शारदा गिरीको हिजोको कुरा : छोरी पढायो भने मास्टरसँग पोइल जान्छे भनेर पढाउँदैनथे
नेपाली दर्शकमाझ ‘काली आमा’को रूपमा परिचित कलाकार हुन् शारदा गिरी। हाँस्य टेलिश्रृंखला ‘हल्का रमाइलो’ले उनलाई ‘काली आमा’को रूपमा परिचित गरायो।
त्यसो त उनले त्यसअघि पनि विभिन्न चलचित्र र टेलिफिल्महरूमा अभिनय गरिसकेकी थिइन्। फिल्म ‘वडा नम्बर ६’, ‘छक्का पञ्जा’, ‘दाईको ससुराली’, ‘हल्कारा’लगायतका फिल्ममा उनको अभिनय छ।
७२ वर्षअघि कलङ्कीको स्यूचाटारमा जन्मिएकी उनको विवाह घर नजिकै भयो, १९ वर्षको उमेरमा।
छोरा-छोरी र नातिनातिना भइसक्दा पनि कलाकारितामा उनको जोस उस्तै छ। अझै घटेको छैन। उनी यसलाई आफ्नो कर्म र परिवारबाट पाएको माया भन्न रुचाउँछिन्।
सोमबार धर्मस्थलीस्थित ‘हल्का रमाइलो’को सुटिङमा भेटिएकी सारदाले आफ्ना व्यक्तिगत र कलाकारिता जीवनको भोगाइ र अनुभव उकेरासँग यसरी साटिन्।
खेतीपाती र चुलोचौकोमै बित्यो बाल्यकाल
स्यूचाटारमा शारदाको बाल्यकाल बित्यो। घर छेउमै नेवार बस्ती थियो। उनीहरू खेतीपाती गर्थे र गाईवस्तु पाल्थे।
उनले भनिन्, ‘उनीहरू(नेवारी समुदाय)ले आलु पनि ठूल्ठूला फलाउँथे। उनीहरूले बोट उखेल्दा छोडिएका आलुहरू म खोजेर लिएर आउँथेँ। अहिले समय धेरै परिवर्तन भइसकेको छ। अहिले त कतिपय घर भाँडामा लगाएर जिविका चलाउन थालेका छन्।’
शारदाको पनि दैनिकी उहि गाईवस्तु चराउने नै हुन्थ्यो। एक घण्टाको बाटो भएर बाफलमा पानी लिन आउँथिन् उनी। अहिले भने त्यसरी पानी लिन जाने बाटो नै मासिएको उनी बताउँछिन्। घर-घरमै पानी सुविधा हुँदा त्यसले भने आनन्द लाग्ने उनको भनाइ छ।
‘घरैमा धारो होला र पानी पिउँन पाइएला भनेर मैले कल्पना पनि गरेको थिइन्ँ। पानी लिन बाफलमा धारो थियो त्यहाँ जानुपथ्र्यो। गाग्रीका लाइन हुन्थेँ। त्यहाँ नभए खोलामा नै जानुपर्ने बाध्यता थियो। अहिले त घर-घरमा धारो। जे होस् परिवर्तन भएको छ। खुसी लाग्छ।’
दुई सन्तानमध्येकी कान्छी हुन् शारदा। उनका एक जना दाजु छन्। घरकी कान्छो सन्तान भएकाले पनि उनलाई आमबुवाले दाइलाई भन्दा अलि बढी नै माया गर्ने उनी बताउँछिन्।
‘परिवारमा आबा, बुवा, दाजु अनि म गरी चार जना मात्र। मलाई बुबाआमाको माया ममतामा कुनै कमी थिएन’, उनले बाल्यकाल सम्झिइन्।
काठमाडौंमा नै घर भएता पनि काठमाडौंमा छोरी बुहारी पढाउने चलन नभएको उनी बताउँछिन्। शारदाका अनुसार त्यो समयमा अधिकांश छोरी मान्छेले घरको र खेतीपाती कै काम गर्थे। उनले पनि त्यसै गरिन्।
‘त्यो बेलामा छोरीलाई पढाउन हुन्न भन्थे,’ उनले सम्झिइन्, ‘पढायो भने मास्टरसँग पोइला जान्छ भन्थे, त्यहि भएर मलाई पनि पढाएनन् बाआमाले।’
खेतीपाती र घाँस दाउरा गर्दागर्दै १९ वर्षको उमेर पुगेपछि बाआमाले घरनजिकै मागी विवाह गरिदिए।
विवाहपछि पढाइ
विवाह गरेपछि उनी आफूलाई हरेक कुराको सहज भएको शारदा बताउँछिन्।
‘विवाहअघि माइतमा बुबा आमाको अधिनमा चल्नुपर्ने। न पढ्न जान पाउने न कतै जान दिने। जहिल्यै गोठालो, चुला चौका थियो। तर, विवाहपछि मेरो श्रीमानले मलाई अधिनमा राख्नुभएन,’ उनले हाँस्दै सुनाइन्, ‘मेरो श्रीमान्ले मैले यो गर्छु भन्दा कहिल्यै नाइँ भन्नुभएन।’
