एसियाली खेलकुदमा ४५ मध्ये ३३ देशले जितिसके पदक, नेपालले खाता कहिले खोल्ला?

एसियाली खेलकुदमा ४५ मध्ये ३३ देशले जितिसके पदक, नेपालले खाता कहिले खोल्ला?

काठमाडौं : चीनमा जारी एसियाली खेलकुदको पदक तालिकामा आयोजक चीनकै वर्चश्व रहँदा नेपालको प्रदर्शन भने हालसम्म निराशाजनक छ।

बिहीबारसम्मको खेल सकिंदासम्म चीन ९१ स्वर्ण, ५२ रजत र २६ कास्यसहित एक सय ६९ पदक प्राप्त गर्दै शीर्षस्थानमा रहेको छ।

एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म ३३ मुलुकले पदक प्राप्त गरिसकेका छन्। तर नेपालले भने हालसम्म पदकमा खाता खोल्न सकेको छैन।

नेपालले हालसम्म खेलेको खेलमा क्रिकेटमा मंगोलियाविरुद्ध गरेको कीर्तिमानी प्रदर्शन बाहेक अन्य कुनै पनि खेलमा राम्रो खेल प्रदर्शन गर्न सकेको छैन। 

समूह चरणको उक्त खेलमा नेपालले टी-२० क्रिकेटको धेरै रेकर्ड तोड्यो। तर यसका बाबजुद क्रिकेटबाट पदक जित्न पनि नेपाललाई त्यति सजिलो छैन।

किनभने क्वाटरफाइनलमा पुग्ने सम्भावना प्रबल रहेको नेपालको असली परीक्षा त्यहाँ पुगेपछि मात्र हुनेछ। जहाँ नेपालको भेट भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश जस्ता टेस्ट टिमसँग हुनेछ।

एसियाली खेलकुदमा नेपाललाई पदक दिलाउने मार्सल आर्टसका खेलमा पनि यो पटक कुनै उपलब्धि भएन। सबैभन्दा आशा गरिएको तेक्वान्दो र जुडो लगायतका खेलमा नेपाल पदकविहीन रहँदै प्रतियोगिताबाट बाहिरियो।

अब नेपालले पदकको आशा गरेको खेल भनेको क्रिकेट, ई-स्पोर्टस् र ब्याडमिन्टन मात्र बाँकी हो। यी खेलबाट पनि पदक जित्न नसकेमा नेपाल यो पटक एसियाली खेलकुदबाट खाली हात घर फर्कनु पर्नेछ।

एसियाली खेलकुदमा नेपालले आज (शुक्रबार) ई-स्पोर्टस्, ब्याडमिन्टन, बक्सिङ, गल्फ, एथ्लेटिक्स, बास्केटबल, पौडी, टेबलटेनिस लगायतमा प्रतिस्पर्धा गर्दैछ।

हालसम्म कुल ६ सय १० पदकको छिनोफानो हुँदा दक्षिण कोरिया २४ स्वर्ण, २३ रजत, ३९ कास्यसहित ८६ पदकका साथ पदक तालिकाको दोस्रो स्थानमा रहेको छ।

त्यसैगरी जापान १८ स्वर्ण, ३० रजत र ३१ कास्यका साथ ७९ पदक प्राप्त गर्दै तेस्रो स्थानमा रहेको छ। भारत पनि ६ स्वर्ण, आठ रजत र ११ कास्यसहित २५ पदकका साथ पाँचौं स्थानमा छ। 

असोज १२, २०८० शुक्रबार ०८:४१:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।