ऋणीसँग पैसा लिएको आरोपमा एनआइसी बैंकका शाखा प्रवन्धकविरुद्द प्रहरीमा जाहेरी, केन्द्र समेत शंकामा

ऋणीसँग पैसा लिएको आरोपमा एनआइसी बैंकका शाखा प्रवन्धकविरुद्द प्रहरीमा जाहेरी, केन्द्र समेत शंकामा
फाईल फोटो

काठमाडौं : रौतहट गरुडामा रहेको एनआइसि एसिया बैंकको शाखा प्रबन्धक र केही कर्मचारीले ऋण स्वीकृत गरेको ब्यक्तीको रकम आफैँ निकालेर अपचलन गर्ने गरेको देखिएको छ।

कृषि सहुलियत ऋण स्वीकृत गरेपछि ऋणीसँग खाली चेकमा हस्ताक्षर गराएर बैंकका कर्मचारी लगायतका ब्यक्तीको नाममा रकम निकालेको भन्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरी परेको छ। 

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख महेन्द्र कुमार श्रेष्ठले जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धानका लागि कार्यालयमा उजुरी आएको र सो अनुसार अनुसन्धान अगाडि बढाएको जानकारी दिए।

प्रशासन कार्यालयबाट प्रहरीमा पुगेको जाहेरी अनुसार साखा प्रवन्धक आमोद गुप्ताले जय बाबा वैद्यनाथ एग्रिकल्चर कम्पनी, अशोका एग्रिकल्चर र अम्बे कृषि फर्मको ऋण स्वीकृत गरेर सापटी भन्दै ऋणिसँग चेक लिएर रकम निकालेको उल्लेख छ। 

उनले चार करोड ७५ लाख ऋण स्वीकृत गरेर २ करोड ५ लाख  आफैले विभिन्न ब्यक्तीको नाममा निकालेका थिए।

अशोका एग्रिकल्चर दुर्गा भगवतीका प्रोप्राइटर अशोक कुमार साहसँग उनलर नौ वटा खाली चेकमा सही गराएर लिएर पैसा निकालेको उजुरीमा उल्लेख छ।

चेकबाट धर्मेन्द्र कुमार महतोको नाममा ९ लाख ९५ हजार निकालेको देखिन्छ। उनी बैंकका गार्ड हुन्।

सञ्जय यादवको नाममा ९ लाख ९५ हजार, सचिन श्रीबास्तवको नाममा ९ लाख ९५ हजार,पाना देवीको नाममा ९ लाख ९५ हजार,राम बच्चु राउतको नाममा ९ लाख ९५ हजार, आरएन कुमार साहको नाममा ९ लाख ९५ हजार, आशा देवीको नाममा ५ लाख ३४ हजार गरेर ८५ लाखभन्दा बढी रकम झिकेको देखिएको अनुसन्धानमा संलग्न स्रोतले जानकारी दियो।

जय बाबा वैद्यनाथ एग्रिकल्चर कम्पनीको नाममा सोही शाखाबाट ३ करोड २० लाख ऋण स्वीकृत भएको थियो। 

प्रोप्राइटर पुष्पनाथ साहका छोरा राकेश साहको खाताम ७० लाख राख्न लगाएर शाखा प्रवन्धकले ८ वटा खाली चेक लिएर पैसा निकालेको आरोप छ।

ती चेकबाक्ष बैकका प्रबन्धक  गुप्ताको नाममा समेत ९ लाख ९० हजार निकालिएको देखिन्छ। पटक पटक गरेर ६० लाख बढि निकालिएको थियो। अम्बे कृषि फर्मको नामबाट निकालिएको रकम खुलेको छैन।

पीडितपक्षले सो रकम सापटी दिएको दावी गरेका छन्। तर सहुलियत कृषी ऋण स्वीकृत भएसँगै केही रकम खातामै राख्न लगाउने, रकम पाउने, रकम र मिती नराखी हस्ताक्षर गरेर चेकहरु लिने र विभिन्न ब्यक्तीको नाममा १० लाख भन्दा कम रकम निकाल्ने गरेको देखिन्छ। 

१० लाख रकम निकाले त्यसको विवरण राष्ट्र बैंकमा पठाउनुपर्ने र विवरण राष्ट्र बैंक गए पोल खुल्ने भएर सबै चेक १० लाख घटीको काटिएको थियो।

शाखाले २० लाख बढिको ऋण केन्द्रको अनुमतीविना स्विकृत गर्न सक्दैन। ठुलो रकम सहुलियत ऋण स्वीकृत र लगत्तै केही रकम बैंकको शाखा प्रमुखलाई निकाल्न ऋणीले रित्तो चेक दिएकाले सापटी भन्दा ऋण स्वीकृत गरे वापतको कमिसन हुने सम्भावना बढि देखिन्छ।

यस अगाडि प्रभु बैंकका सहयक सिइओ मणिराम पोखरेलले ऋण स्विकृतीमा सहजिकरण गरेवापत ऋणिसँग कमिशन लिएको खुलेको थियो। तर प्रभु अनि राष्ट्र बैंकले यो प्रकरणमा चासो दिएन। 

एनआइसी एसियाको घटना भने प्रहरीमा पुगेर अनुसन्धानै शुरु गरिसकेको छ। अहिले प्रवन्धकसहितका कर्मचारीलाई प्रहरीले हाजिर जमानीमा छाडेको खुलेको छ।

असोज ११, २०८० बिहीबार १६:४६:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।