उनले विवाह गरेको केहि वर्षपछि नै पौढ शिक्षा पढ्न थालिन्। घरमा आमा बुबाले नपढाए पनि श्रीमान्ले पढ्न कुनै रोकतोक नगरेको उनी बताउँछिन्। पौढ शिक्षा पढ्दाखेरि सबैलाई पढाइमा टप्ने गरेकी थिइन्। उनले त्यो समयमा कक्षा १० सम्मको अध्ययन गरिन्।
‘गाउँमा प्रौढ शिक्षा आएको हुनाले अक्षर चिन्न मन लाग्यो। कतै गइयो भने अक्षर चिन्दा राम्रो हुन्छ भनेर पढेँ’, उनले स्मरण गरिन्, ‘यहि सिलसिलामा मैले टेलिफिल्म र फिल्ममा अभिनय गर्ने मौका पाएँ। प्रौढ शिक्षा पढेको हुनाले मलाई डाइलक हेर्न पनि सजिलो भयो।’
बुहारीलाई बुहारी जस्तो व्यवहार
‘मैले थाहा पाउँदा बुहारीलाई सासु ससुरा, लोग्ने सबैले हेप्ने गर्थे,’ उनले भनिन्, ‘मेरो चाहि सासुससुरा हुनुहुन्थेन र मलाई गाह्रो भएन। अरुको देख्दा बुहारीहरू धुरुक्कै रुन्थेँ।’
अहिले समय निकै फेरिएको शारदा महसुस गर्छिन्। अहिले बुहारी सासुजस्तो र सासु बुहारीजस्तो भएको उनलाई लाग्छ।
‘अहिले बुहारीहरू बसेर खान्छन्। सासुहरू धमाधम काम गरिरहेका हुन्छन्,’ उनले सम्झिइन्, ‘पहिला बुहारी तह लाएर सासुहरू बसेर खान्थेँ।’
अहिलेको परिवर्तन देख्दा शारदा अचम्मित छिन्। काठमाडौंमा यति धेरै घर होला भनेर आफूले कल्पनै नगरेको उनी बताउँछिन्।
उनले थपिन्, ‘यो उमेरसम्म बाँचेर यस्तो पनि देख्न पाइयो।’
३६ सालमा कलाकारिता प्रवेश
शारदाको कलाकारिताको डेब्यु नै फिल्मबाट भयो, नाम हो ‘सम्झौता’। त्यो फिल्ममा उनले भिलेनकी श्रीमती बनेर काम गरिन्।
‘कालीमाटीमा एक जना प्रेम दाइ भन्ने हुनुहुन्थ्यो। उहाँले मलाई ‘सम्झौता’ भन्ने फिल्ममा अफर गर्नुभयो। त्यो फिल्ममा रोशन श्रेष्ठ भन्ने भिलेन हुनुहुन्थ्यो बानेश्वरको। उहाँको जोडी भएर फिल्ममा काम गर्ने मौका पाएको थिए,’ उनले फिल्ममा प्रवेश गर्नुको भनिन्, ‘यसमा अलिकति डान्स जस्तो गरेको थिएँ।’
बाल्यकालबाट नै कलाकारितामा लाग्छु भन्ने कुनै योजना नरहेको तर अकस्मात अफर आउँदा श्रीमान्ले नै ‘जाउ’ भनेर पठाएको उनी बताउँछिन्। त्यो समयमा छोरी मान्छेले फिल्म खेल्नहुँदैन भन्ने मान्यता भए पनि श्रीमान्ले साथ दिएको शारदा सम्झन्छिन्।
पहिलो फिल्ममा भिलेनको श्रीमती भएर खेलेपछि उनलाई भकाभक फिल्ममा अफर आउन थाल्यो।
‘कलङ्की नैकापमा नै बसोबास गर्ने निर्देशक हरि शिवाकोटीले घरमै आएर दिदी हजुरजस्तो कलाकार पाउन अहिले मुस्किल छ। हजुरले गर्नुस्। मैले पनि एउटा फिल्म बनाउन लागेको छु। हजुरले आमाको भूमिका गर्नुस् भनेर अफर गर्नुभयो,’ उनले भनिन्, ‘मैले हुन्छ भनेर उहाँको फिल्ममा काम गरेँ। मेरो जोडीमा सुवास गजुरेल हुनुहुन्थ्यो।’
उनका अनुसार त्यो समयमा कलाकारितामा महिलाहरू कमै थिए। त्यसकारण पनि महिला कलाकारको खोजी हुने गरेको थियो।
‘अहिलेको जस्तो टेलिफोन हुँदैन थियो। कलाकार खोज्न निर्माता र निर्देशक घरमा नै आउनुहुन्थ्यो’, उनले भनिन्।
फिल्ममा व्यस्त हुन थालेपछि श्रीमान्ले सुरु–सुरुको समयमा ‘अब नजा’ भन्ने गरेको उनी बताउँछिन्।
उनले भनिन्, ‘घरमा भन्दा बढी सुटिङमा हिड्न थालेपछि अब नजा भन्नुहुन्थ्यो। तर, उहाँले कुरा बुझ्दै गएपछि राम्रो हुँदै गयो।’
असोज ११, २०८० बिहीबार १८:१८:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।