साथी-साथीबीच ग्याङ फाइट, एक जनाको मृत्यु

साथी-साथीबीच ग्याङ फाइट, एक जनाको मृत्यु
सांकेतिक तस्बिर ।

झापा : झापाको दमकमा साथी साथीबीच ग्याङ फाइट हुँदा छुरा प्रहारबाट एक जनाको मृत्यु भएको छ। 

छुरा प्रहारबाट चुलाचुली गाउँपालिका– ३ का ३८ वर्षीय गोविन्द लिम्बुको मृत्यु डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए।

आज (शुक्रबार) बिहान ४ बजे दमक नगरपालिका– १ कुमाल चोकमा दमक-७ हाट खोला र इलाम चुलाचुलीका युवाहरुबीच ग्याङ फाइट भएको डीएसपी रिजालले बताए।

दमक १ स्थित कुमाल चोक नजिकै एक होटेलमा उनीहरू सँगै बसेर रातभर मादक पदार्थ सेवन गरेका थिए। सोही क्रममा विवाद हुँदा झडप भएको थियो। 

दमक-७ बस्ने २५ वर्षीय सनम राईले लिम्बूलाई छुरा प्रहार गरेका थिए। 

घाँटीर पाखुरामा छुरा प्रहार गरेपछि सख्त घाइते भएका उनलाई उपचारको लागि लाइफलाइन अस्पताल दमक लगेको र अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेको डीएसपी रिजालले बताए। 

छुरा प्रहार गर्ने राईसहित दुई जना मोटरसाइकलमा फरार भएको र उनीहरूको खोजी कार्य भइरहेको बताइएको छ। 

असोज १२, २०८० शुक्रबार १०:५८:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।