सत्तामा टिक्न जेलबाट मान्छे छाडे, तिनका श्रीमतीलाई मन्त्री बनाए : सुशिला कार्की

सत्तामा टिक्न जेलबाट मान्छे छाडे, तिनका श्रीमतीलाई मन्त्री बनाए : सुशिला कार्की

काठमाडौं : पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले सत्तामा टिक्नका लागि राजनीतिक दलहरुले जेलबाट मान्छे छाड्ने र श्रीमतीलाई मन्त्री बनाएको बताएकी छन्।

काठमाडौंमा हिमालय मातृभूमि फाउन्डेसनको उद्घाटन एवं अवधारणा पत्र सार्वजनिक कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कार्कीले सत्ताको लोभका लागि प्रधामनमन्त्री लगायत सत्ताधारी दलले कानून मिचेको बताइन्।

‘सरकारमा तलमाथि पर्यो भने जेलबाट मान्छे छोड्नुहुन्छ। तीन तहको अदालतले दोषी ठहर गरेको मान्छेलाई छाडिदिनुहुन्छ,’ उनले भनिन्, ‘त्यस्तै दोषीको धर्मपत्नीलाई मन्त्री बनाइदिनुहुन्छ, जग्गा पनि दिनुहुन्छ। खाली सत्तामा टिकिरहनका लागि चाहिनेभन्दा बढी फोहोर काम गर्नुहुन्छ।’

सुशासन, विकास र समृद्धिका लागि शासन सत्तामा बस्नेमा इमान्दारिता र निष्ठा हुनुपर्ने भन्दै कार्कीले नेपाली राजनीतिको बारे आफूले सुन्नै छाडेको बताइन्। समाचार सुन्दा काण्डै काण्डदेखि केही नभएको उनको भनाइ छ।

‘नेपाली राजनीतिको समाचार त मैले आजकल हेर्नै छोड्देको छु, विरक्त लागेर आउँछ,’ उनले अगाडि भनिन्, ‘कहिले बालुवाटार काण्ड भन्या छ, कहिले सुन काण्ड भन्या छ, काण्डै काण्डबाहेक केही छैन। देशमा स्क्यामबाहेक केही छैन।’

यद्यपि आफू निराश पनि नभएको उनले बताइन्। धेरै बिग्रिएको देख्दा सुधारका लागि पनि भएको उनको भनाइ छ।

पूर्वप्रधानन्यायाधीश कार्कीले फाउन्डेसनले राम्रो विषय उठान गरेको भन्दै सरकारबाट राजदूतको प्रस्ताव आएमा प्रभावमा नपर्न आग्रह गरिन्।

असोज ११, २०८० बिहीबार २१:०१:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।