अभिनेत्री 'बन्न' असफल एलिजाको सांसद बन्ने रहर

अभिनेत्री 'बन्न' असफल एलिजाको सांसद बन्ने रहर

काठमाडौँ : ऋषि धमलाको श्रीमतीको रूपमा बनेको सार्वजनिक छविमा चित्त नबुझेपछि एलिजा गौतमले आफ्नै लगानीमा फिल्म ‘अनुराग’ बनाएर अभिनेत्रीको छवि बनाउने प्रयास गरिन् तर सफल भइनन्।

करिब एक दर्जन जति म्युजिक भिडियोमा पनि अभिनय गरिन् उनले। बिचमा उनी अभिनेत्री भएर बन्ने भनिएको फिल्मको घोषणा त भयो तर निर्माण भएन।

टिकटकमा उनी सक्रिय नै छिन्। तर टिकटकको सक्रियताले मात्र उनी थामिइनन्। नयाँ दलसँगै रातारात नयाँ नेताहरू सांसद बनेर प्रतिनिधि सभामा प्रवेश गरिरहेको देखेर हो या अन्य केही लक्ष्य एकाएक उनमा नेतृ बन्ने रहर देखियो।

उनी माघ १४ गते नागरिक उन्मुक्ति पार्टीमा प्रवेश नै गरिन्। पार्टी प्रवेश गरेको केही दिनमै टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका पार्टीका संरक्षक रेशमलाल चौधरीलाई रिहा नगरे देशमा आगो बल्ने अभिव्यक्ति दिएर विवादमा आइन्।

अनि अनजानमा बोलेको भन्दै माफी मागिन्। यो अभिव्यक्तिसँगै नागरिक उन्मुक्ति पार्टीसँग उनको मोह भङ्ग भयो। जसरी एकाएक पार्टी प्रवेश गरेकी थिइन् त्यसरी नै एकाएक पार्टी छाडेर स्वतन्त्र भएको दाबी गरिन्।

राजनीतिक मञ्च खोज्ने उनको प्रयास रोकिएन। धरान उपमहानगर पुगेर विवादित मेयर हर्क साम्पाङसँग भेटिन् अनि १० वटा साबेल सहयोग गरिन्।

बिचमा एकाएक एमाले नेता तथा सांसद सुवास नेम्वाङको मृत्यु भयो। उनको मृत्युसँगै उनी सांसद भएको इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाको एक पद रिक्त भयो। अब त्यहाँ निर्वाचन आयोगले उप निर्वाचन गर्ने तयारी गरिरहेको छ।

इलाममा नेम्वाङका छोराले समेत उम्मेदवार बन्ने रहर गरिसकेका छन्। अन्य दलले कसलाई उठाउँछ एकिन भइसकेको छैन। यही बेला उनै एलिजाले उप- निर्वाचनमा नेम्वाङको मृत्युबाट रिक्त भएको इलामबाट उम्मेदवार बन्ने दाबी गरिन्।

उनले मेरोफिल्मसँगको कुराकानीमा इलाम क्षेत्र नम्बर २ बाट उप–चुनावमा उम्मेदवार बन्ने दाबी गरे पनि कुन दलबाट खुलाएकी छैनन्। न त उनले स्वतन्त्र नै उम्मेदवार बन्ने बताइन्। उनको लक्ष्य अहिलेका ठुला भनिएका दलहरूमध्येबाटै उम्मेदवार बन्ने प्रयास गर्ने देखिन्छ।

एमालेबाट उनी उम्मेदवार बन्न सम्भव देखिन्न। यस अगाडिको निर्वाचनमा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका डम्बर बहादुर खड्का नेम्वाङसँग लगभग चार सय २० मतले हारेका थिए।

यस अगाडि दुई स्थानमा भएको उपनिर्वाचनमा गठबन्धनले पहिला जुन दलको उम्मेदवार उठेका थिए उसैलाई छाडेकाले इलाम-२ गठबन्धनबाट कांग्रेसले पाउने देखिन्छ।

एलिजालाई कांग्रेसले टिकट देला? सम्भावना देखिन्न। उप निर्वाचन फाप्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी ताकेकी हुन् त एलिजाले? तर रवि अनि एलिजा श्रीमान् ऋषिबिचको सार्वजनिक इगोले भरिएको सम्बन्धले यो सम्भावना कमै देखाउँछ।

अब बाँकी भयो सिके राउतको जनमत पार्टी। के उनी राउतको पार्टीमा जान लागेकी हुन् त? कि हल्ला मात्रै हो?

असोज ११, २०८० बिहीबार २२:२२:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।