एसियाली पूर्वाधार लगानी बैंकको बैठकमा सहभागी भएर अर्थमन्त्री डा.महत स्वदेश फिर्ता
काठमाडौं : एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)को बोर्ड अफ गभर्नर्सको बैठकमा सहभागी अर्थमन्त्री डा. प्रकाशशरण महत भएर आज स्वदेश फर्किएका छन्।
अर्थमन्त्री डा. महत इजिप्टको शार्म अल शेखमा बैंकका ८६ सदस्य राष्ट्रको सहभागिता रहेकाे बैंकको बोर्ड अफ गभर्नर्सको आठौं बैठकमा सहभागि भएर स्वदेश फर्किएका हुन्।
बैठककामा अर्थमन्त्री डा. महतले नेपाल जस्ता अल्पविकसित मुलुकको लागि सहुलियतपूर्ण वित्तीय सहायताले ठूलो अर्थ राख्ने भएकोले यसका लागि छुट्टै सहुलियतपूर्ण संयन्त्रको व्यवस्थाका लागि नेपालले राखेको प्रस्तावमा सहमति जनाउन सबै सदस्य राष्ट्रलाई आह्वान गरे।
उनले विश्व अर्थतन्त्रको स्थिरता, शून्य कार्बन उत्सर्जनतर्फको यात्रामा तीव्रता र निम्न तथा मध्यम आय भएका मुलुकको आर्थिक विकास, गरिबी निवारण एवम् नागरिकको गुणस्तरयुक्त जीवनका लागि वित्तीय स्रोतमा पहुँच प्रमुख चुनौती रहेको बताए।
उक्त चुनौती सम्बोधनका लागि एसियाली पूर्वाधार लगानी बैंक लगायतका बहुपक्षीय विकास बैंकहरूको भूमिका महत्त्वपूर्ण रहने अपेक्षा गरे।
न्यून आय भएका मुलुकका लागि आर्थिक पुनर्उत्थान र विकास, रोजगारी सिर्जना, हरित पूर्वाधार विकास, वित्तीय साधन स्रोतमा पहुँच विस्तार, प्राविधिक एवम् संस्थागत क्षमताको विकास, जलवायु सिर्जित विपद् व्यवस्थापन र अन्य सामाजिक सुरक्षाको क्षेत्रमा समेत सहयोग जस्ता माध्यमबाट एआइआइबी लगायतका बहुपक्षीय विकास बैंकहरूले महत्त्वपूर्ण योगदान पु¥याउन सक्ने उनको धारणा थियो।
खासगरी विकासशील सदस्य राष्ट्रका पूर्वाधार विकासका लागि धेरै वित्तीय स्रोतको आवश्यकता रहेको सन्दर्भमा हाल प्रचलित वित्तीय सहायता संयन्त्र एवम् उपकरण पर्याप्त नहुने यथार्थ इङ्गित गर्दै अर्थमन्त्री डा. महतले सो क्षेत्रमा नवप्रवर्तनको आवश्यकता औंल्याए।
विकासशील मुलुकका लागि वित्तीय साधन स्रोतको अभाव हुन नदिनका लागि बैंकले सार्वजनिक निजी साझेदारी, हरित बण्ड, सम्मिश्रित वित्त लगायतका नवीन तथा सिर्जनशील उपकरणको उपयोग गर्नुपर्ने आवश्यकता रहेको तर्फ उनको विशेष जोड थियो।
कार्बन उत्सर्जनमा खासै भूमिका नरहेका तर जलवायु परिवर्तनको अत्यधिक असर र प्रभाव भोगिरहेका नेपाल जस्ता मुलुकका लागि जलवायु वित्त तथा सो सम्बद्ध सुविधा वृद्धिमा उनले जोड दिए।
मन्त्री डा. महतले नेपाल जलवायु परिवर्तनबाट अत्यधिक प्रभावित मुलुक रहेको विषयमा फेहरिस्त प्रस्तुत गर्दै सोबाट सृजित समस्या तथा चुनौतीको बारेमा प्रकाश पारेका थिए।
असोज ११, २०८० बिहीबार १७:५२:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।