यताको इन्टरभ्यु भ्याउने र म बाहिर हुँदा जो यता हुनुहुन्छ, उहाँहरूले हेर्ने प्लानमा हामी चलिरहेका छौं,’ वर्षाले भनिन्।

असोज १२, २०८० शुक्रबार ११:३३:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।