गीतमा हिट प्रकाश सपुतको अभिनय क्षमताको परीक्षण, परदेशी-२ बाट अभिनयमा स्थापित होलान्!

गीतमा हिट प्रकाश सपुतको अभिनय क्षमताको परीक्षण, परदेशी-२ बाट अभिनयमा स्थापित होलान्!

काठमाडौँ : प्रकाश सपुत गायनसँगै अभिनयमा पनि पोख्त छन् भन्ने त उनले अभिनय गरेका आफ्नै म्युजिक भिडियोहरूबाट पुष्टि गरिसकेका छन्।

प्राय कथासँगै मिसाएर गीत र त्यही अनुसारको म्युजिक भिडियो बनाएर आफैँ अभिनय गर्दै आएका उनी सिँगार रसदेखि निरस भावसम्मको अभिनयमा फिट देखिएका थिए।

त्यही म्युजिक भिडियोको अभिनयको सफलताबाट हौसिएर हो या साँच्चै अब अभिनय यात्रा पनि अगाडि बढाउने लक्ष्यले हो उनी कुनै १०-१५ मिनेटको म्युजिक भिडियोमा हैन करिब दुई घण्टाको फिल्ममा देखिँदै छन् मुख्य कलाकार भएन।

परदेशी-२ उनको डेब्यु फिल्म हो जहाँ उनीसँगै अभिनेत्री केकी अधिकारीको अभिनय रहेको छ। फिल्म टिम अहिले फिल्मको प्रचारमा ब्यस्त छ।

जिल्ला जिल्लामा पुगिरहेका छन् कलाकार। अनि डिजिटल प्लेटफर्महरूबाट पनि फिल्मको उस्तै प्रमोसन भइरहेको छ।

प्रमोसनलाई निरन्तरतादिँदै फिल्म निर्माण टिमले फिल्ममा राखिएको झ्याउरे लयको परदेशी छुकछुके रेलैमा बोलको गीत सार्वजनिक गरेको छ।

गीतमा प्रकाश सपुत र केकीको अभिनय देख्न सकिन्छ। गीतमा अभिनय गर्दा यी दुवैको केमेस्ट्री मिलेको देखिन्छ।

म्युजिक नेपालको युट्युब च्यानलबाट रिलिज भएको गीत एक दिनमा पाँच लाख पटक हेरिएको छ। यो राम्रै रेस्पोन्स हो।

पछिल्लो समय फिल्महरूमा लोकलय भनेर बनावटी गीतहरू समावेश गर्ने प्रचलन बढेको बेलामा फिल्म निर्माण टोलीले पक्का झ्याउरे भाकामा गीत बनाएको छ।

फिल्मको निर्देशन गरेका छन् नारायण रायमाझीले। यो परदेशी फिल्मको सिक्वेल हो। पहिलो फिल्ममा उनले इन्डियन आइडलका विजेता नेपाली मूलका भारतीय नागरिक प्रशान्त तामाङलाई लिएर बनाएका थिए।

फिल्मले ६ करोडको व्यापार गरेको दाबी सार्वजनिक भएका थिए। त्यो बेलामा प्रशान्तको क्रेज थियो। त्यसले फिल्मलाई पक्कै पनि फाइदा भयो नै।

अहिले पनि उनले प्रशान्त तामाङलाई छाडेका छैनन्। फिल्ममा प्रशान्तसँगै दिलीप रायमाझी समेत छन्। उता निर शाहदेखि लिएर वर्षा सिवाकोटी अनि रमा थपलियासम्मलाई अभिनय गराएका छन् फिल्ममा।

पहिलो फिल्म वैदेशिक रोजगारीमा गएका नेपालीको कथामा आधारित थियो। अहिलेको सिक्वेलको मूल कथा पनि त्यही वैदेशिक रोजगारी नै हो।

उनी गीतकार समेत हुन्। प्राय फौजीको गीत रच्ने उनले परदेशी-२ को कथा पनि गीत रच्नेक्रममै फुरेको बताउने गरेका छन्।

अहिले दर्शकको मुड अलि बदलिएको देखिन्छ। समाज अहिले निराश देखिन्छ। निराशा बढेको अवस्थामा हलसम्म पुगेर थप निराशा बोकेर फर्कन चाहँदैनन् उनीहरू। केही समय भए पनि उनीहरू निराशालाई आशामा बदल्न चाहन्छन्। उनको कथामा निराशा हाबी छ या आशा त्यसले नै फिल्मको सफलताको निर्णय गर्न सक्छ।

तर प्रमोशनकोक्रममा जे जति सामाग्री सार्वजनिक भएका छन् ती सामाग्रीको आधारमा एक मौलिक फिल्म बनेको सङ्केत देखिइरहेको छ। सङ्केत अनुसारै फिल्म बनेको भए परदेशीको रेकर्ड दोहोरिन सक्छ।

असोज ११, २०८० बिहीबार २१:४२:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।